जीवन बीमा कम्पनीले उठाए ११ अर्ब २७ करोड प्रथम बीमाशुल्क, ९ कम्पनीबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिरसम्ममा ११ अर्ब २७ करोड ८ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमै सो मात्राको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणका अनुसार १९ वटा कम्पनीहरुले बीमालेख बिक्रीबाट सो मात्राको प्रथम प्रिमियम उठाउन सफल भएका छन् । कम्पनीहरुले मंसिरमा मात्रै २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ उठाएका प्राधिकरणले जनाएको छ । मंसिरसम्ममा उठेको प्रथम बीमाशुल्कमध्ये दुई कम्पनीले अर्ब बढी उठाएका छन् । जसमा नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् । सर्वाधिक प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्सको नै अग्रता रहेको छ । बीमा प्राधिकरणका अनुसार इन्स्योरेन्सले चालु आवको ५ महिनामा २ अर्ब १४ करोड रुपैयाँ बराबरको उक्त बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, दोश्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले मंसिरसम्ममा प्रथम बीमालेखबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । समीक्षा अवधिमा सन नेपाललाई पछि पार्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन अघि बढेको छ । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा तेश्रो स्थानमा रहेको सन नेपाल हाल चौथो स्थानमा झरेको छ । हाल तेश्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले ८३ करोड ५९ लाख र चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ प्रिमियम उठाएका छन् । त्यसपछि सिटिजन लाइफ, सूर्या लाइफ, रिलायबल नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्स क्रमशः पाँचौ, छैटौं, सातौं र आठौं स्थानमा नै छन् । त्यस्तै, यूनियन, मेट र ज्योति लाइफबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । मंसिरसम्ममा प्रथम बीमाशुल्क संकलन गर्नेका आधारमा युनियन, मेटलाइफ र ज्योति लाइफ इन्स्योरेन्स क्रमशः ९औं, १०औं र ११औं स्थानमा छन् । कार्त्तिमा भने ज्योति लाइफ ९औं स्थानमा थियो । कार्त्तिकमा १२ र १३ औं स्थानमा रहेका आइएमई लाइफ र सानीमा लाइफ मंसिरमा पनि सोही स्थानमा रहेका छन् । जसमध्ये आइएमई लाइफले ४२ करोड ७२ लाख र सानीमा लाइफले ३२ करोड ७९ लाख रुपैयाँ प्रथम बीमाशुल्क मंसिरसम्ममा संकलन गरेका छन् । प्राइमलाई उछिन्दै रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थान अघि बढेका छन् । प्रथम बीमाशुल्कको आधारमा कार्त्तिकमा १४औं स्थानमा रहेको प्राइम मंसिरमा १६औं स्थानमा झरेको छ । मंसिरसम्ममा रिलायन्सले ३१ करोड ७९ लाख र राष्ट्रिय बीमा संस्थानले ३१ करोड ५६ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै, प्राइमले ३१ करोड १० लाख, प्रभुले २२ करोड ७६ लाख र महालक्ष्मीले १८ करोड ७५ लाख रुपैयाँ संकलन गरेका छन् । यता गुराँस लाइफले ८ करोड ७४ लाख रुपैयाँ बराबरको प्रथम बीमाशुल्क आर्जन गरेको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा कम हो । कम्पनीले मंसिरमा मात्रै १ करोड ५० लाख रुपैयाँ बराबरको प्रिमियम प्रथम बीमाशुल्कबाट संकलन गरेको छ । हाल साविकको ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स एकआपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु गरिसकेका छन् । यससँगै जीवन बीमा कम्पनीहरुको संख्या घटेर १८ वटामा सीमित भएको छ ।

बीमा प्राधिकरणले घटाएर पठायाे आइएमई जनरलकाे लाभांश

काठमाडाौं । आइएमई जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरेको लाभांश संशोधन गरेर पठाएको हो । संशोधन भएपछि आइएमई जनरलको लाभांश ६.३२ भएको छ । संशोधन हुनअघि कम्पनीको लाभांश ६.८४ भएको छ । उक्त लाभांश कम्पनीको २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।  

सन नेपाल लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न, ५ शाखाका अभिकर्तालाई तालिम

काठमाडौं । सन नेपाल लाइफले विभिन्न जिल्लामा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गत १३ गतेदेखि शनिबारसम्म बित्र्तामोड, इलाम, बिराटनगर, इटहरी र धरान शाखा कार्यालयहरुमा अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । जनमानसमा बिमाको महत्व, बिमा दावि भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनिका महाप्रबन्धक कमलराज गौतमद्धारा प्रदान गरीएको थियो । कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन समेत गर्न गइरहेको छ ।