महालक्ष्मीको नयाँ शाखा ललितपुरको झम्सिखेलमा
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिले ललितपुर महानगरपालिका वडा नं ३, स्थित झम्सिखेलमा शाखा कार्यालय उद्घाटन गरेको छ । आइतबार उक्त शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् । बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रुपमा एसएसपी टेकप्रसाद राई रहेका थिए । बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थितिप्रति कृतज्ञता ज्ञापन गरे । बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा बिस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने उनले प्रतिवद्धता गरे ।
ज्योति लाईफ इन्स्योरेन्सको ३० प्रतिशत आईपीओ पारित, ६६ करोडको सेयर जारी गर्ने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ३० प्रतिशत साधारण सेयर(आईपीओ) जारी गर्ने प्रस्ताव पारित भएकाे छ । कम्पनीको आइतबार सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको सो प्रतिशत अर्थात ६६ करोड रूपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । असोज १२ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावसहित अन्य प्रस्तावहरुको सर्वसम्मतीले पारित गरेको हो । कम्पनीले हालसम्म १ अर्ब ४१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब ४० करोडमध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको र ७२ करोड ८८ लाखको जीवन बीमा कोष स्थापना गरेको छ । साभारण सभाको सभापतित्व कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले गरेका थिए । अध्यक्ष शर्माले कम्पनीले आफ्नो व्यवसाय शुरु गरेको नौ महिनाको छोटो अवधिमा आकर्षक जीवन बीमा योजना जारी, शाखा विस्तार, तालिम प्राप्त दक्ष अभिकर्ताहरु परिचालन, बीमा शुल्क संकलन, जीवन बीमा कोषको स्थापना, उच्च प्रतिफलयुक्त दीर्घकालीन लगानी लगायतका कार्यहरुबाट मुनाफा आर्जन गरेको बताएका छन् । साथै, आर्थिक वर्ष ०७४/७५ देखि व्यवसाय शुरु गरेको यस कम्पनीले आगामी दिनमा व्यवसाय वृद्धिमा विशेष ध्यान दिने उनले बताए । साथै, सभामा कम्पनीका संचालक, शेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी उपप्रमुख, उच्च व्यवस्थापनका पदाधिकारीतथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
शेयर बजारमा ६ सातापछि नेपाल लाइफले हिमालयन बैंकलाई उछिन्यो, कसको अवस्था कस्तो ?
काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत साउन ३० गतेदेखि हिमालयन बैंक नेपाल लाइफ भन्दा माथिल्लो स्थानमा रहँदै आएको थियो । हाल नेपाल लाइफ इन्स्योरेन्को बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया छ । नेपाल लाइफको साधारण शेयरको मूल्य दोस्रो बजारमा ७५६ रुपैंया छ । ५ करोड ४९ लाख ६१ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ५५ करोड रुपैंया भएको हो । त्यस्तै, हाल हिमालयन बैंककाे बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया छ । हिमालयन बैंकको साधारण शेयरको मूल्य दोस्रो बजारमा ४७८ रुपैंया छ । ८ करोड ५२ लाख २ हजार कित्ता शेयर भएको नेपाल लाइफको सोही मूल्य र शेयर संख्याका आधारमा नेपाल लाइफको बजार पुँजीकरण ४१ अर्ब ४९ करोड रुपैंया भएको हो । गत साता हिमालयन र नेपाल लाइफ दुबैको शेयर मूल्यमा गिरावट आए पनि नेपाल लाइफ इन्स्योरेन्सको भन्दा हिमालयन बैंकको शेयर मूल्यमा उच्च गिरावट देखिएसँगै पुँजीकरणका आधारमा नेपाल लाइफले हिमालयनलाई उछिन्न सफल भएको हो । शेयर बजारमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगै नेपाल लाइफ र हिमालयन बैंकबीच बढी प्रतिस्पर्धा हुने गरेको छ । सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम लामो समयदेखि पहिलो स्थानमै छ । त्यस्तै, दोस्रोमा नबिल, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट बैंक, चौथो र पाँचौंमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक, छैटौं र ७ औं स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन बैंक , आठौंमा कृषि विकास बैंक, नवौंमा एनएमबि बैंक र दशौंमा एनआईशी एशिया बैंक छन् । गत साता पनि समग्र शेयर बजारमा गिरावट आउँदा कुल बजार पुँजीकरण १४ खर्ब ६७ अर्बबाट घटेर १४ खर्ब ३५ अर्बमा झरेको छ । नेप्से परिसूचक भने यो अवधिमा ११५५ अंकबाट घटेर ११२९ अंकमा आएको थियो ।