एशियन लाइफको १५.२६ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी पौने तीन अर्ब नाघ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । यससँगै कम्पनीका सेयरधनीले आर्थिक वर्ष २०७७/०७८ काे नाफाबाट चुक्ता पुँजीकाे १४.५० प्रतिशत बाेनस सेयर पाउने भएका छन् । असाेज ४ गते बुक क्लाेज भएकाे कम्पनीकाे लाभांश असाेज ३ गतेसम्म कायम सेयरधनीले मात्रै पाउने छन् । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड रुपैयाँ छ । १४.५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ । २०६४ साल चैत २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा ३२ अर्ब रुपैयाँ जीवन बीमा कोष र करिब ३० अर्ब रुपैयाँ लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी, कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल २ अर्ब २३ लाख रुपैयाँ प्रथम बीमाशुल्क र ६ अर्ब ९६ करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले देशभर ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।
युनाइटेड इन्स्योरेन्सले माग्यो डेपुटी सीइओको लागि आवेदन
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो । कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा मास्टर डिग्री पुरा गरेको हुनुपर्नेछ । यस्तै, आवेदनरकर्ताले बैंकिङ वा बीमा क्षेत्रको व्यवस्थापकिय तहमा रहेर कम्तीमा पनि पनि ५ वर्ष काम गरेको हुनपर्नेछ । कम्पनीले अक्टोबर १२ अर्थात असोज २६ गतेसम्म डेपुटी सीइओको लागि आवेदन दिन सकिने जनाएको छ ।
लघु बीमाको लाइसेन्स माग गर्दै ३१ कम्पनीको निवेदन, जीवन र निर्जीवन कति ? (सूचीसहित)
काठमाडौं । लघु बीमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बीमा समितिमा ३१ कम्पनीले निवेदन दिएका छन् । बीमा समितिमा अन्तिम दिन अर्थात असोज १३ गतेसम्ममा परेको आवेदन अनुसार जीवन र निर्जीवन गरी ३१ कम्पनी इच्छुक देखिएका हुन् । समितिका अनुसार निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ । म्याद सकिनुभन्दा एक दिनअघिसम्ममा १० वटा कम्पनीले आवेदन दिएका थिए भने अन्तिम दिनमा थप २१ वटा कम्पनीले आवेदन दिएको समितिले जानकारी गराएको छ । आवेदन दिने कम्पनीहरुमध्ये निर्जीवन तर्फका नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी गरी १६ वटा रहेका छन् । त्यस्तै, जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनी इच्छुक देखिएका छन् । बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेकाे थियाे । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुनेछन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोहि व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको हो ।