आधा दर्जन बढी कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै छन् ?
काठमाडौं । चालु आर्थिक वर्षमा विभिन्न ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । साउनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ७ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा कम्पनीहरु रहेका छन् । ७ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रका कम्पनीहरु रहेका छन् । जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । त्यस्तै, हाइड्रोमा सानिमा माइ र अरुण काबेली पावरले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरिसकेको छ । यता म्यान्युफ्याक्चरिङ समूह अन्तर्गतको नेपाल ल्युब आयलले लाभांश घोषणा गरि उक्त लाभांश पारित गर्नको लागि साधारण सभा समेत आव्हान गरिसकेको छ । यी कम्पनीले छुट्टा छुट्टै आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका हुन् । कुनले कति ? नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ०.७८९५ प्रतिशत भने कर प्रयोजनको लागि हुने समेत कम्पनीले खुलाएको छ । कूल लाभांशदर अघिल्लो वर्षको तुलनामा भने बढी हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बोनस र नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरण गरेको थियो । विगतका वर्षमा नगदभन्दा बोनस सेयरमा फोकस भएको कम्पनी यो पटक भने नगदमा मात्रै केन्द्रित भएको देखिन्छ । नेशनल लाईफ नेशनल लाईफ इन्स्योरेन्सले सेयरधनीलाई १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड रुपैयाँ छ । १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ । योसँगै बीमा समितिले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्न कम्पनीलाई ३७ करोड रुपैयाँ आवश्यक पर्ने देखिन्छ । एशियन लाइफ एशियन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई बीमा समितिले समेत पारित गरिसकेको छ । कम्पनीले चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५० प्रतिशत बोनसपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्ने छ । गुराँस लाइफ गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७.४४ प्रतिशत बोनस र कर वापत ०.३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बीमा कम्पनीहरुको लाभांश प्रस्तावलाई नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने छ । र, सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीमा वितरण हुने छ । सानिमा माई सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले करसहित सो मात्राको लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले कार्तिक २ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभामा जान कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने जनाएको छ । यससँगै, असोज ११ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको उक्त लाभांश पाउने छन् । अरुण काबेली पावर अरुण काबेली पावरले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कर बाहेक सो मात्राको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ छ । प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ नाघ्ने छ । हाइड्रो समूहअन्तर्गतका यी कम्पनीको प्रस्तावित बोनसलाई विद्युत नियमन आयोगले स्वीकृत तथा सम्बन्धित कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ । त्यसपछि मात्रै सम्बन्धित कम्पनीका सेयरधनीले उक्त लाभांश पाउने छन् । नेपाल ल्युब आयल नेपाल ल्युब आयलले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी असोज २८ गते वार्षिक साधारण सभा समेत बोलाइसकेको छ । कम्पनीले सो दिन बिहान साढे ११ बजे ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आफ्नो ३१औं सभा बोलाएको हो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्दै छ । यससँगै असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै सभाले पारित गरेपछि प्रस्तावित लाभांश पाउने छन् ।
प्राइम लाइफका बीमितले प्रतिहजार ८० रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा बढाएर नयाँ बोनसदर सार्वजनिक गरेको हो । नयाँ बोनसदर अनुसार कम्पनीले विभिन्न योजनामा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस तोकेको छ । जसमा ९ वर्षसम्मको ३५, १० देखि १४ वर्षसम्मको ४०, १५ देखि १९ वर्षसम्मको ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मको ५० रूपैयाँ र २५ देखि माथि अवधिको ७० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, सावधिक तथा आजीवन बीमालेखको ९ वर्ष अवधिको ३६ रुपैयाँ, १० देखि १४ वर्षको ४५ रुपैयाँ, १५ देखि १९ वर्षको ५० रुपैयाँ, २० देखि २४ वर्षको ५७ रुपैयाँ र २५ देखि माथिको ७५ रुपैयाँ बोनस निर्धारण गरिएको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ५० देखि ८० रुपैयाँसम्म बोनस दिने भएको छ । जसमध्ये १० देखि १४ वर्षको ५० रुपैयाँ, १५ देखि १९ वर्षको ५८ रुपैयाँ, २० देखि २४ वर्षको ६५ र २५ देखि माथिको ८० रुपैयाँ बोनसदर तोकिएको छ । त्यस्तै, कम्पनीले प्राइम जीवन उपहार योजना (अग्रिम भुक्तानी) मा ४२ रुपैयाँ बोनसदर तोकेको छ । जसमध्ये प्राइम जीवन उपहार योजना (सावधिक) ४० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ । यी दुई योजनाका क्रमशः १६ र १५ वर्षकाले पाउने छन् । अघिल्लो वर्षमा कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिएको थियो ।
बीमा र अनुदानले चौँरीपालक किसान उत्साहित, व्यवसायलाई लोप हुन नदिन थाले अभियान
चौतारा । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका बासिन्दाका लागि भने आम्दानीको दरिलो माध्यम बनेको छ । परम्परागतरूपमा पालिने चौँरीलाई व्यावसायिक रूप दिएपछि स्थानीयवासीले चौँरी लोप हुन नदिन अभियान नै सञ्चालन गरेका छन् । लिस्तीमाथि छगाम बगामको चौँरीखर्कमा ६० चौँरी थपिएका छन् । एशियन नेपाल र सेन्डाकले संयुक्तरूपमा चौँरीपालक किसानलाई ५३ लाख रुपैयाँ अनुदान दिएको छ । साठी चौँरीका लागि ३३ लाख रुपैयाँ र खानेपानीसहित अन्य व्यवस्थापनका लागि २० लाख रुपैयाँ अनुदान उपलब्ध भएको हो । स्थानीय निमा शेर्पाका अनुसार चौँरीबाट उत्पादित दूधजन्य सामग्रीको बजारीकरणका लागि लेकाली खर्कमै सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्साहलाई ध्यानमा राख्दै गाउँपालिकाले प्रत्येक किसानको गोठमा रहेका चौँरीको बीमा र औषधोपचारको जिम्मा लिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । चौँरीखर्कको व्यवस्थापन र उत्पादित सामग्रीको बजारीकरणका लागि स्थापना गरिएको चौँरी संरक्षण समितिले कुल आम्दानीको ६० प्रतिशत किसानलाई र ४० प्रतिशत कोषमा राखेर पुनः किसानकै लागि सेयरमा परिणत गर्ने योजना बनाएको छ । परम्परागतरूपमा चौँरीपालन गर्दै आएका जुगल गाउँपालिकाका किसान बीमाको कार्यक्रम लागू भएपछि खुसी भएका छन् । महँगो मूल्य पर्ने चौँरी मर्दा पूरै नोक्सानी व्यहोर्दै आएका किसानले अहिले बीमावापतको रकम पाउने भएका छन् । जुगल गाउँपालिकाले किसानलाई सहुलियतमा चौँरीको बीमा गरिदिएपछि चौँरीपालक किसानको सङ्ख्यासमेत बढ्न थालेको शेर्पाले बताए । चौँरीको दूधबाट नौनी, घ्यू र छुर्पी उत्पादन हुन्छ । एउटै गोठमा ५० भन्दा बढी चौँरी पाल्ने किसानको उत्पादन खरिद गर्न व्यापारी खर्कमै पुग्ने गरेका छन् । रासस