सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द हुने भएको हो । सिभिल बैंक हिमालयन बैंकसँग मर्ज भई फागुन १२ गतेदेखि एकीकृत कारोबार गर्दै छ । उक्त कारोबार पश्चात बैंकको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकरण तथा सूचीकरण प्रयोजनका लागि बैंकको सेयर कारोबार रोक्का हुन लागेको हो ।

युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय सहकारीको एकीकृत कारोबार फागुन १० देखि

काठमाडौं । विभिन्न ४ वटा सहकारी संस्थाहरुले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेका छन् । युपग्राम, अम्वेश्वरी, नयाँ तारा र गरिमामय बचत तथा ऋण सहकारी संस्थाले फागुन १० गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । यी ४ वटा सहकारी संस्थाहरूको एकीकृत कारोबार पश्चात् गरिमामय बचत तथा ऋण सहकारी संस्थाको नामबाट संचालन हुनेछ । मर्जरपश्चात् संस्थाको प्रधान कार्यालय ललितपुरमा रहनेछ । यस्तै, सदस्य सेवा केन्द्रहरु महालक्ष्मी नगरपालिका ८ लुभु ललितपुर, काठमाडौं महानगरपालिका १४ कुलेश्वर, कलंकी र ललितपुर महानगरपालिका १९, कुमारीपाटीमा रहनेछन् । बागमती प्रदेश, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ३ गते मर्जरका लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको थियो । पछिल्लो समय सहकारी संस्थाहरुको संख्या घटाउन धमाधम मर्ज भइरहेका छन् ।

स्वावलम्बन लघुवित्तलाई नयाँ कर्मचारी भर्ना नगर्न श्रम अदालतको आदेश

काठमाडौं । श्रम अदालतले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले खोलेको पदपूर्तिको विज्ञापन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । श्रम अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य निशा बानियाँको संयुक्त इजलासले ७ जना कर्मचारी हटाइएको र अदालतले पुनःबहाली गर्ने फैसला गरेको विषयमा उक्त संस्थाले पुनःबहाली नगरी विज्ञापन प्रक्रिया अघि बढाएको हुनाले तत्काल पदपूर्ति प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको हो । उक्त संस्थाका कर्मचारी दीपक चौधरी, विराज बोगटी, रामनन्दन मण्डल, विनोद नेपाली, पूर्णचन्द्र राज अवस्थी, हरिशङ्करप्रसाद श्रीवास्तव र चित्रबहादुर बुढाथोकीलाई सेवाबाट हटाउने निर्णय गरेको थियो । ती व्यक्तिले विनाकारण सेवाबाट हटाएको उल्लेख गर्दै सुविधासहित पुनःबहाली गर्न माग गर्दै श्रम अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दाको सुनुवाइ सेवा सुविधासहित पुनःबहाली गर्नुपर्ने अदालतबाट फैसला भए पनि सो संस्थाले पुनःबहाली नगरिकन विज्ञापन प्रक्रिया अगाडि बढाएपछि पीडितले फैसला कार्यान्वयनका लागि पुनःअदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दाको सुनुवाइपछि अदालतते तत्काल पदपूर्तिको विज्ञापन प्रक्रिया अघि नबढाउन आदेश गरेको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि यही फागुन ११ गते बोलाएको छ ।