गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५.२५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । कम्पनीकाे आज(पुस १४ गते) मात्रै साे मात्राकाे सेयर नेप्सेमा सूचीकृत भएकाे हाे । यससँगै उक्त सेयर लगानीकर्ताको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न सकिने छ ।

यूनाइटेड इन्स्योरेन्सले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)ले आगामी पुस २१ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी २६औं वार्षिक साधारणसभा माघ ७ गते बस्दै छ । सभा सो दिन बिहीन १०ः३० बजे होटल हिमालय कुपण्डोल ललितपुरमा बस्न लागेको हो । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा तथा बुक क्लोजको मिति तय गरेको हो ।

बीमा समितिको अध्यक्ष पद खाली, चापागाई बसे विदामा

काठमाडौं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिमा अध्यक्षकाे कुर्सी खाली भएको छ । मंगलबारदेखि अध्यक्ष चिरञ्जीवि चापागाई विदामा बसेका छन् । चार वर्षे कार्यकाल सकिन एक साता बाँकी हुँदा उनी विदामा बसेका हुन् । उनले २०७३ पुस २४ गते नियुक्त पत्र पाएका थिए । अर्को कार्यकालको लागि सरकारले पुनः नियुक्ती नगरेमा चापागाईले २३ गते औपचारिक रुपमा बीमा समितिबाट विदा लिने छन् । अध्यक्ष चापागाई मंगलबारदेखि विदामा बसेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । चापागाईले समितिमा थप एक कार्यकाल काम गर्ने इच्छा राखे पनि नेकपा विभाजनपछि उनको निरन्तरताको सम्भावना कम रहेको जानकारहरु बताउँछन् । शुरुमा १० वटा जीवन र ३ वटा निर्जीवन बीमा कम्पनीलाई लाईसेन्स वितरण गरेको भनेर पुराना कम्पनीको तर्फबाट आलोचना खेप्नु परेपनि चापागाईको चार वर्षे कार्यकाल सफल भएको छ । चार वर्षको अवधिमा बीमाको पहुँच ७ प्रतिशतबाट २७ प्रतिशत पुग्नु, कुल ग्राहस्थ्य उत्पादामा बीमा क्षेत्रको योगदान १.५ प्रतिशतबाट ३ प्रतिशत पुग्नु, यस अवधिमा बीमा क्षेत्रमा करिव ४ अर्ब रुपैयाँ थप लगानी हुनु, हजारौको संख्यामा रोजगारी वृद्धि हुनु चापागाईको पालामा देखिने विकासका सूचकाङ्क हुन् । बीमा कम्पनीहरुले जोखिममा आधारित भएर पुँजी कोषको प्रबन्ध गर्नुपर्ने नियम लागू गर्नु, एनएफआरएस लागू गर्नु, संस्थागत सुशासन निर्देशिका संशोधन गरी खुकुलो बनाएर बजारलाई सहजीकरण गर्नु उनका सकारात्मक प्रयास थिए । बीमा बजारसँग सम्बन्धित पक्षको समास्या सुन्ने र समाधानका लागि सक्रिया भएर लाग्ने उनको कार्यशैली बीमा क्षेत्रका धेरैले मनपराएका थिए । तर पछिल्लो समय कोभिड–१९ बीमाबारे बीमा समितिले लिएका लिएकाे नीति र निर्णयलाई लिएर बजारमा उनको आलोचना हुँदै अाएकाे छ । नयाँ बीमा ऐन संसदबाट पारित गराउन नसक्नु, बीमा कम्पनीहरुको नियमनका लागि कडा रुपमा प्रस्तुत हुन नसक्नु उनको अर्को कमजोरी रह्यो । यद्यपी पूर्व अध्यक्ष डा फत्तबहादुर केसीले ८ वर्षसम्म गतिहिन बनाएकाे बीमा क्षेत्रलाई गतिशित बनाउने कार्यमा अध्यक्ष चापागाइ सफल भएका छन् ।