सगरमाथा इन्स्योरेन्सले आर्जन गर्यो ३ अर्ब बढी बीमाशुल्क, केक काटेर साट्यो खुशीयाली
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को अन्तिम त्रैमासिकअघि नै अर्थात जेठ २८ गतेसम्ममा कूल ३ अर्ब रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको हो । यससँगै असार मसान्तसम्ममा अर्थात अबको तीन चार दिनमा उक्त रकममा थप वृद्धि हुने छ । यसअघि कम्पनीले गत जेठ मसान्तसम्ममा २ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । र, निर्जीवन बीमा कम्पनीमध्ये बढी बीमाशुल्क आर्जन गर्नेको दोश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको करिब एक महिनामै कम्पनीले थप २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेर ३ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । यो उपलब्धिसँगै कम्पनीले खुशीयाली साटासाट गरेको छ । कम्पनीले असार २८ मंगलबार आफ्ना कर्मचारीमाझ केक काटी खुशी साटासाट गरेको हो ।
रिलायन्स र सानिमा लाइफ मर्ज हुने, स्वाप रेसियो बराबर
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने भएका छन् । सो सम्बन्धमा दुई कम्पनीले असार २९ गते बिहान ८ बजे प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् । दायित्व तथा सम्पत्ति मुल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमती गरिएको इन्स्योरेन्सले जानकारी गराएको छ । हाल सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ छ । १ः१ को अनुपातमा मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ नाघ्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । समितिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ तोकेको छ । यससँगै दोश्रो बजारमा दुबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्चेञ्जले आज असार २९ गतेदेखि नै दुबै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । यससँगै उक्त प्रकृया सकिएपछि मात्रै कम्पनीको सेयर कारोबार फुकुवा हुनेछ । उक्त समारोहमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता रहेको थियो ।
दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का
काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो । यी दुई कम्पनी एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) मा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको हो । जसको लागि यी दुई कम्पनीले गत असार २७ गते समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । बराबरी हैसियतमा मर्ज हुँदै सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, गरे सम्झौता यससँगै, उक्त मर्जर प्रकृया सकिएर एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कम्पनीको सेयर कारोबार फुकुवा हुने छ ।