सगरमाथा इन्स्योरेन्स २७औं वर्षमा प्रवेश, गर्यो रक्तदान कार्यक्रम
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले आफ्नो स्थापनाको २६औं वर्ष पार गरी २७औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा सो कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । उक्त कार्यक्रम साउन २ गते कम्पनीको प्रधान कार्यालय, नक्सालमा भएको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले रक्तदान गर्ने सबैलाई धन्यवाद पनि दिए ।
कृषिमा नेको इन्स्योरेन्सको योगदान : कृषकलाई निशुल्क बीमा सेवा
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको नेको इन्स्योरेन्सले कृषि बीमालाई बढी प्राथमिकतामा राख्दै आएको छ । जसको लागि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० लाई ‘नेकोको अभियान : कृषिमा योगदान’ भन्ने नाराका साथ अघि बढ्ने कार्यक्रम ल्याएको हो । यो अभियना अन्तर्गत कम्पनीले कृषकलाई निःशुल्क रुपमा बीमा सेवा दिने र क्षति भएमा क्षतिपूर्ति दिने जनाएको छ । इन्स्योरेन्स प्रदेश सरकार वा पालिकाहरुको सहयोगमा उक्त अभियान सफल बनाउने लक्ष्य लिएको हो । हाल सरकारले कृषि बीमाशुल्कमा ८० प्रतिशत अनुदान व्यवस्था गरेको र २० प्रतिशत कृषकले तिर्नु पर्ने व्यवस्था छ । जसमा कृषकले तिर्नुपर्ने २० प्रतिशत बीमाशुल्कलाई प्रदेश सरकार र पालिकाहरुले अनुदानको दिएमा कृषकले निशुल्क बीमा सेवा पाउने कम्पनीले जनाएको छ । त्यसको लागि नेकोले विभिन्न प्रदेश सरकारहरु र स्थानीय पालिकाहरुसँग सो व्यवस्था अर्थात सो मात्राको अनुदान दिन आग्रह समेत गरिसकेको छ । इन्स्योरेन्सले साउन १ गते एक कार्यक्रम गर्दै सो जानकारी गराएको हो । जसको उद्घाटन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरे । त्यस्तै, कार्यक्रममा बीमा समितिका कार्यकारी निदेशक, कृषि विभागका प्रतिनिधि, कृषक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता कम्पनीका अध्यक्ष रोहितकुमार भटराईले गरेका थिए भने अभियानको बारेमा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले प्रकाश पारे ।
प्राइम लाइफ इन्स्योरेन्समा कामु प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तमा सकिएको छ । साउन १ देखि लागू हुने गरी दाहालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबीच मर्जरको प्रक्रिया चलिरहेको छ । मर्जपछि कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भन्ने विषयमा सहमति भइनसेको बताइएको छ । मर्जपछि दाहालसँगै यूनियन लाइफका मनोज कुमार लाल कर्ण, गुराँस लाइफका विपिन कुमार लालको सीईओमा दावी रहने छ । तर तीन वटै कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्दा बाहिर गएर प्राइम लाइफका निवर्तमान सीईओ भट्टराईकै पुनः नियुक्ती हुने सक्ने अनुमान पनि धेरैले गरेका छन् ।