इन्फिनिटी लघुवित्त पनि एनपीएसमा आबद्ध
काठमाडौं । इन्फिनिटी लघुवित्त पनि एनपीएसमा आबद्ध भएकाे छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको हाे । सम्झौता पत्रमा इन्फिनिटी लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रबिन कुमार लामा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात इन्फिनिटी लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत इन्फिनिटी लघुवित्तले एनसीएचएल आइपीएस र आरपीएस, कनेक्ट आइपीएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सकिने कम्पनीले जनाएकाे छ । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा
खोटाङ। साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका चार सय सात ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । वडा नं १ बाँझेच्यानडाँडाका एक सय दुई ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं २ रतन्छाका एक सय तीन ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं ३ खिदिमाका २६ ज्येष्ठ नागरिक र तीन अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । यस्तै वडा नं ४ मात्तिमका ९८ ज्येष्ठ नागरिक र चार पूर्ण अपाङ्गता भएका व्यक्ति तथा वडा नं ५ मात्तिमबिर्ताका ७८ ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा संयोजक रीता ढकालले जानकारी दिइन् । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिकलाई स्वास्थ्यसम्बन्धी सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले टोल र बस्तीमा पुगेर स्वास्थ्य बीमा परिचयपत्र वितरण गरिरहेको छ । स्वास्थ्य बीमा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालबाट रु एक लाखसम्मको औषधि उपचारमा छुट पाउने व्यवस्था छ । पूर्ण अपाङ्गता भएका नागरिकको हकमा एकाघरका अन्य सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइएको छ । जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्ने जिल्लाकै पहिलो पालिका हो । जटिल प्रकारका रोग लागेर अन्यत्र उपचारमा जानुपर्ने बिरामीलाई अस्पतालसम्म जाने–आउने र उपचार गर्दा बिरामी तथा कुरुवाको खाने–बस्ने खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्थासमेत मिलाइएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्यसम्बन्धी जटिल किसिमका समस्या रहेकाले टोलटोलमा घुम्ती सेवा पु¥याउने योजनासमेत बनाइएको जनाइएको छ । यसअघि वडा नं १ बाँझेच्यानडाँडामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २० जनाले पाठेघरमा हुने क्यान्सर रोगको उपचार गराएका थिए भने परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट आठजनाले राखेका थिए । त्यस्तै परिवारनियोजनको अस्थायी साधन इम्प्लान्ट झिक्ने नौ, पुनः झिकेर राख्न लगाउने दुई र यौन रोगसम्बन्धी १० नागरिकले उपचार सेवा लिएका थिए । शिविरबाट आङ (पाठेघर) खसेर बिरामी भएकी ७४ वर्षीया वृद्धालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणाका लागि घरधुरी सर्वेक्षण गरेर फागुनभित्रै पूर्ण खोप र दिगोपना घोषणा गर्ने तयारी गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिइन् । रासस
लक्ष्मी लघुवित्तले डाक्यो साधारणसभा, २० प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आफ्नो ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सञ्चालक समितीको फाुगन २ गते बसेको बैठकले फागुन २९ गते अग्रवाल भवन काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले सञ्चालक समिति र लेखापरीक्षकको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन पारित गर्ने र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले कुनै अन्य संस्थासंग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितीलाई अख्तिायरी प्रदान गर्नेछ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।