नेपाल लाइफ इन्स्योरेन्सकाे बीमाशुल्क र नाफा दुबै बढ्याे
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा यो १४.१६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा इन्स्योरेन्सले ७ अर्ब ८१ करोड ८३ लाख रुपैयाँ खुद बीमाशुल्क सङ्कलन गरेको थियो । इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै नाफा पनि बढेको छ। इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.०२ प्रतिशत बढी हो । इन्स्योरेन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी गरेको कम्पनीले चालु आवको सोहि अवधिमा ९९ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेको छ । पुनर्बीमा कमिशन बापत १ करोड १४ लाख, लगानी कर्जा तथा अन्यबाट एक अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको छ । ५ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३ अर्ब ६६ करोड, जीवन बीमा कोषमा ९४ अर्ब ८२ करोड र महाविपत्ती कोषमा ६० करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ (वार्षिक) रहेको छ । त्यसैगरी, इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १७७.७९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.४४ गुणा रहेको छ । इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १३ लाख १९ हजार ७०२ रहेको छ। हालसम्ममा इन्स्योरेन्सले १ खर्ब २८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरिसकेको छ । त्यस्तै, कम्पनीले समिक्षा अवधिमा कुल १४ हजार ४८९ दाबी बापतको ३ अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ४३ करोड २० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
पहिलो त्रैमासमा एभरेष्ट इन्स्योरेन्सको बीमाशूल्क आर्जन १२ करोड ११ लाख रुपैयाँ
काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ११ लाख रुपैयाँ बीमाशूल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको बीमाशूल्क ११ करोड ९२ लाख रुपैयाँ मात्रै रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको खुद नाफा ३ करोड ५ लाख रहेको छ । सो भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा २ करोड २ लाख रुपैयाँमा सिमीत थियो । एभरेष्ट इन्स्योेरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको बीमा कोषमा ३४ करोड २० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २८ करोड ९८ लाख रुपैयाँ रहेको छ ।
पहिलो त्रैमासमा एशियन लाइफको खुद नाफा ९ करोड ४० लाख रुपैयाँ
काठमाडौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्ष भन्दा अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ४ करोड २ लाख रुपैयाँ मात्र रहेको थियो । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही समयमा ८८ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ६७ करोड रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले दिएको जानकारी अुनसार ७ हजार २ सय ९७ कुल दाबी परेको थियो ।