शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा कर्माचार्य नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।  

कम्पनीहरु धमाधम मर्ज हुन थालेपछि कर्मचारीलाई जागिरको चिन्ता, प्राधिकरणमा गुनासो गर्ने बढ्न थाले

काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेसँगै कर्मचारीहरु पनि नेपाल बीमा प्राधिकरण धाउन थालेका छन् । बीमा कम्पनीहरुले धमाधम मर्जरका लागि प्रक्रिया अगाडि बढाउने र मर्जर सम्झौता गर्न थालेपछि कम्पनीमा कार्यरत कर्मचारीहरुले प्राधिकरणमा विभिन्न गुनासोहरु गर्न थालेका हुन् । कम्पनीहरु मर्जमा जाने भएसँगै कर्मचारीहरुको वर्गीय हक र अधिकारका लागि स्थापना भएका विभिन्न कम्पनीका कर्मचारी संघहरुले कर्मचारीको तर्फबाट विभिन्न मागहरु उठाएका छन् । यद्दपि, उनीहरुले कम्पनीहरु मर्जरमा जाने विषयमा भने सकारात्मक छन् । तर, मर्जरमा जाँदा उच्च व्यवस्थापनले कर्मचारीहरुसँग सरोकार राख्ने विषयमा सहकार्य गरेर मात्रै अघि बढ्न उनीहरुको माग छ । उनीहरुले रोजगारी सुनिश्चित गर्नुपर्नेदेखि भीआरएसको योजना ल्याउनेसम्मको माग गरेका छन् । रोजगारी सुनिश्चित गर्नुपर्ने पछिल्लो समय कम्पनीहरुबीच भइरहेको मर्जरले बेरोजगारी सृजना गरिरहेको बताउँदै कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्नु पर्ने उनीहरुको माग छ । यस्तो अवस्था आउन नदिन कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको रोजगारी सुनिश्चित गर्नुपर्ने माग राख्दै उनीहरु प्राधिकरण पुगेका हुन् । प्राधिकरणका अनुसार अहिले यस्ता गुनासासहितको माग बढ्न थालेका छन् । सम्मानजनक रुपमा समायोजन दुई वा बढी कम्पनी एक आपसमा मर्जरमा जाँदा सबैभन्दा महत्वपूर्ण काम हो कर्मचारी व्यवस्थापन अर्थात समायोजन गर्ने विषय । यसरी दुई वा बढी कम्पनीका कर्मचारी एउटा कम्पनीमा समायोजन गर्दा कर्मचारीहरुको योग्यता, क्षमता र जेष्ठताको आधारमा सम्मानजनक रुपमा समायोजन गरिनु पर्ने माग उनीहरुको छ । कतिपय कम्पनीहरुमा स्वाप रेसियोका आधारमा कर्मचारीको पदीय अवस्था निर्धारण गरिन्छ । तर, कर्मचारीहरुले भने दुइटै कम्पनीका कर्मचारीबीच कुनै भेदभाव नहुने गरी समान हैसियत कायम हुने गरी कर्मचारी व्यवस्थापन गर्नु पर्ने माग राखेका छन् । सेवा सुविधा कटौती नगर्न माग पछिल्लो समय मर्जरमा गएका कम्पनीहरुले कर्मचारीको सेवा सुविधा कटौती गरिरहेको भन्ने धेरैको गुनासो छ । मर्जअघि उनीहरुले खाइपाई आएको तलब मर्जपछि घटेको उनीहरु बताउँछन् । त्यसैले कर्मचारीहरुले खाइपाई आएको तलब भत्ता सुविधा एवं कर्मचारी विनियमावली एवं सामूहिक सौदावाजीको माध्यमबाट प्राप्त हुँदै भएको सेवा सुविधा कटौती गर्न नदिन भन्दै कर्मचारीहरुले प्राधिकरण समक्ष माग गरेका छन् । भीआरएसको योजना ल्याउनु पर्ने मर्जरमा जाने कम्पनीले आफ्ना कर्मचारीहरुको लागि सम्मानजनक/न्यायोचित स्वेच्छिक अवकास (भीआरएस) को योजना ल्याउनुपर्ने संघको माग छ । यो योजना कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई केही सुविधाहरुको बदलामा संस्थाबाट स्वेच्छिक अवकाश लिन प्रस्ताव गर्ने योजना हो । यो योजनामा एकमुष्ट भुक्तानी र बीमा, पेन्सन लगायतका अन्य सुविधाहरु समावेश हुन्छन् । सामान्यतया यो योजना सेवानिवृत्ति उमेर नजिक भएका कर्मचारीहरुलाई प्रस्ताव गरिन्छ । सहमतिमा विनियमावली बनाउनु पर्ने मर्जर पश्चात कम्पनीले नयाँ कर्मचारी विनियमावली बनाउनु पर्ने हुन्छ । उक्त विनियमावली बनाउँदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गर्न कर्मचारीहरुले माग गरेका छन् । त्यस्तै, नेपाल बीमा प्राधिकरणले जारी गरेको कम्पनीहरुको गाभ्ने/गाभिने र प्राप्ति गर्ने निर्देशिका र सोसँग सम्बन्धित परिपत्रहरुमा व्यवस्था भए बमोजिमका