एकवर्षे कर्जालाई वर्षमा ४ पटक नवीकरण गरेका संस्थाले सच्याउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रले वार्षिक कर्जालाई नवीकरण गर्न नहुने बताएका छन् । प्रदेश नं १ प्रथम प्रादेशिक लघुवित्त सदस्यहरूको सम्मेलन–२०७९ को उद्घाटन कार्यक्रममा बोल्दै उनले एकवर्षे कर्जालाई वर्षमा चार पटक नवीकरण गर्ने कार्य गरेमा अविलम्ब सच्याउन आग्रह गरे । ‘मुलुकमा लुघुवित्तले महिला सशक्तीकरणमा लघुवित्त संस्थाले ठूलो योगदान गरेको छ, केही संस्थाले एकवर्षे कर्जालाई वर्षमा ४ पटक नवीकरण गर्ने कार्य गरेमा अविलम्ब सच्याउनुस्,’ उनले भने । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले लघुवित्तले उत्पादनमा क्षेत्रमा ऋण लगानी लगाउनुपर्ने बताएकी छिन् । उनले सीप, उद्यमशीलता र बजार खोजी गरी मुलुकलाई आर्थिक समृद्धितर्फ डोहोर्याउनुपर्नेमा जोड दिइन् । मन्त्री चौधरीले लघुवित्तका कारण मुलुकमा आर्थिक उपार्जन भई २० प्रतिशत महिला साना उद्यमी हुन सक्षम भई समाजमा रोजगारी सिर्जना गर्न सफल भएको धारणा राखिन् । उनले लघुवित्तमा ज्यादा मुनाफा आर्जन गर्नका लागि वर्तमान अवस्थामा विकृति, विसङ्गति र बेथिति हुने गरेको चर्चा गर्दै यसलाई सच्याउन नेपाल राष्ट्र बैंकले निरीक्षण र अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याइन । लघुवित्तका कारण महिलाहरू नेतृत्वदायी भूमिका आउन सफल भएको विचार राख्दै उनले धेरै समुदायमा आर्थिक उन्नति, छोराछोरीलाई उच्च शिक्षा र घरबार जोड्न सफल भएको विचार राखिन् । कार्यक्रमका संयोजक एवं जीवन विकास समाजका कार्यकारी निर्देशक सञ्जयकुमार भण्डाल र स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले लघुवित्तका कर्मचारी र सदस्यहरूलाई वित्तीय साक्षरतासम्बन्धी तालिम दिई विपन्न क्षेत्रमा स्वरोजगारलाई बलियो बनाउन कर्जा लगानी गर्ने अभियानमा लाग्नुपर्ने बताए । सम्मेलनको उद्देश्य लघुवित्त क्षेत्रमा देखिएका समस्या र ऋणीले लिएको कर्जा रकमको सही सदुपयोग नभएका विषयमा समस्या समाधानका लागि सुझाव सङ्कलन गर्नु रहेको छ । सम्मेलनमा प्रादेशिक र राष्ट्रिय गरी ५ लघुवित्तका ४ सय सदस्यको सहभागिता रहेको छ ।
आत्मनिर्भर लघुवित्तको आईपीओ खरिद गर्ने भोलि अन्तिम दिन
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले माघ १६ गतेदेखि जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको हो । लघुवित्तको आईपीओ १० कित्ताका दरले बाँडफाँट गर्दा २ हजार ३३ जनाले मात्रै पाउनेछन् । लघुवित्तको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज रहेको छ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मरोसेयर खाता मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
सेयर बजार बढ्नु पर्छ, कहिले काँहि घट्नु स्वभाविक हो : गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर बजार बढ्नु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयरबजार बढ्छ तर कहिले काँहि घट्नु स्वभाविक रहेको बताएका हुन् । त्यस्तै, उनले राष्ट्र बैंक पुँजी बजारप्रति सकारात्मक नै रहेको बताएका छन् । ‘पुँजी बजारको नियमन गर्ने छुट्टै निकाय छ, यो बजारमा राष्ट्र बैंकको नियमनको दायरामा पर्ने संस्था धेरै भएको हुँदा केही असर गरेको हुन सक्छ,’ उनले भने- ‘पुँजी बजारप्रति नकारात्मक भने छैन । ‘ विगतमा पनि विदेशी मुद्राको अभाव रहेको र आगामी दिनमा पनि विदेशी मुद्रा घट्न सक्ने उनले बताए । त्यसैले आयातमा कडाइ गरिएको उनको भनाई छ । ‘आयातमा गरेको काडाइ छोटो अवधिका लागि हो, सुधार हुने बित्तिकै खुकुलो गरिन्छ, जस्तो बैशाखमा कडाइ गरेकोमा भदौमा खुकुलो गरेको थियो,’ गर्भनर अधिकारीले भने ।