कर्मचारीलाई दक्ष बनाउन अजोड इन्स्योरेन्सको सक्रियता, २५ लाख छुट्याएका छौँ-सीईओ खत्री
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कर्मचारीहरुलाई दक्ष बनाउन सक्रियता देखाएको छ । त्यसका लागि कम्पनीले २५ लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई दक्ष बनाउन तालिम दिँदै आएको जनाएको हो । अजोड इन्स्योरेन्स कम्पनीले गाउँ–शहर सबैतिरका कर्मचारीहरुलाई बीमाबारे सचेत गराउनु पर्ने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कुमारबहादुर खत्रीका अनुसार सबैभन्दा पहिला कर्मचारी दक्ष बन्न आवश्यक हुन्छ । उनले भने–‘दक्ष कर्मचारी मार्फत बीमा बजारलाई थप विकास गर्न सकिन्छ ।’ हालसम्म सो कम्पनीले सुर्खेत तथा काठमाडौंमा तालिम कार्यक्रम संचालन गरिसकेको छ । सुर्खेतमा कृषी तथा पशु बीमा सम्बन्धी र काठमाडौंमा भने सामान्य अभिकर्ता तालिम दिएको हो । आगामी बर्ष कम्पनीले आफ्ना कर्मचारीहरुलाई विदेशमा समेत तालिमका लागि पठाउने निर्णय गरेको जनाएको छ । एआइआरडीसीले बैंककमा गर्ने तालिममा अजोड इन्स्योरेन्सका कर्मचारीले सहभागिता जनाउने छन् । नेपालको ७ वटै प्रदेशमा तालिम दिने उद्देश्य उक्त इन्स्योरेन्स कम्पनीले राखेको छ । साथै, हालसम्म एउटा प्रदेशमा भने कम्पनीले कार्यक्रम गरिसकेकाले अब बाँकी ६ प्रदेशमा नै कम्पनी पुग्नेछ । पुस महिनामा कर्मचारीहरुले अण्डरराइटिङ्ग सम्बन्धी तालिम लिने अवसर पाउने छन् । यस्तै, माघ महिनामा भने मार्केटिङ्ग कन्फ्रेन्स हुने छ । आजोड इन्स्योरेन्स कम्पनीले आफ्नो आन्तरिक तालिमका लागि कर्मचारीहरुलाई बानेश्वरमा रहेको शाखामा मार्फत प्रशिक्षण गर्दै आएको छ । वित्तीय सेवा भएको ठाउँमा बीमा कम्पनीको आवश्यकता कुनैपनि वित्तीय सेवा उपलब्ध भएको ठाउँमा बीमा चेतना फैल्याउन आवश्यक रहेकोे कम्पनीको ठम्याई छ । वित्तीय पहँुचलाई बीमाले थप सुरक्षण गर्ने बताइएको छ । बाग्लुङ्गको बुर्तिबाङ्ग, गोरखाको पालुङ्गटार तथा रौतहट लगायतका ठाउँमा कम्पनीले बीमा चेतना दिइसकेको जानकारी दिएको छ । ‘हामीले नाफा भन्दा जनचेतना तथा तालिमलाई आवश्यक मानेका छौँ’-सीइओ खत्रीले भने । हालसम्म सो इन्स्योरेन्स कम्पनीमा २ सय जनशक्ती रहेका छन् । सो मध्येमा ७५ प्रतिशत कर्मचारीहरु भने बीमा क्षेत्रका जानकार भन्दापनि इच्छुक छन् । बीमा बजारमा काम गर्न कम्पनी तथा कर्मचारी दुवैको उद्देश्यमा मेल भएमा कर्मचारी आउने जाने क्रम रोकिन सक्नेछ । उक्त कम्पनीमा भने नयाँ जनशक्तीहरुले नियमित काम गर्दै आएको र केही बाहिरिएका कर्मचारीले बीमा क्षेत्रै छोडेको जनाएको छ ।
घुम्ती बीमा कार्यक्रम संचालन गर्दै बीमा समिति, सातै दिन २४ घण्टा सेवा दिने तयारी
काठमाडौं । बीमा समितिले आगामी कात्र्तिक २१,२२ र २३ गते घुम्ती बीमा कार्यक्रम संचालन गर्ने भएको छ । समितिले प्रदेश–२ को जनकपुरमा तीन दिनसम्म उक्त सेवा संचालन गर्न लागेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पाइलटिङको रुपमा आयोजना गर्न लागिएको उक्त कार्यक्रम अवधिमा २४ घण्टा सेवा दिने उनले बताए । ‘मुलुक भरी नै बीमा चेतनामा वृद्धी गर्न हामीले घुम्त्ती बीमा कार्यक्रम संचालन गर्न लागेका हौं,’ उनले भने यो कार्यक्रम पाइलटिङको रुपमा गर्न लागिएको हो ।’ आगामी दिनमा यस्तै सेवा सबै प्रदेशमा पुर्याउने समितिको उदेश्य रहेको छ । नेपाल राष्ट्र बैकको शाखारहित बैकिङसँग मिल्दोजुल्दो अवधारणा अनुरुप समितिले सो घुम्ती कार्यक्रम अघि बढाएको हो । घुम्त्ती बीमा सम्बन्धि नीति भने बीमा समितिले ल्याइसकेको भने छैन । यद्यपि बीमा समितिमा घुम्ती बीमा सम्बन्धी छलफल भने हुन थालेको समितिले बताएको छ । घुम्ती बीमा नीति आएपछि त्यसैको आधारमा बीमा कम्पनीहरूले स्विकृतिका लागि आफ्ना पोलिसी बीमा समितिमा ल्याउँने पाइएको छ । नीति बनेपछि सोही नीतिको आधारमा बीमा कम्पनीहरूले बीमा सेवा प्रदान