बीमामा व्यक्तिगत अभिकर्ता कमजोर बन्दै, संस्थागत अभिकर्ता बढाउन नारायण पौडेलको नियुक्ती
काठमाडौं । जीवन बीमामा व्यक्तिगत अभिकर्ताको भूमिका कमजोर बन्दै गएको निष्कर्षसहित प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत अभिकर्ता मार्फत विजनेश बढाउने रणनीति लिएको छ । नयाँ रणनीतिलाई कार्यान्वयन गर्न कम्पनीले नारायण पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थालाई संस्थागत अभिकर्ता बनाउने र उनीहरु मार्फत बीमा पोलिसी बिक्रीलाई जोड दिने नीति अनुसार पौडेललाई नियुक्त गरिएको कम्पनीका एक जना सञ्चालकले बताए । ‘पछिल्लो समय व्यक्तिगत अभिकर्ता मार्फत भन्दा संस्थागत अभिकर्ता मार्फत बीमा पोलिसी बिक्री बढेको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा बैंकास्योरेन्स बढाउन नयाँ सिईओले प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो’ प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालकले भने । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी जेठ २५ गते अवकाश लिएका पौडेललाई बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे राम्रो जानकारी छ । राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका पौडेलसँग नीतिगत, संस्थागत र व्यक्तिगत ज्ञान राम्रो छ । ‘बीमाको विजनेश अभिकर्ताबाट हुन्छ । डेपुटी सीईओ किशोर लामिछानेले व्यक्तिगत अभिकर्तातर्फ हुनुहुन्छ, सीईओ पौडेलले संस्थागत अभिकर्ता हेर्नुहुन्छ । उहाँहरुको क्षमता त्यहि क्षेत्रमा छ’ सञ्चालक समितिको विश्लेषण छ । ‘जेठ ३० गते बसेको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय लिएको हो । अब बीमा समितिबाट स्वीकृति लिन्छौं । साउन १ गतेदेखि उहाँले जिम्मेवारी समाल्नुहुनेछ’ सञ्चालक समिति सदस्यले भने ।
आईएमई जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, पुँजीवृद्धिको लक्ष्य पूरा गर्दै
काठमाडौं । आईएमई जनररल इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । चुक्ता पुँजीलाई बीमा समितिले तोकेको सीमामा पुर्याउन आईएमई जनरलले असार २९ गते बिहान ११ बजे बस्नेगरी वार्षिक साधारणसभा बोलाएको हो । कम्पनी सञ्चालक समितिको मंगलबारको बैठकले ५ प्रतिशत बोनस शेयरको प्रस्तावसहित काठमाडौंको लैनचौरस्थित एक ब्याङ्क्वेट्समा बस्नेगरी साधारणसभा बोलाएको हो । उक्त साधारणसभामा ५ प्रतिशत बोनश शेयर वितरणका अतिरिक्त एक जना रिक्त सञ्चालकको निर्वाचन हुने एजेन्डा समेत तय गरिएको छ । सो साधारणसभाको प्रयोजनको लागि असार १५ गते बुकक्लोज हुनेछ भने उक्त दिनदेखि साधारणसभाको दिनसम्म दोस्रो बजारमा उक्त कम्पनीको शेयर कारोबार हुनेछैन । पछिल्लो हकप्रद शेयर वितरणपछि ९७ करोड २० लाख पुँजी पुगेको आईएमई ५ प्रतिशत बोनस शेयरपछि पुँजी १ अर्ब २ करोड पुर्याउनेछ ।
मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिसँगै मेगा बैंकका ग्राहकहरूले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा तथा सुविधाहरु अब मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १ सय २ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।