६०% हकप्रदबाट प्रुडेन्सियलले पुँजी पुर्याउने, एसजीएम असार १० गते

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद दिएर चुक्ता पुँजी पुर्याउने भएको छ । हाल ६४ करोड १५ लाख रुपैंया चुक्तापुँजी रहेको प्रुडेन्सियलले उक्त हकप्रद दिएर १ अर्ब २ करोड ६४ लाख रुपैंया पुर्याउन असार १० गते सिमरामा बस्ने गरी विशेष साधारणसभा बोलाएको हो । उक्त दिन बिहान १०ः३० बजे उक्त साधारणसभा बस्नेछ । उक्त साधारणसभाका लागि असार २ गतेका लागि बुक क्लोजको मिति तय गरिएको छ । उक्त दिनसम्म शेयरधनी कायम रहने व्यक्ति हकप्रद शेयरका लागि योग्य हुनेछन् ।

‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ नामको योजना बजारमा ल्याएको छ । कम्पनीले आज(आइतबार) देखि नै लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ उक्त सार्वजनिक गरेको हो । कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा एक कार्यक्रमकाबीच उक्त बीमा योजना सार्वजनिक गरेको हो । सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने बताएका छन् । साथै, आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता रहेको उनले जानकारी दिए । यस्ता छन् विशेषता: कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले बताएको छ । यो बीमा पोलिसी खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उमेर ६५ वर्ष तोकिएको छ । साथै, यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ । यसमा दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ । बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको यो योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ । त्यस्तै, बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध-वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले बताएको छ । बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ । यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले बताएको छ । एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ । साथै सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्ति पश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान गरिनेछ । ९० प्रतिशतसम्म कर्जाको सुविधा यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपश्चात बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ । साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

दुर्घटनामा मृत्यु भएका बिमितको परिवारले अब २८ लाख पाउने

काठमाडौँ । सवारी साधनमा रहेको जोखिमलाई मध्ये नजर गर्दै सवारी दुर्घटनाबाट ज्यान गुमाउने बिमितको परिवारका सदस्यले २८ लाख रुपैयाँ हात पार्ने भएका छन् । पहिले कायम रहेको ८ लाख बीमांक रकमलाई २८ लाख रुपैयाँ बनाउन लागेको बीमा समितिले जनाएको छ । सोही निर्णयमा यातायात व्यवस्था विभागले समेत सहमती जनाएको छ । साथै, स्पाईनल कर्ड इन्जुरी (मेरुदण्ड)को समेत बीमा गर्न आवश्यक रहेको बताइन्छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णय अनुसार बीमांक रकममा यसरी हेरफेर भएको हो । यसरी पाईन्छ २८ लाख २८ लाख रुपैयाँ रकम पाउन टाउको र स्पाईन कर्ड इन्जुरी भएको हुनु पर्नेछ । बिमितको उपचारको लागि १५ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ । उपचारको क्रममा बिमितको मृत्यु भएमा २८ लाख रुपैयाँ बिमाङ्क निजका परिवारका सदस्यले पाउँछन् । बिमितले मृत्युवरण मात्र गरेको अवस्थामा १० लाख रुपैयाँ छुट्याईएको हो भने उपचारका लागि मात्र भनेर ३ लाख रुपैँया छुट्याईएको छ । तर, उपचारको क्रममा स्पाईनल कर्ड इन्जुरी र टाउकोमा चोट लागेको भएमा थप १५ लाख रुपैयाँ छुट्याईएको छ । यस्तै, मोटर बीमाका कारण बिमितको मृत्यु भएमा १० लाख रुपैयाँ र मेडिकलबापत ३ लाख रुपैयाँ तोकिने सम्भावना रहेको बीमा समितिले जनाएको छ ।