सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बित, प्राथमिक पुँजीकोष ३४ प्रतिशतले ऋणात्मक
काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्यवस्थापन समूहले सोमबारबाट उक्त लघुवित्तको व्यवस्थापकीय काम सम्हाल्ने छ । बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त लघुवित्तका सञ्चालकहरूले नक्कली ऋणी खडा गरेको तथा अरु वित्तीय अपराधसमेत गरेको देखिएकाले सञ्चालकहरूलाई निलम्बन गरिएको जनाएको छ । ‘विभिन्न चरणमा भएको स्थलगत निरीक्षणका क्रममा सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक र सञ्चालकहरूले लामो समयदेखि कृत्रिम ऋणी खडा गरी ऋण प्रवाह गरेको देखिएको छ’, राष्ट्र बैंकले सूचनामा भनेको छ । पछिल्लो समय संस्थाको बचत क्रमिकरूपमा घट्दै गएको तथा आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थालाई यथास्थितिमा राख्दा बचतकर्ता, सापटी दिने संस्था तथा लगानीकर्तासमेत समस्यामा पर्ने देखिएपछि राष्ट्र बैंक ऐनअनुसार कारबाही थालिएको पनि राष्ट्र बैंकले जनाएको छ । सूचना भनिएको छ ‘लामो सयमदेखि कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गर्ने गरेकोलगायत गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको पाइएकाले संस्थाका जिम्मेवार पदाधिकारीबाट भए गरेका काम बैंक तथा वित्तीय संस्था ऐन २०५८ को प्रावधानविपरीत छ ।’ साथै २०७९ असोजमा संस्थाको प्राथमिक पुँजीकोष ३४ दशमलव ३० प्रतिशत र पुँजीकोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको देखिएको पनि बैंकले जनाएको छ । रासस
२ वर्षपछि समता घरेलु लघुवित्तको लाभांश घट्यो, १५ प्रतिशत बोनस दिँदा नगद कति ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको माघ २० गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कूल १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्त संस्थाको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ रहेको छ । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा २० प्रतिशत बोनस सेयर ६.३२ प्रतिशत नगद गरी कूल २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
मिर्मिरे लघुवित्तले कमायो साढे ५ करोड नाफा, ईपीएस १७.४१ रुपैयाँ
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ५८.८२ प्रतिशत घटेर ५ करोड ६८ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी २२.७४ प्रतिशत घटेर २४ करोड ७ लाख ७२ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३१ करोड १६ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको सञ्चालन नाफा ५८.८२ प्रतिशत घटेर ८ करोड १२ लाख रुपैयाँ र वितरणयोग्य नाफा ४२ लाख १ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१५ प्रतिशत बढेर ६५ करोड ३३ लाख ८२ हजार रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ३२ करोड ४२ लाख रुपैयाँ, सापटि रकम ५ अर्ब ३२ करोड २० लाख ५९ हजार रुपैयाँ, निक्षेप ८.१७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ८४ लाख ६६ हजार रुपैयाँ र कर्जा १.१८ प्रतिशत घटेर ८ अर्ब ७६ करोड ७ लाख २९ हजार रुपैयाँ रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५.५७ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशत र लागत ११.७२ प्रतिशत पुगेको छ ।