एसियन लाइफले २१ प्रतिशत लाभांश दिने, ५० प्रतिशत हकप्रद पनि
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले २१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले २० प्रतिशत बोनस सेयर र एक दशमलब शुन्य ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । त्यस्तै कम्पनीले बोनस सेयर जारी गरेपछि हुने चुक्ता पूँजीको २ बराबर एक अर्थात ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पनि गरेको छ । यी दुबै निर्णयलाई बीमा समितिको अनुमति लिएर आगामी साधारण सभामा पेश गरिनेछ । साधारण सभाले पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश र हकप्रद सेयर प्राप्त गर्नेछन् ।
सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सीईओमा शिवनाथ पाण्डे नियुक्त
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिले पाण्डेलाई आगामी चार वर्षको लागि सीईओ पदमा नियुक्त गरेको हो । पाण्डेले फागुन २ गतेदेखि कम्पनीको जिम्मेवारी समाल्नेछन् । पाण्डेले करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । ५२ वर्षको उमेरका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् । २०६३ सालमा स्थापना भएको सूर्यालाईफ इन्स्योरेन्स कम्पनीमा अहिलेसम्म प्रभावकारी सीईओको कमी देखिएको थियो । अधिकांश समय यस कम्पनीको सीईओ पद खाली नै रह्यो । नियुक्त भएका सीईओहरु पनि स्थीर नभएपछि यस कम्पनीको पर्फमेन्स पनि कमजोर थियो ।
बीमक संघको नेतृत्व सर्वसहमत चयन, अध्यक्षमा पुनः विजयबहादुर शाह
विजयबहादुर शाह काठमाडौं । नेपाल बीमक संघको नेतृत्व सर्वसहमतिमा चयन भएको छ । अध्यक्षमा विजयबहादुर शाह पुनः निर्वाचित भएका छन् । उनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । संघको उपाध्यक्ष प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विके महर्जन, महासचिव एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत यूगेश भक्त बादे श्रेष्ठ, कोषाध्यक्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यबार भएका छन् । कार्यसमिति सदस्यहरुमा सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकीकुँवर क्षेत्री र लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नूरप्रकाश प्रधान चुनिएका छन् । जीवन बीमा कम्पनीको तर्फबाट एक जना उपाध्यक्ष र दुई जना सदस्य भने टुंगो लाग्न बाँकी छ । जीवन बीमा कम्पनीहरुले पनि आफ्नो तर्फको प्रतिनिधि सर्वसहमतिमा छान्ने बताएका छन् । विधानअनुसार संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । संघको १५ औं साधारणसभाको कार्यक्रम आज भएपनि नेतृत्व चयनको विषयमा हिजै सहमति जुटेको हो । नयाँ नेतृत्वकोबारे औपचारिक घोषणा आज साँझ मात्र हुनेछ ।