नेशनल लाईफको ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी तीन दिने ब्रान्च म्यानेजर कन्फरेन्स सम्पन्न गरेको छ । ‘इण्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराको साथ संचालन गरिएको कन्फरेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । चालु आ।व।को बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे ब्रिफिङ गरिएको थियो । सीइओ खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हाँसिल गर्न सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीज्यूले केन्द्रिय कार्यालयबाट सम्पन्न गरिने विभागिय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तती दिएका थिए । यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरुको बारेमा प्रशिक्षण दिएका थिए ।
ठमेलको गार्डेन अफ ड्रीम्समा एनएमबि बैंकको एटिएम
काठमाडौं । एनएमबि बैंकको नयाँ एटिएम ठमेलमा खोलेको छ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम खोलेको हाे । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौँ उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउने बैंकले जनाएकाे छ । बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।
बीमा गर्नुस्, क्षति भए कम्पनीले क्षतिपूर्ति दिन्छ : कार्यकारी निर्देशक पौडेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गण्डकी प्रदेशका नागरिकलाई घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गरेका छन् । बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भन्दै कार्यकारी निर्देशक पौडेलले उक्त आग्रह गरेका हुन् । बीमा प्राधिकरणले गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा माघ १६ गते आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिए । कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए । यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्दै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखेका थिए ।