अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । इन्स्योरेन्सले ३० लाख कित्ता साधारण शेयर प्रति शेयर १०० रुपैयाँ अंकित दरले सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । बिक्री प्रबन्धकमा नियुक्ति सम्बन्धी सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता गरेसँगै अब एनआईबिएल एसले इन्स्योरेन्सको सेयर बिक्री सम्बन्धी सम्पूर्ण काम गर्ने छ । हाल इन्स्योरेन्सको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा १४ लाख बराबरको मृत्यू दावी भुक्तानी
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यूदाबी बापतको १४ लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ । बिमित शेर बहादुर मल्लको विदेशमा मृत्यु भएकाले कम्पनीले दाङमा आयोजित एक कार्यक्रममा सो रकम बराबरको चेक मृतकको श्रीमती अस्मीता मल्ललाई हस्तान्तरण गरेको हो । उक्त चेक कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । मृतक मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । उनको कामको सिलसिलामा गत साउन २२ गते विदेशमा मृत्यू भएको थियो ।
१९ बीमा कम्पनी साधारणसभा बाेलाउने तयारीमा; नेपाल लाइफ इन्स्याेरेन्स फेरि अगाडि
काठमाडौं । १९ ओटा बीमा कम्पनीहरु साधारणसभाका लागि तयार भएका छन् । बीमा समितिमा पेश गरिएको लेखापरीक्षण प्रतिवेदनलाई समितिले स्वीकृति दिएसँगै ती कम्पनीहरु साधारणसभा बोलाउन तयार भएका हुन् । भ्रम नहाेस् । यी कम्पनीले साधारणसभा गर्न लागेकाे आर्थिक वर्ष २०७५/७६ काे भने हाेइन । उनीहरूले आर्थिक वर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन पास गर्न साधारणसभा आह्वानको तयारीमा रहेका हुन् । समितिले ३५ वटा बीमा कम्पनीको आर्थिक बर्ष २०७४/७५ को लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको छ जसमध्ये १९ वटा निर्जीवन बीमा कम्पनी र १५ वटा जीवन बीमा कम्पनी छन् । निर्जीवन तर्फ नेशनल इन्स्योरेन्स र जीवनतर्फ ४ वटा बीमा कम्पनीहरुको भने लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्न बाँकी रहेको समितिले जनाएको छ । बीमा समितिबाट लेखापरीक्षण प्रतिवेदन स्वीकृत भएसँगै बीमा कम्पनीहरु धमाधम साधारणसभा बोलाउने तयारीमा छन् । सोमबार मात्रै नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक बर्ष २०७४/७५ को साधारण सभा आह्वान गरेको छ । हालसम्म सो वर्षको साधारण सभा बोलाउने कम्पनीको संख्या १६ वटा रहेको छ । जसमध्ये ९ वटा निर्जीवन बीमा ६ वटा जीवन बीमा र १ वटा पूनर्बीमा कम्पनी रहेका छन् । निर्जीवन बीमा कम्पनीमध्ये एनएलजी इन्स्योरेन्स, लुम्बनी जेनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, प्रभु जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र सानीमा जनरल इन्स्योरेन्स कम्पनी साधारणसभा सम्पन्न गरिसकेका छन् । जीवन बीमा तर्फ नेपाल लाइफ, एलआईसी नेपाल, महालक्ष्मी लाइफ, गुँरास लाइफले साधारणा सभा गरेका छन् । एक मात्र पुर्नबीमा कम्पनी नेपाल रिले साधारण सभा सम्पन गरिसेकाे छ । अधिकांश कम्पनीले अघिल्लाे आर्थिक वर्षकाे वार्षिक साधारणसभा बाेलाउने तयारी गर्दै गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने आर्थिक वर्ष २०७५/७६ को समेत लेखापरीक्षण प्रतिवेदन एक्चुरीमा पठाउने चरणामा पुगेकाे छ । नेपाल लाइफकाे आर्थिक प्रतिवेदनमा बीमा समिति प्रारम्भिक स्वीकृति दिइसकेकाे छ । पुस मसान्तसम्म साधारणसभा गर्ने लक्ष्यसहित काम भइरहेकाे कम्पनीका डेपुटी सीईओ सन्ताेष प्रसाइले जानकारी दिए । जीवनबीमा तर्फ अधिकांश परिसूचकमा सबैभन्दा अगाडि रहेकाे याे कम्पनी वार्षिक साधारणसभा गर्नमा अरू भन्दा अगाडि देखिदै आएकाे छ ।