बीमा कम्पनीहरुबीच पुँजी बढाउने प्रतिस्पर्धा, एशियन लाईफले २ अर्ब पुर्याउने

काठमाडौं । पछिल्लो समय बीमा कम्पनीहरुले स्वेच्छिक रुपमा पुँजी वृद्धिलाई प्राथमिकता दिएका छन् । त्यसै क्रममा एशियन लाईफ इन्स्योरेन्स कम्पनीले पुँजी २ अर्ब रुपैयाँ बनाउने निर्णय गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्दैछ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी करिव ८० करोड ५६ लाख रुपैयाँ हुन्छ । बोनस सेयर वितरणपछि कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्काशन गर्दैछ । हकप्रद सेयर निश्काशनपछि चुक्ता पुँजी एक अर्ब २० करोड नाघ्ने छ । व्यवसाय बढेको र बीमा समितिले तोकेको सल्भेन्सी रेसियो भित्र रहेर व्यवसाय विस्तार गर्न पुँजी वृद्धि गर्दै जानुपर्ने आवश्यकता रहेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत राजेश श्रेष्ठले बताए । कम्पनीले चैत्र १७ गते साधारणसभा गर्दैछ । उक्त साधारणसभामा कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव लैजादैछ ।

सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वाएर गर्ने, पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वाएर) गर्ने सम्झौता भएको छ । बिहीबार दुई संस्थाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब १ अर्ब ५० करोड रुपैयाँ पूँजी प्राप्त गर्ने बैंकले जनाएको छ । त्यस पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ । त्यस्तै, सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आ.व.को मुनाफा समेतबाट ७८ करोड रुपैयाँ पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

एलआइसी नेपालले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)ले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले लगानी कर्तालाई २४ दशमलब ८० प्रतिशत बोनस सेयर र एक दशमलब ३०५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । बीमा समितिको स्विकृति तथा आगामी साधारण सभाबाट पारित गरेपछि एलआइसी नेपालका लगानी कर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।