तुल्सीपुरमा महालक्ष्मी लाईफको महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले दाङको तुल्सीपुरमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुस १२ गते इन्दु आचार्यको अध्यक्षतामा संचालन गरेकाे कार्यक्रममा स्थानिय जनप्रतिनिधि, महिला तथा विभिन्न संघ संस्थामा आवद्ध ८० भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले देशकाे विकासको लागि महिलाहरुलाई रोजगारी र आय आर्जनको कार्यमा सक्रिय गराउनु आवश्यक रहेको बताएका थिए । समाजमा पिछडीएका र कमजोर अवस्थामा रहेका महिलाहरुलाई राज्यले पनि अगाडी बढाउने नीति लिएकोले नाफामूलक संघ संस्थाले त्यस्मा सहयोग र सहकार्य गर्नु पर्ने आवश्यकता रहेको उनकाे भनाइ थियाे । तुल्सिपुर कार्यालय प्रमुख टेकम धितालले संचालन गरेकाे कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत प्रशान्तराज धमलाले महिला सशक्तिकरणमा महालक्ष्मी लाईफले गर्ने कार्यक्रमको विषयमा प्रकाश जानकारी दिएका थिए ।  

बीमाका सीईओलाई प्राधिकरणको निर्देशन : शङ्कास्पद कारोबार रोक्न कानूनको बाटो लाग्नुस्, तर्कवितर्क नगर्नुस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुलाई बीमा क्षेत्रको शङ्कास्पद कारोबार रोक्न कानून बमोजिम लाग्न निर्देशन दिएका छन् । सिलवालले शङ्कास्पद कारोबार नियन्त्रणका लागि तर्कवितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम गर्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले बीमा क्षेत्रमा शङ्कास्पद कारोवार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोवार गर्न, शङ्कास्पद लगानीका बारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम् जवाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । पुस १३ गते काठमाडौंमा आयोजित सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर गोएएमएल बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै उनले सो निर्देशन दिएका हुन् । कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तीय जानकारी इकाईका प्रमुख दीर्घ बहादुर रावलले कानूनी र आर्थिकरूपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिमयुक्त हुने भएकाले बीमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोवारमा शङ्का लाग्ने वित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बीमा क्षेत्रमा शङ्कास्पद लगानी भित्रिन नदिनका लागि बीमा कम्पनीहरूले गर्नुपर्ने कार्यहरू सम्बन्धी प्रस्तुती गरेका थिए । उक्त कार्यक्रम बीमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्नका लागि सबै बीमा कम्पनीहरूले गोएएमएल सफ्टवेयर कार्यान्वयनमा ल्याई शङ्कास्पद कारोवारहरूका बारेमा अनिवर्यारूपमा समयमा नै वित्तीय जानकारी इकाई (एफआईयू) मा पठाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले आयोजना गरिएको हो । बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गरेका कार्यक्रममा नेपाल जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल र नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७.३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।