नेपाल लाइफले दियो ८ सय भन्दा बढी अभिकर्तालाई अन्तराष्ट्रिय प्रशिक्षण
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाएै प्रशिक्षण गरेको छ । कम्पनीले देशभरिका ८ सयभन्दा बढी अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई अन्तराष्ट्रिय प्रशिक्षकबाट प्रशिक्षण गराएको हो । कम्पनीले पुस २३ गते एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम प्रदान गरेको हो । नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार उपस्थित थिए । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनको भनाइ छ । असोज मसान्त सम्ममा कम्पनीको लगानी १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ रहेको छ । यस्तै, कम्पनीको सेयरधनी कोष ११ अर्ब ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । कम्पनीमा २ लाख १२ हजार ३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत् सेवा प्रदान गरिरहेको छ । कम्पनीले हालसम्म १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लख १५ हजार ४२० बीमालेख जारी गरिएको छ ।
सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठले माघ १५ गते, आइतबार अलोफ्ट, काठमाडौं छायाँ कम्पलेक्समा अपरान्ह ५ बजे बोलाएको हो । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । कम्पनीको सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक नियुक्त पनि गर्नेछ ।
प्राइम लाइफको साधारणसभा आज, १३.६८ प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको वार्षिक साधारण सभा आज पुस २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे हुने भएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीको हालको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । सभाले बोनस सेयर वितरण पश्चात् हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्नेछ । कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समूहको सेयर लगानी अनुपात क्रमशः ६०ः४० रहेकोमा परिवर्तन गरी ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्जर गर्ने सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि पुस ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ७ गतेसम्म कारोबार भई कायम सेयरधनीले मात्रै लाभांश प्राप्त गर्न सक्ने र सभामा भाग लिन सक्नेछन् ।