लघु बीमाका लागि ७ वटा कम्पनीको आवेदन

काठमाडौं । लघुबीमा कम्पनी खोल्नको लागि एकैपटक ७ वटा कम्पनीले आवेदन दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार मंगलबार ७ वटा कम्पनीले लघुबीमाको लाइसेन्स माग गरेका हुन् । ‘आज मात्रै ७ वटा कम्पनी लघुबीमाको लाइसेन्स माग्दै समितिमा आएका छन्,’ उनले विकासन्युजसँग भने । समितिले लाइसेन्सको खुलाएको ३३ दिनपछि ३ वटा जीवन र ४ वटा निर्जीवन गरी ७ वटा कम्पनीले आवेदन दिएका हुन् । जसमा नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेका छन् । यससँगै लघुबीमा कम्पनी खोल्न इच्छुकले आगामी असोज १३ गतेसम्म बीमा समितिमा आवेदन दिन सक्नेछन् । उनीहरुले सो दिन दिउँसो १२ बजेसम्म समितिको कार्यालयमा आवेदन दिन सक्ने समितिका कार्यकारी निर्देशक पौडेलले जानकारी गराए । समितिले दुर्गम क्षेत्रमा पनि बीमाको पहुँच पुर्याउन भन्दै गत भदौ १० गते लघुबीमाको आवेदन खुला गरेको थियो । जसको लागि ३५ दिनको म्याद तोकेको थियो । उक्त म्याद सकिन अब जम्मा २ दिन बाँकी छ । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुने छन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो । कुन कुन ? बीमा कम्पनीका क्रस होल्डरले लघु बीमामा लगानी गर्न नपाउने, सर्वसाधारणलाई ३० प्रतिशत सेयर बीमा समितिले खुलायो लघुबीमाको लाइसेन्स, बढीमा ७ वटाले पाउने, ७५ करोडको पुँजी हुनै पर्ने

एनएलजी इन्स्योरेन्सको सीईओमा पुन: पन्त

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त दोहोरिने भएका छन् । बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो । कम्पनीको संचालक समितिको बैठकले पन्तलाई पुन: सीईओ पदमा दोहोर्याउने निर्णय गरी  स्वीकृतकाे लागि बीमा समितिमा पठाएकाे थियाे । उनको दोस्रो कार्यकाल आगामी असोज १९ गतेबाट लागू हुनेछ । ३३ वर्षदेखि बीमा क्षेत्रमा कार्यरत पन्त २०७५ असाेज १८ गतेदेखि एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा छन् ।   त्यसअघि सोही कम्पनीमा करिव डेढ वर्ष कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । बीमा क्षेत्रमा विशेष याेगदान गरेबापत गत वर्ष संविधान दिवसका अवसरमा सरकारले पन्तलाई सुकीर्तिमय राष्ट्रदिप पदकबाट सम्मानित गर्ने गरेकाे थियाे ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जरमा जाने प्रस्ताव पारित, एकीकृत कारोबारलाई खुल्यो बाटो

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी नेपाल एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । सानिमा जनरल इन्स्योरेन्सको मंगलबार बसेको विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यससँगै अब दुई कम्पनीलाई एकीकृत कारोबार गर्नको लागि बाटो खुला भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा सम्पन्न सभाले मर्जरको प्रस्तावसहित कम्पनीको चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिको अनुमोदन गर्नुका साथै मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, आजै सम्पन्न जनरल इन्स्योरेन्स कम्पनी नेपालको विशेष साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको छ । उक्त सभाले कम्पनीको सभाले मर्जपछि कम्पनीको नाम सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी हुने प्रस्तावलाई समेत पारित गरेको छ ।