गर्न सक्छन् । शाखा विना नै बीमा सेवा प्रदान गर्न बीमा समितिले यस्तो अवधारणा अघि सारेको उनले बताए । बीमा समितिले आगामी दिनमा २४ सै घण्टा बीमा सेवा दिन आवश्यक रहेको बताएको छ । बीमितहरुले बीमा सेवा लिँदा निवार्द सातै दिन २४ सै घण्टा पाउनु पर्छ भन्ने हो,’ उनले भने । घुम्ती बीमा भनेको बीमित उभिएको र बीमिति बसेको ठाउँमै पुग्ने बीमा भएको बीमा समितिले जनाएको छ । साथै, उक्त घुम्त्ती बीमा मार्फत बीमितले बीमा गराउँदा थप शुल्क बुझाउनु पर्दैन । बीमितले बैकमा चेक लिइ, लाइन बसेर बिमाङ्क भुक्तान गर्दा बढी समय लाग्ने भएकोले घुम्ती बीमाले बिमकलाई राहत दिने बताइएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीबि चाँपागाई मार्फत सो कार्यक्रमको शुभारम्भ हुनेछ ।
पुर्नबीमा कम्पनीको सीईओ बन्न छ जनाको आवदेन, अनुभवी आवेदक दुई जना मात्र
काठमाडौं । नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि ६ जनाले आवेदन बुझाएका छन् । दुई जना बीमा क्षेत्रका अनुभवी छन् भने ४ जना पूर्व बैंकर्सले आवेदन दिएका छन् । अनुभवीमा सोही कम्पनीको निवर्तमान प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र युनाईटेड इन्स्योरेन्स कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत शेखर बराल प्रतिस्पर्धामा छन् । त्यस्तै, कृषि विकास बैंकका पूर्व कर्मचारी शेषनारायण आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी शंकर रायमाझीले पनि पुर्न बीमा कम्पनीको सीईओका लागि आवेदन गरेका छन् । उनीहरुले नेपाल बैंकको सीईओ बन्न पनि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुको प्रयास सफल भएन । त्यस्तै, पुर्नबीमामा नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक अशोक पौडेलले आवेदन गरेका छन् । डा युवराज खतिवडा गर्भनर हुँदा उनी गभर्नरको सचिवलयमा बसेर काम गरेका थिए । उनी डा खतिवडाको विश्वासिला सहयोगि भएको जानकारहरु बताउँछन् । त्यस्तै, नविल बैंकका पूर्व कर्मचारी ज्ञानेश्वर आचार्य पनि सो पदमा आवदेन दिएका छन् । आवेदक मध्ये शेखर बराल प्रभावशाली उम्मेद्वार भएको बुझिएको छ । झापालीहरु शक्ति केन्द्रमा रहेको र बराल पनि झापाली भएकोले उनले नियुक्ती पाउने सम्भावना प्रबल भएको जानकारहरु बताउँछन् । ‘दुई वटा बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ । प्रथम श्रेणीमा मास्टर पास गरेको छु’ बरालले भने–‘अरु आवेदक भन्दा म बढी प्रतिस्पर्धी छु ।’ चिरायु भण्डारी पनि कमजोर दावेदार होइनन् । सोही कम्पनीको ४ वर्ष काम गरि सकेको र बीमा क्षेत्रमा तीन दशक भन्दा बढी नियमति काम गरेकोले उनले मौका पाउन पनि सक्छन् । ‘पहिलो कार्यकाल सफल नै रह्यो । कम्पनीको विजनेश विस्तार गर्न, कम्पनीको नेटवर्क अन्तराष्ट्रिय बजारमा विस्तार गर्ने, कम्पनीको पुँजी वृद्धि गर्न, संस्थागत संरचनाहरु निर्माण गर्न म सफल भए’ भण्डारीले भने- ‘अनुभव र कार्यदक्षताको आधारमा म अरु भन्दा योग्य छु ।’ अरु चार जना आवदेकसँग भने बीमा क्षेत्रको अनुभव छैन । मासिक २ लाख ५ हजार तलव र कार्यसम्पादन नतिजाका आधारमा अतिरिक्त ५ महिनासम्मको प्रोत्साहन भत्तासहितको सुविधा भएको यो पदमा व्यवस्थापकीय उच्च कौषलता भएको व्यक्तिको आवेदन नपरेको छनौट समितिका एक सदस्यले बताए । ‘तबल सुविधा आकर्षक नभए पनि होला, उच्च कार्य सम्पादन नतिजा देखाएको र बजारमा चिनिएका मान्छेको आवेदन परेन’ छनौट समितिका एक सदस्यले भने–आवेदक मध्ये उत्कृष्ट व्यक्ति छान्छौं ।’ पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत छनौटको लागि अर्थमन्त्रायलका सहसचिव हरिशरण पुडासैनी संयोजक, आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य र पुर्नबीमा कम्पनीका सञ्चालक रमेश राणा सदस्य भएको छनौट समिति गठन गरेको छ । छनौट प्रक्रियाले करिब दुई साता लिने स्रोतले बतायो ।