पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ र शिखर इन्स्योरेन्स पुरस्कृत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीद्वारा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी पुरस्कृत भएका छन् । कम्पनीले सातौं वर्षमा प्रवेश गरेको अवसरमा नाफामूलक पुनर्बीमा व्यवसायको आधारमा दुई इन्स्योरेन्सलाई पुरस्कृत गरेको हो । साथै, कम्पनीले राम्रो कार्य सम्पादन गर्ने कम्पनीका सहायक प्रबन्धक उत्तम पनेरु र वरिष्ठ सहायक सरिता श्रेष्ठलाई नगदद्वारा पुरस्कृत गरी सम्मान गरेको छ । नेपाल पुनर्बीमा कम्पनी आज(कार्तिक २१ गते)बाट स्थापनाको सातौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा भर्चुअल कार्यक्रम आयोजना गरी सातौं वार्षिकोत्सव मनाएको हो ।

काेराेना महामारीले बीमा बजार खुम्चिन थालेकाे छ -कुमार खत्री

कोरोना महामारीले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको छ । ठीक यही बेलामा नेपालको आर्थिक क्षेत्र पनि महामारीको प्रत्यक्ष असर भोग्न बाध्य छ । नेपाली बीमा क्षेत्र पनि कोरोना महामारीको प्रभावबाट अछुतो छैन । पछिल्लो समय कोरोना महामारीकै कारण अनलाईन बीमा पोलिसीको महत्व पनि बढेको छ । यस्तै, बीमा समितिको विशेष पहलमा आएको कोरोना बीमाको विषयमा पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तै सन्दर्भमा अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि बीमा क्षेत्रमा के–कस्तो प्रभाव परेको महसुस गर्नुभएको छ ? कोरोना महामारीबाट सबै क्षेत्र प्रभावित भएको अवस्थामा यसको प्रभाव बीमा क्षेत्रमा पनि परिरहेको छ । अहिले व्यापारिक क्रियाकलापहरु नै निकै कम मात्रामा भएका छन् । समग्रमा भन्नुपर्दा अहिले आर्थतन्त्र नै शिथिल अवस्थामा रहेको महसुस गरेको छु । सार्वजनिक सवारी साधनहरु राम्रोसँग चल्न पाएका छैनन् । पर्यटन क्षेत्र पनि चुस्त दुरुस्त रुपमा चल्न सकेको छैन । यस्ता यावत कारणहरुले बीमा क्षेत्रमा असर परेको छ । बीमा क्षेत्रको सम्बन्ध अन्य क्षेत्रमासँग पनि गाँसिएको हुन्छ । अरु क्षेत्र शिथिल हुँदा त्यसको प्रत्यक्ष असर बीमा क्षेत्र पनि पर्छ । खासगरी पर्यटन क्षेत्र र सार्वजनिक यातायातको क्षेत्र निकै नै प्रभावित भएका छन् र त्यसकाे असर निर्जीवन बीमा व्यवसाय परेकाे छ । कोरोना महामारीकै प्रभावका कारण बीमा क्षेत्रका चालु योजना कार्यान्वन गर्न नसकेको अवस्था छ कि छैन ?   अहिले त्यस्तो ठूलो असर पर्ने गरी केही रोकिएकै त छैन । । नियामक निकाय बीमा समितिले दिएको निर्देशन अनुसार हामीले काम गर्ने हो । भोलिका दिनमा कोरोना महामारीबाट मुक्ति पाउदै थप सहज रुपमा काम गर्न पाइन्छ भन्ने हाम्रो अपेक्षा छ । महामारी कै बीचमा नयाँ योजना ल्याउन सोच बनाउनु भएको छ ? बीमा क्षेत्रमा हामीले आफैले मात्र छुट्टै त्यस्तो केही गर्ने भन्ने हुदैन । बीमितको माग तथा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले काम गर्ने हो । अहिले हामीसँग भएको नर्मल पोलिसीहरु जे छ, त्यही बेचिरहेका छौं । सबै बीमा कम्पनीहरुले गर्ने त्यही नै हो । दाबी भुक्तानीकोे लागि प्रविधिमैत्री हुनुपर्ने बेला आएको छ । अहिले अनलाइन पोलिसीको महत्व ह्वात्तै बढेको छ । डिजिटल पेमेण्ट गर्ने कुराहरुले प्राथमिकता पाइरहेको अवस्था छ । डिजिटल भुक्तानीको लागि विभिन्न योजनाहरु बनाएर धेरै हदसम्म सफलता समेत मिलेको छ । अब कोभिडको कारण धेरै ध्यान पुर्याउनु पर्ने तथा नयाँ कुरा भनेको यही डिजिटल भुक्तानी नै हो । अन्य प्रोडक्टको बारेमा त स्टयाडर्ड पोलिसीहरु नै हुन्छन् । त्यही पोलिसी अनुसार काम गर्नु पर्छ । कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रले के गुमायो र के कस्ता नयाँ कुरा हासिल गर्ने मौका पायो भन्ने लाग्छ ? कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रको मार्केट साइज घटेको छ । यसको मतलब यो क्षेत्रको आफ्नो व्यवसायिक आकार घट्न पुगेको छ । यसबीचमा हामीले महामारीमा कसरी काम गर्नुपर्छ भन्ने शिक्षा भने पाएका छौं । सारमा भन्दा महामारीले प्राप्त गराउने भन्दा लग्ने नै बढि हुदोरहेछ । कोरोना महामारीकै कारण केही नयाँ लाभ भएका छैन । हामीलाई सोच्न बाध्य बनाएको भनेको त्यही प्रविधिमैत्री हुनुपर्छ भन्ने कुरा नै हो । यसको महत्व धेरै नै बढेको छ । हरेक ठाउँमा काम गर्न प्रविधि नै आवश्यक भइसकेको छ । आगामी दिनहरुमा महामारीसँगै पनि व्यवसाय गर्न प्रविधि नै आवश्यक रहेछ भन्ने कुरा कोरोना महामारीले हामी सबैलाई सिकायो । अब त्यसको थप व्यवस्थापनमा समेत हामीले ध्यान दिदै जानेछौं । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । आगामी दिनमा बीमा क्षेत्रको व्यवसाय कस्तो रहला ? आर्थिक क्रियाकलाप बढ्ने बित्तिकै बीमा क्षेत्रको बजार बढ्ने अवस्था आउँछ । कोरोना महामारी कम हुुने वित्तीकै अर्थतन्त्र सबल हुन्छ । अनि बीमा क्षेत्र पनि त्यही अर्थतन्त्रकै एउटा पाटो भएकोले सँगै अघि बढ्छ । मुख्य कुरा भनेको अर्थतन्त्रले फड्को मार्नु पर्छ । अर्थतन्त्र चलायमान हुदै गएको अवस्थामा बीमा क्षेत्र पनि स्वतः अघि बढिहाल्छ । कोरोना महामारीसँगै बीमा समितिले जारी गरेका नीति निर्देशनले कस्ताे प्रभाव पारेकाे छ ? नीतिगत प्रभाव भनेको कोरोना महामारी पछि जारी काेराना बीमाले केही प्रभाव पारेकै हो । त्यो विषय अब बीमक संघकै आधिकारिक धारणा अनुसार अघि बढिरहेकोले प्रभाव कम हुँदै गएको छ । कोरोना बीमाको सुरुवातमा आकर्षण राम्रो रह्यो । यो सबल पक्ष पनि हो । यसमा हामी खुशी पनि भयौं । फेरि दाबी भुक्तानीको विषयलाई लिएर कोरोना बीमा सही यो या गलत भन्नेसम्मका विश्लेषण समेत भए । तर पछिल्लो समय सबै विषय मिल्दै गएका छन् । महामारीले हामीलाई पनि केही कुरा सिकाइको अवसरको रुपमा दिएको छ । कोरोना महामारीले बीमा क्षेत्रका कर्मचारीहरुलाई पारेको प्रभाव कस्तो छ ? समग्र बीमा बजारमा नै केलाएर हेर्ने हो भने त कही कतै केही प्रभावहरु त होलान् तर हाम्रो कर्मचारीहरुलाई त्यस्तो केही प्रभाव परेको छैन । पुरानै कर्मचारीहरुले राम्रोसँग काम गरिरहनु भएको अवस्था छ । कोरोना महामारीले विश्वमा नै प्रभाव पारेको कुरा सत्य हो । यसबाट धेरथोर असर सबैतिर परिरहेको पनि छ । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । अजोड इन्स्योरेन्स कम्पनीका आगामी योजनाहरु के–के छन् ? आगामी दिनमा हाल संचालनमा रहेका शाखाहरुलाई थप सुदृढ तथा बिस्तार गर्नेछौं । डिजिटल पोलिसी जारी गर्ने विषयमा, डिजिटल पेमेन्ट जस्ता विषयमा प्रविधिमैत्री हुदै अझ परिष्कृत बनाउँदै लग्ने हाम्रो योजना छ ।यस्तै, बजार तथा बीमितको आवश्यकता अनुसार नयाँ किसिमका प्रोडक्टमा समेत हामीले जोड दिनेछौं ।

