पुँजी वृद्धिको निर्देशन लत्याउँदै दुई बीमा कम्पनी, सरकारले यथास्थितिमा पुँजी नथप्ने
काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई पुँजी बढाउन २०७९ चैत मसान्तसम्मको समय तोकिदिएको छ । निजी क्षेत्रबाट प्रवर्धित कम्पनीहरुले पुँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । योजनाअनुसार काम गर्न प्रक्रिया पनि थालिसकेका छन् । तर सरकार नै प्रवर्धित रहेको दुई बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन लत्याइदिएका छन् । उनीहरुले पुँजी वृद्धिबारे कुनै योजना बनाएका पनि छैनन् । यी दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले पुँजी वृद्धिबारे प्रवर्धकसँग छलफल पनि थालेका छैनन् । सरकार पनि यथास्थितिमा पुँजी नथप्ने मूडमा रहेको छ । हाल राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ । समितिको निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउनु पर्ने छ । त्यसको लागि अब कम्पनीले थप ८ सय ३८ प्रतिशत अर्थात २ अर्ब २३ करोड रुपैयाँ थप्नु पर्छ । कम्पनीमा अधिकांश लगानी सरकार लगायत सरकारी संस्थानको छ । नेपाल सरकारको ३७ प्रतिशत, कर्मचारी सञ्चय कोषको ३४ प्रतिशत र नेपाल बैंकको ९ प्रतिशत गरी कूल ८० प्रतिशत लगानी सरकारी निकायको मात्र छ । मुख्य लगानीकर्ता नै सरकार भएपछि सरकारको निर्णय अनुसार नै पुँजी बढाइने कम्पनीले जनाएको छ । र, त्यसको लागि भने हालसम्म सरकारसँग छलफल नभएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रराज ओझा बताउँछन् । बीमा समितिको निर्देशनको अवज्ञा गर्ने आफ्नो नियत भने नभएको उनले बताए । ‘हामी सरकारसँग छिट्टै छलफल गर्छौं, तीनवटै सरकारी संस्थाको लगानी भएको हुनाले अर्थमन्त्रालयसँग समन्वय गरेर अघि बढ्नको लागि बीमा समितिसँग मौखिक रुपमा थप समय माग गरेका छौं । असार मसान्तसम्ममा यसको पनि खाका बनेर हामी पेश गर्छौं,’ सीईओ ओझाले बताए । सरकारले थप लगानी नगर्ने अवस्थामा सर्बसाधारणमा सेयर बिक्री गरेर पुँजी वृद्धि गर्न सकिने उनले सुनाए । पुँजी वृद्धि भन्ने कुरा लगानीकर्ताको स्वेच्छाको विषय भएको र सरकारले पुँजी नथप्ने कुरा गरेमा कम्पनीले बैकल्पिक बाटो लिने उनले बताए । विकल्प बारे उनले भने- ‘सरकारले लगानी नगरेको खण्डमा सायद कम्पनी पब्लिक सेयर कलिङमा जान सकिन्छ । तर अब सरकारले जस्तो निर्देशन दिन्छ, त्यहि हुन्छ ।’ त्यस्तै, राष्ट्रिय बीमा संस्थानले पनि पुँजी वृद्धिबारे कुनै योजना बनाएको छैन । त्यसको लागि गृहकार्य भने गरिरहेको संस्थानका सीईओ कविप्रसाद पाठक बताउँछन् । ‘पुँजी वृद्धिको लागि ठ्याक्कै यहि गर्ने भन्ने टुंगिएको छैन । सरकारको बजेट आयो । मन्त्रालय र समितिसँग समय लिएर छलफल टुंग्याउनु पर्नेछ,’ उनले भने ‘हामी संस्थानबाट कम्पनीमा जानुपर्ने छ, त्यो बेला पुँजी पुर्याउने हो की भन्ने लाइनमा छ, तर हालसम्म टुंगिएको छैन ।’ संस्थानबाट कम्पनीमा जान संसदमा प्रस्तावित नयाँ बीमा ऐन पास हुनुपर्छ । र, संसदमा ऐन पास भएको एक वर्षभित्रमा संस्थान कम्पनीमा गइसक्नु पर्ने व्यवस्था छ । कम्पनीमा गएपछि मात्रै पुँजी बढाउने संस्थानको सोच भए पनि सरकारको निर्णय अनुसार अगाडि बढ्ने सीईओ पाठक बताउँछन् । ‘अन्य कम्पनी र हामीमा फरक छ, हाम्रो ऐनले ५० करोड रुपैयाँ अधिकृत पुँजी तोकिदिएको छ, त्यो कारणले हामीलाई प्राविधिक समस्या परेको छ, यसलाई अब कसरी फुटाउने भन्ने विषयमा अर्थमन्त्रालय, बीमा समिति र हामीले एक आपसमा छलफल पछि निष्कर्शमा पुग्छौं,’ उनले भने । राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अनुसार संस्थानको अधिकृत पुँजी ५० करोड रुपैयाँ तोकिएको छ । सरकारको स्वीकृति लिई संस्थानले आफ्नो अधिकृत पुँजी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी घटाउन वा बढाउन सक्नेछ । ‘समितिले पुँजी पुर्याउनु पर्छ भनेको छ, सरकार अहिले पुँजी थप्ने मनस्थितिमा नरहेको देखिन्छ, त्यसैले सबैले छलफल गरेर टुंगोमा पुग्नु पर्छ’ उनले भने । हाल राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी १ अर्ब ८१ करोड रुपैयाँ छ । समितिले तोकेको ५ अर्ब रुपैयाँ बराबरको पुँजी पुर्याउन कम्पनीलाई थप ३ अर्ब १८ करोड रुपैयाँ आवश्यक पर्छ । अर्थमन्त्रालयका अधिकारीहरुले यथास्थितिमा पुँजी वृद्धि नगरिने बताएका छन् । ‘केही कानुनी समस्या छन् । केही सैद्धान्तिक विवाद पनि छन्’ अर्थमन्त्रालयका एक जना अधिकारले भने- ‘जतिबेला बीमा व्यवसायमा निजी क्षेत्र आएको थिएन, त्यतिबेला सरकारले बीमा कम्पनी चलाउनु आवश्यक थियो, अहिले सरकारले बीमा कम्पनीमा लगानी गरेर सेवा व्यापार गर्नु जरुरी छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।’ निजी कम्पनीले पुँजी वृद्धि गर्न सक्ने तर सरकारले पुँजी वृद्धि गर्न नसक्ने भन्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूण भएको बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । ‘पहिले पनि सरकारी कम्पनीहरुले समितिले तोकेअनुसार पुँजी वृद्धि गरेनन् । अहिले पनि पुँजी वृद्धि योजना पेस गरेका छैनन्’ अध्यक्ष सिलवालले भने- ‘सरकारी कम्पनीले लेखापरिक्षण नगरे पनि छुट, लाइसेन्स नविकरण नगरेपछि छुट, पुँजी वृद्धि नगरे पनि छुट ? यस्तो बेथितिले अब निरन्तरता पाउँदैन ।’
रिलायन्स लाइफले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्राहकवर्गको अनुरोधलाई मध्यनजर गरी पुनः पुनर्जागरण अभियान संचालन गरेको छ । पुनर्जागरण अभियान अन्तर्गत कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण नगरी व्यतित भएका बीमालेखको हकमा शतप्रतिशत विलम्ब शुल्क छुट गर्ने व्यवस्था गरिएको छ । यो योजना दुई वर्ष वा सोभन्दा कम समय व्यतित भएका बीमालेखमा मात्र लागू हुनेछ । यसका साथसाथै, बीमालेख अवधिभित्र एक पटक मात्र व्याज छुटको सुविधा प्रदान गरिनेछ । उक्त पुनर्जागरण अभियान जेठ २० गतेदेखि असार १५ गतेसम्म संचालन हुनेछ र आफ्नो व्यतित भइसकेका बीमालेखहरु बिलम्ब शुल्क बिना नै नवीकरण गरी आफ्ना ग्राहकहरुलाई सुनौलो मौकाको फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ । साथै, बीमालेख पुनर्जागरण गर्दा स्वास्थ्य परिक्षण गर्नुपरेमा मेडिकल फि कम्पनीले व्यहोर्ने जनाएकाे छ ।
कति पाउँछन् तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको परिवारले बीमा रकम ?
काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटनामा परेको थियो । पोखराबाट बिहान ९.५५ बजे पोखराबाट जोमसोमका लागि उडान भरेको सो एयर मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । जहाजमा चार जना भारतीय नागरिक, दुईजना अन्य देशका र १३ जना नेपाली यात्रु साथै चालक दलका तीन सदस्य गरी २२ जना रहेका थिए । दुर्घटनामा परी चालक दलका तीन सदस्यसहित इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । सो हेलिकोेप्टर दुर्घटनामा मृत्यु भएकाको परिवारले जनही २० हजार अमेरिकी डलर पाउने भएका छन् । हालसम्म नेपालमा आन्तरिक उडान वार्सा महासन्धी र हेग प्रोटोकल अन्तर्गत रहेको छ । जसमा यसको दायित्व २० हजार अमेरिकी डलर रहेको छ । बिहीबारको अमेरिकी प्रतिडलर विनियम दर १२४ रुपैयाँ अनुसार हिसाब गर्दा तारा एयर दुर्घटनाबाट मृत्यु भएका मृतका परिवारले २४ लाख ८० हजार रुपैयाँ पाउँछन् । उक्त प्रोटोकल अन्तर्गत नै विमान कम्पनीले बीमा रकम दिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्ण तारा एयर दुर्घटनामा मृत्यु भएका मृतका परिवारलाई वार्सा महासन्धीलाई नै आधार बनाएर बीमा रकम दिनुपर्ने बताउँछन् । उनका अनुसार उक्त रकम विमान कम्पनीले नभएर इन्स्युरेन्स कम्पनीले भुक्तानी गर्नुपर्छ । यस्तै सम्बन्धित वायुसेवा कम्पनीले चालक दलका सदस्यको छुट्टै बीमा गरेको हुन्छ । तारा एयरका एक पाइलटका अनुसार चालक दलका सदस्य (पाइलट) को १ करोड रुपैयाँ बराबरको बीमा गरिएको हुन्छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् १९९९ देखि लागू गरेको मोन्ट्रियल महासन्धि नेपालमा २०७५ मंसिर २९ देखि लागू भएको हो । अन्तराष्ट्रिय रुटमा यात्रा गर्ने नेपाली हवाई यात्रुहरुको दुर्घटनाबाट मृत्यु भएमा, चोटपटक लागेमा १ लाख १३ हजार १ सय एसडिआर (अन्तराष्ट्रिय मुद्रा कोषको मौद्रिक इकाइ) रहेको छ । यो रकम भनेको १ लाख ५८ हजार ३४० अमेरिकी डलर बराबर हो । समिति गठन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल ‘सुमन’ अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको मृत्यु भएको छ । शव परिवारलाई हस्तान्तरण आइतबार पोखरा–जोमसोम उडानका क्रममा सम्पर्क विहीन बनेको ताराको जहाज सोमबार बिहान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । सोमबार बिहानबाटै दुर्घटनामा मृत्यु भएका २२ जनाको शव संकलन सुरु गरिएको थियो । नेपाली सेनाले दुई चरणमा सोमबार र मंगलबार शवहरुलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । त्रिवी शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको मृतकको शव बिहीबार परिवारलाई हस्तान्तरण गरिसकिएको छ ।