एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ५४० रुपैयाँलाई आधार मानेर गरिएको हो । र, अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । यससँगै अब इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।
आइएमई लाइफले संस्थापकबाट शतप्रतिशत पुँजी थप्ने, डाक्यो साधारण सभा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीबाट नै शतप्रतिशत पूँजी वृद्धि गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पुँजी थप गर्ने विशेष प्रस्तावसहित असोज २६ गते पाँचौं साधारणसभा आह्वान गरेको हो । इन्स्योरेन्स कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले लैनचौंर, बैङक्वेट्स, लैनचौर, काठमाडौं बिहान ११ बजे साधारण सभा बोलाएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले ५ अर्ब रूपैयाँ चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको छ । सोही बमोजिम कम्पनीको पूँजी वृद्धि गर्न संस्थापक सेयरधनीबाट हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत बराबरको सेयर पुँजी पुनः थप गर्ने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको सभाले प्रवन्धपत्र तथा नियमावलिमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोहीअनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गर्ने छ ।
तनहुँमा पशुपन्छी बीमामा किसानलाई अनुदान
तनहुँ । भेटेरिनरी अस्पतालत तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७९/०८० मा पशुधन सुरक्षाअन्तर्गत पशुपन्छी बीमा कार्यक्रमलाई प्रोत्साहन दिएको छ । कार्यालयले एक लाख ३५ हजार रुपैयाँ छ सय ६४ पशुपन्छीको २० प्रतिशत प्रिमियमका दरले ४५ लाख ४८ हजार रुपैयाँ अनुदान दिएको हो । जिल्लामा कुखुरा एक लाख २८ हजार आठ सय २२ रुपैयाँ, गाई एक हजार छ सय ९७, भैँसी एक हजार दुई सय ६२, बाख्रा दुई हजार चार सय ६८ र बङ्गुर एक हजार चार सय १४ रहेका छन् । तनहुँमा ५२ हजार छ सय १५ परिवार पशुपालनमा संलग्न हुँदै आएको कार्यालयका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रले पशुपन्छी पालन किसानका लागि बीमाङ्क ४५ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा गरिदिएको छ । ‘पशुपालन किसानमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बीमा कार्यक्रमलाई प्रोत्साहन गरिएको हो’, उनले भने, ‘बीमाका साथसाथै अनुदानका कार्यक्रम पनि ल्याइएको छ ।’ त्यसैगरी, जिल्लाका १११ वटा दुग्ध सहकारीमार्फत अनुदानमा आधारित कार्यक्रमअन्तर्गत ४१ लाख ४१ हजार तीन सय ६५ रुपैयाँ अनुदान वितरण गरेको छ । कार्यालयका अनुसार दुई लाख ३४ हजार छ सय ३६ लिटर दूध उत्पादनमा किसानलाई वितरण गरिएको हो । व्यासमा छ, शुक्लागण्डकीमा दुई बन्दीपुर, भानुमा र म्याग्देमा एक/एक वटा सहकारीमार्फत उक्त अनुदान रकम प्रदान गरेको हो । कार्यालयले किसानलाई पाडी बाच्छी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । प्रतिपाडी बाच्छीका लागि दश हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ । रासस