रिलायन्स लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क ९२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खुद बीमाशुल्क ९१.९७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्ष २०७६/७७ को असोज मसान्तसम्म २४ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको कम्पनीले चालु आवको सोहि अवधिसम्म ४६ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँले बढी हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्कसंगै खुद नाफामा वृद्धि भएको छ । यस अवधिमा कम्पनीले खुद नाफा ६२.४३ प्रतिशतले बढाएर ३ करोड ७३ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको असोज मसान्तसम्ममा एक करोड ८५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । आईपीओ जारी पश्चात २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी पुगेको कम्पनीको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित रहेको छ । जुन गत आवको असोज मसान्तसम्ममा ११ करोड १० लाख रुपैयाँ मात्रै कम्पनीको जगेडा कोषमा सञ्चित रहेको थियो । त्यस्तै, गत आवको असोजसम्ममा ५३ करोड ५२ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा एक अर्ब ३९ करोड रुपैयाँ सञ्चित भएको छ । महाविपत्ती कोष पनि बढेर एक करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ जुन गणना गर्दा अन्तिम सेयर संख्या लिएको कम्पनीले जानकारी गराएको छ । प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०४.७५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५.६१ रुपैयाँ रहेको छ । गत असोजमा ४ हजार १३८ वटा बीमालेख जारी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्ममा कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन कम्पनीले गत आवको सो अवधिसम्ममा ९९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । इन्स्योरेन्सले हालसम्ममा ६६ हजार ११३ वटा बीमालेख जारी गरी ३ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत असोज मसान्तसम्ममा १२ वटा दावी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेकाे र ४ वटा दावी वापत ४७ लाख ५० हजार रुपैयाँ भने भुक्तानी हुन बाँकी रहेको कम्पनीले जानकारी गराएको छ ।