सर्भेयरको तालिम दिँदै बीमा समिति
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बीमा सर्भेयरको तालिम दिने भएको छ । समितिले आगामी जेठ ३० गतेदेखि असार ३ गतेसम्म बीमा सर्भेयरको तालिम सञ्चालन गर्न लागेको हो । काठमाडौंमा दिइने उक्त तालिममा यसअघिको तालिममा सहभागी नभएकाहरु मात्र सहभागी हुन पाउने छन् । समितिका अनुसार २०७८ भदौ ८ गतेदेखि भदौ १४ गतेसम्म अनलाईन मार्फत निवेदन दिएका तर तालिममा सहभागी नभएका निवेदकहरु मात्रै अबको तालिममा सहभागी हुने पाउने छन् । साथै, गत वर्षको तालिमको लागि निवेदन दिएका तर यो वर्ष सहभागि हुन नसक्ने निवेदकहरुलाई पनि समितिले समितिको कार्यालयमा निवेदन दिन आग्रह गरेको छ । यदि कार्यालय जाने नसक्ने अवस्था भएमा समितिको इमेलमा रकम बुझाएको प्रमाणसहित निवेदन दिन सक्नेछन् । समितिका अनुसार उनीहरुले आगामी जेठ १८ गतेसम्ममा यो इमेलमा निवेदन दिइसक्नुपर्ने छ । र, यो तालिममा समेत सहभागी नभएकालाई अर्को तालिमको व्यवस्था नगरिने समितिले जनाएको छ ।
रिलायन्स लाइफले गर्यो ४१ लाखको मृत्यु दाबी रकम भुक्तानी
काठमाडौं । रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले इलाममा बुधबार मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमित प्रवीण चापागाईंकाे परिवारलाई इलाम सदरमुकाममा एक कार्यक्रमबीच ४१ लाख ७५ हजारको चेक हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र इलाम नगरपालकाका प्रमुख केदार थापाले संयुक्त रुपमा सो चेक मृतककी श्रीमती सीमा चापागाईंलाई हस्तान्तरण गरेका हुन् । गत ७८ साल चैत महिनामा बीमा गर्नुभएका निर्माण व्यवसायी प्रवीण चापागाईंको पाँच महिनापछि मृत्यु भएको थियो । पचास लाखको बीमा गर्दा पहिलो किस्ता बापतको चार लाख २५ हजार तिर्नुभएका उहाँको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापक सूर्यप्रकाश गुप्ताले बीमा बचतसँगै आर्थिक जोखिम बहन गर्ने माध्यम भएको चर्चा गरे । उनले बीमा कम्पनीमा जीवन बीमा गरी आफ्नो र परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्नसमेत आग्रह गरे । कम्पनी इलाम शाखाका प्रबन्धक लक्ष्मण चौलागाईंले स्थानीय तहहरूले पनि कार्यक्रम निर्माण गर्दा बीमाको पहुँचमा आफ्ना नागरिक पुग्न सक्नेमा ध्यान दिनुपर्नेमा जोड दिए । उनले नागरिकप्रति उत्तरदायी बन्न सहुलियत दिने खालका कार्यक्रम ल्याउन सुझावसमेत दिए ।
समितिको अनुमतिसँगै सीईओ प्रसाईंले सम्हाले कार्यभार, कम्पनीले नयाँ उचाई लिने विश्वास
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईंले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ११ गते इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् । बीमा समितिले अनुमति दिएसँगै कम्पनीको संचालक समितिले जेठ ११ गतेदेखि नै लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको छ । र, सीईओ प्रसाईंले आफ्नो पदभार सम्हालेका छन् । सीईओ प्रसाईले कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरेर जेठ ११ गते नै पदभारग्रहण गरेका हुन् । यससँगै प्रसाईंले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । सीईओमा उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । तत्काल चालु आवका टाग्रेटहरुलाई पुरा गर्नमा जोड दिने र आगामी वर्ष नयाँ प्लान बनाएर अगाडि बढ्ने नवनियुक्त सीईओ प्रसाईंको योजना छ । ‘चालु आवमा मात्र डेढ महिनाको समय छ, यो अवधिमा तोकिएको टाग्रेटलाई नै मीट गर्ने हो, मुख्य योजना भने अर्को वर्ष गरिन्छ,’ सीईओ प्रसाईंले विकासन्युजसँग भने । प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५/६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्षको लामो अनुभव सम्हालेका थिए । प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका हुन् । र, फागुन १८ गतेदेखि नै कम्पनीको सीईओ पद रिक्त थियो । प्रसाईंको नियुक्तिसँगै प्रभु लाइफले करिब साढे २ महिनापछि सीईओ पाएको छ ।