कर्मचारीसँग सम्बन्धित विषयको कार्यान्वयन गर्नुपर्ने उनीहरुले बताएका छन् । नेपाल बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने व्यवस्था गर्यो । समग्रमा बीमा कम्पनीहरुको जोखिम बहन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्राधिकरणले गरेको उक्त व्यवस्थाअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरु पछिल्लो समय धमाधम मर्जरमा जाँदै छन् । केही कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रक्रिया सम्पन्न गर्न संस्थागत सेयर अनुपात, मर्जर पश्चात बन्ने कम्पनीको नाम जस्ता विषय टुङ्ग्याई अन्तिम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारीमा छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत बनाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न तथा लगानीकर्ता लगायत सरोकारबालाहरुको दीर्घकालीन हित संरक्षण गर्नका लागि चालिएको उक्त कदम सकारात्मक रहेको कर्मचारीहरुको ठहर छ । ‘कर्मचारीको अहित भए कडा कदम चाल्छौं’ मर्जरले कम्पनीहरुको पुँजी एकीकृत हुनुमात्र नभई ती कम्पनीमा कार्यरत कर्मचारीहरुको समायोजन, कम्पनीले सञ्चालनमा ल्याएको प्रणाली, बीमा योजनाहरु र कार्यस्थल बीचको मर्जर पनि हो । त्यसैले, कम्पनीमा कार्यरत आम कर्मचारीहरुको हित प्रतिकुल नहुने गरी कम्पनीको उच्च व्यवस्थापनले सम्पन्न गर्नेछ भन्नेमा कर्मचारीहरु विश्वस्त छन् । कर्मचारीहरुसँग सहमतिबिना अघि बढेमा कडा कदम चाल्न बाध्य हुने भन्दै उच्च व्यवस्थापनको ध्यानाकर्षण गराएको एक कम्पनीका कर्मचारीले भने । ‘कर्मचारीहरुको अहित हुने गरी मर्जरको प्रक्रिया अगाडि बढेमा आम कर्मचारीको हकहित संरक्षणार्थ श्रम ऐन कानूनले दिएको अधिकारको प्रयोग गर्दै कडा कदम चाल्छौं, गराउँछौं,’ ती कर्मचारीले विकासन्युजसँग भने । के भन्छ प्राधिकरण ? नियामक नियकाय नेपाल बीमा प्राधिकरणले पनि बीमा कम्पनीहरुबाट गुनासो बढेको बताएको छ । प्राधिकरण उच्च श्रोतका अनुसार मर्जरमा जान लागेका कम्पनीसँगै मर्जरमा गइसकेका कम्पनीका कर्मचारीहरुबाट गुनासो बढेको छ । यो विषयमा प्राधिकरणले के कस्ता गुनासो आएका छन् सो अनुसार विचार गरेर कर्मचारीको हितमा काम गर्न सम्बन्धित कम्पनीहरुलाई आग्रह गरिएको उक्त श्रोतले विकासन्युजसँग भन्यो । यद्दपि, यो विषयमा कम्पनीहरुलाई धेरै हस्तक्षेप अर्थात कडाई गर्दा मर्जरमा उनीहरु मर्जमा जाँदैनन् की भन्ने डर बीमा प्राधिकरणमा रहेको देखिन्छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाले भने खासै गुनासो नरहेको धारणा राखे ।

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा

काठमाडौं । एनएमबि बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । यो नयाँ सुविधाले ग्राहकहरूलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीहरूमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बै‌ंकले जनाएको छ । बैंकका अनुसार यस सुविधामार्फत ग्राहकहरूले न्यूनतम ब्याजदरमा आफ्नो खरिदहरू बराबर मासिक किस्ताहरूमा भुक्तान गर्न छनोट गर्न सक्नेछन् । यो सुविधामार्फत अस्पताल, होटल, रेस्टुरेन्ट लगायतका बिल तथा अन्य सेवाहरूको भुक्तानी गर्न सकिने छ । यो सुविधा ठूला खरिदहरूका लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकहरूको लागि उत्कृष्ट विकल्प भएको बैंकले बताएको छ ।  यो सुविधा प्रयोग गर्न ग्राहकहरूले केवल बैंकको वेबसाइटमा लग इन गरी प्रडक्ट एण्ड सर्भिसेसमा क्लिक गरी वैकल्पकि डेलभिरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्या सहित विवरणहरू भर्नुपर्ने बैंकले जनाएको छ । यो नयाँ फिचरले ग्राहकहरुलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थपिने विश्वास बैंकले जनाएको छ ।