‘स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिएर महंगो नबनाऔं, बरु नि:शुल्क गराऔं’

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा सांसद शेरबहादुर तामाङ्ले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिँदा थप महंगो हुने धारणा राखेका छन् । सरकारले आगामी आर्थिक वर्षको लागि संसद्यमा प्रस्तुत गरेको बजेटमाथी आफ्नो धारणा राख्दै तामाङ्ले सो बताएका हुन् । ‘बजेटमा स्वास्थ्य बीमामा बीमा कम्पनी शब्द बोलिएको छ, कतै निजी क्षेत्रलाई दिन खोजेको त होइन, यदि स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन खोजेको हो भने अब जनताको स्वास्थ्यलाई अझै महंगो गर्दै हुनुहुन्छ,’ उनले भने । त्यसैले स्वास्थ्य बीमालाई निशुल्क गर्न समेत उनले माग गरेका छन् । सरकारले जनताको स्वास्थ्य खर्च सबै व्यहोर्छु भनेर किन आँट गर्दैन भन्दै उनले सो माग गरेका हुन् । ‘म त भन्छु स्वास्थ्य बीमालाई यसरी गरौं कि जनतालाई जुनसुकै रोग लागोस्, जस्तोसुकै रोग लागोस्, र जतिसुकै खर्च लागोस् हामी शतप्रतिशत व्यहोर्छौं भनेर किन आँट नगर्ने ? जनताको स्वास्थ निःशुल्क गरौं,’ ती तामाङले भने । बजेट अनुसार यसअघि स्वास्थ्य बीमा बोर्ड मार्फत संचालन गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अब बीमा कम्पनीहरु मार्फत पनि संचालन गरिने भएको छ । बीमा कम्पनीहरुले स्वास्थ्य बीमा कार्यक्रम आफूहरुले पनि संचालन गर्न पाउनु पर्ने माग गरिरहेका थिए भने बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले पनि स्वास्थ्य बीमा बोर्डको नियमन आफूले गर्ने बताउँदै आएको छ । ‘स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लाभग्राहीहरूलाई सामुदायिक तथा सरकारी अस्पतालहरूबाट मात्र उक्त सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ, यसका लागि सबै सामुदायिक तथा सरकारी अस्पतालहरूमा सामाजिक स्वास्थ्य इकाइ स्थापना गरिनेछ, स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनी मार्फत सञ्चालन गर्न आवश्यक तयारी गरिनेछ, स्वास्थ्य बीमा कार्यक्रमको लागि कूल ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ,’ आगामी आवको बजेटमा उल्लेख छ ।

बीमा कम्पनीका सीईओहरुको भेला माल्दिभ्समा, खर्च सबै नेपाल पुनर्बीमा कम्पनीको

सीईओहरुको ग्रुप फाेटाे काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको पाँच दिने भेला माल्दिभ्समा शुरु भएको छ । मंगलबारदेखि शुरु भएको भेला शनिवारसम्म चल्नेछ । भेलामा भाग लिन सबै इन्स्योरेन्स कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु माल्दिभ्स प्रस्थान गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि भाग लिएका छन् । त्यस्तै, नेपाल पुर्नबीमा कम्पनीको अध्यक्ष, सञ्चालक समितिका सबै सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापनकहरु पनि माल्दिभ्स गएका छन । ‘हामी सबै जना चिल गाडी चडेर माल्दिभ्स जादैछौ’ शनिबार फर्कने कार्यक्रम छ’ पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझीले भने । बीमा कम्पनीका सीईओहरुलाई पुर्नबीमाको तालिम दिने भनेर नेपाल पुर्नबीमा कार्यक्रमले माल्दिभ्समा कार्यक्रम राखेको हो । हिमालयन रिकाे प्रवेशसँगै बढेकाे प्रतिस्पर्धाका कारण कम्पनीका सीईओहरुलाई रिफ्रेसमेन्ट गराउने उद्देश्यले पनि कार्यक्रम तय भएकाे बताइएकाे छ । ‘केही समय अघि यस्तै कार्यक्रम चितवनमा गरिएको थियो । यस पटक विदेशमा गरौं, त्यो पनि नयाँ ठाउँमा गरौं भनेर माल्दिभ्समा कार्यक्रम राखिएको हो’ रायमाझीले भने । कार्यक्रमको सबै खर्च नेपाल पुनर्बीमा कम्पनीले गर्ने भएको छ ।

दावी भुक्तानीअनुसार मूल्याङ्कन हुँदै बीमा कम्पनी, अंक कम पाउनेलाई सेवासुविधा पनि कम

काठमाडौं । अब बीमा कम्पनीहरु दाबी भुक्तानी अनुसार मूल्याङ्कन हुने भएका छन् । बीमा समितिले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर जीवन बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताएको हो । सोमबार जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेशकुमार लालले सो बताएका हुन् । यससँगै, सो मूल्याङ्कनमा न्यून अर्थात कम अङ्क पाउने कम्पनीहरूलाई समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने समेत उनले जानकारी गराएका छन् । निर्देशक लालले समितिले बीमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तररूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको बताए । कम्पनीले बीमाशुल्क लिएर बीमालेख बिक्री गरेपछि विना झन्झट ढिलाई नगरिकन दाबी भुक्तानी दिनैपर्नेमा जोड दिँदै निर्देशक लालले बीमाको विश्वसनीयता तब बढ्छ, जब बीमा दाबी भुक्तानी समयमै हुन्छ भने । कार्यक्रममा बीमा समितिका उपनिर्देशक (कानून) विरोध भट्टले जीवन बीमा कम्पनीहरूको दावीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरे । उनले बीमितले बीमा दावी सम्बन्धी लगायत जुनसुकै किसिमका उजूरीहरू इमेल, फोन वा पत्र मार्फत मौखिक वा लिखितरूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजूरीका रूपमा स्वीकार गर्ने बताए । समितिले जीवन बीमा कम्पनीहरूबाट बिना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी हुन सकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटोछरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।