लाभांश र मर्जर प्रस्ताव पारित गर्न लुम्बिनी र सगरमाथा इन्स्योरेन्सले डाके साधारण सभा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्नो वार्षिक साधारण सभा बोलाएका छन् । दुवै कम्पनीको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते वार्षिक साधारण सभा बोलाएका हुन् । लुम्बिनी जनरल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा अमृतभोग क्याटरिक डिल्लीबजार काठमाडौंमा र सगरमाथा इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा लैनचौ ब्याङ्क्वेटमा हुने । दुवै कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव र मर्जर प्रस्ताव पारित गर्नेछन् । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस सेयर र ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ । यस्तै, सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, दुवै संस्थाबीच हुने मर्जर प्रस्तावलाई सभाले पारित गर्नेछ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स १००ः८० स्वाप रेसियोमा मर्ज हुनेछन् । सभाले  संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछन् । दुवै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ २७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले माघ २७ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै साधारण सभामा सहभागी र लाभांश प्राप्त गर्नेछन् ।

२० प्रतिशत लाभांश पारित गर्न निर्धन उत्थान लघुवित्तले डाक्यो साधारणसभा

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीले २४ औँ बार्षिक साधारणसभा फागुन १२ केन्द्रिय कार्यलय नक्साल काठमांडौमा बिहान १० बजे बोलाएको हो । लघुवित्तको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्नेछ । साथै, सञ्चालक समितिका सदस्यहरुको नियुक्तिलाई सभाले अनुमोदन गर्नेछ । यस्तै, संस्थाको अधिकृत पूँजी, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ फागुन २ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन १ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

१० वटा कम्पनीलाई बीमा प्राधिकरणको चेतावनी : पोलिसी रोक्नेदेखि १० लाखसम्म जरिवाना लाग्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा विवरण पेश नगरेको भन्दै विभिन्न १० वटा बीमा कम्पनीलाई चेतावनी दिएको छ । समयमा विवरण पेश नगरेका ३ वटा जीवन बीमा, ६ वटा निर्जीवन र एक वटा पुनर्बीमा कम्पनी गरी १० वटालाई बुधबार पत्रचार गर्दै समयमा विवरण बुझाउन प्राधिकरणले चेतावनी दिएको हो । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशिका २०७५ बमोजिम चौमासिक रुपमा विवरण उपलब्ध नगराएका १० कम्पनीलाई चेतावनी दिइएको प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । ‘बीमा कम्पनीहरुले आफ्नो कारोबारको चौमासिक विवरण पेश गर्नुपर्ने हुन्छ, त्यो नगरेको कारणले जीवन र निर्जीवन गरी १० वटा कम्पनीलाई पहिलो पटक सचेत गराइएको हो,’ प्राधिकरणका निर्देशक दिनेशलाल कर्णले बताए । उनकाअनुसार समयमा विवरण नबुझाउनेमा जीवन बीमातर्फका गुराँस लाइफ, रिलायबल नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । त्यस्तै, निर्जीवन बीमातर्फबाट राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा व्यवसाय गर्दै आएको हिमालयन रिइन्स्योरेन्सले आफ्नो कारोबारको चौमासिक विवरण बुझाएका छैनन् । प्राधिकरणले पहिलो पटकका लागि यी १० कम्पनीलाई पत्राचार गर्दै चेतावनी दिइएको र पटक पटक दोहोरिएमा नगद जरिवानासमेत हुन सक्ने निर्देशक लाल बताउँछन् । ‘अब पनि सुध्रिएन भने सम्पत्ति शुद्धिकरणमा १० लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ,’ उनले विकासन्युजसँग भने । बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले प्रत्येक चार/चार महिनामा कति कारोबार गरे, कुन कुन पोलिसी जारी गरे, शंकास्पद कारोबार भएमा कस्ता कस्ता भए लगायतका सबै विवरण बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था उल्लंघन गरेमा कम्पनीहरुलाई नगद जरिवानादेखि पोलिसी जारी गर्न नपाउनेसम्मको कारवाही हुने प्राधिकरणले जनाएको छ ।