मनोहर दास मूलको अध्यक्षतामा यस्तो बन्यो सगरमाथा लुम्बिनीको सञ्चालक समिति

काठमाडौं । दुई निर्जीवन बीमा कम्पनी मर्जपश्चात बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति गठन भएको छ । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्नुअघि सञ्चालक समिति गठन गरेका हुन् । सोमबार बिहान बसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले नयाँ सञ्चालक समिति गठन गरेको हो । जसको अध्यक्षमा मनोहर दास मूल नियुक्त भएका छन् । उनी साविकको लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष समेत रहेका थिए । अध्यक्ष मूलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । यस्तै, सञ्चालकमा सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणवर्द्धने, गजेन्द्रलाल श्रेष्ठ, अरुण राज श्रेष्ठ र कमल भट्टराई नियुक्त भएका छन् । जसमध्ये सिद्धार्थ मनी राजभण्डारी, अजिथ आर गुणावर्दने र गजेन्द्रलाल श्रेष्ठ सगरमाथा इन्स्योरेन्सका सञ्चालक हुन् भने अरुण राज श्रेष्ठ र कमल भट्टराई लुम्बिनी जनरल इन्स्योरेन्सका हुन् । सञ्चालक अजिथ गुणवर्द्धनेले साविकको सगरमाथा इन्स्योरेन्समा श्रीलंकाको सेलिन्को इन्स्योरेन्स पिएलसीका संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए । त्यस्तै, नवनियुक्त सञ्चालकमध्ये गजेन्द्र लाल श्रेष्ठ र कमल भटृराईले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने भएका छन् भने बाँकीले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने छन् ।

सफलताको नयाँ अध्याय शुरु गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स

काठमाडौं । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आज फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । एक आपसमा मर्जर भएका दुई कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट आजदेखि औपचारिक रुपमा एकीकृत कारोबार शुरु गर्ने भएका हुन् । दुई कम्पनी १०० बराबर ८० को सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मा मर्ज भएका हुन् । अर्थात लुम्बिनी जनरल इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेले सगरमाथा इन्स्योरेन्सको ८० कित्ता सेयर पाउने छन् । साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरण पश्चात स्वाप रेसियो गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ । त्यसैगरी, मर्जर पछि बनेको नयाँ कम्पनीको संचालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मूल र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका सीईओ चंकी क्षेत्री नै रहने छन् । संचालक समितिमा दुवै कम्पनीको तर्फबाट ३/३ जना र एक जना स्वतन्त्र सञ्चालक रहने छन् । मर्जपछि बनेको नयाँ कम्पनीले दुबै कम्पनीका ग्राहकहरूलाई नयाँ नयाँ योजनाहरु र गुणस्तरीय सेवाहरू प्रदान गर्ने उद्देश्य राखेको छ । साथै, विकास र सफलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीको प्रतिवद्धता छ । निर्जीवन बीमा क्षेत्रमा सगरमाथा र लुम्बिनीबीचको मर्जर चौथो हो । तर समग्र बीमा क्षेत्रमा भने यो पाँचौ मर्जर हो । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न निर्देशन दिएसँगै कम्पनीहरुले धमाधम मर्जरको बाटो समाएका हुन् । यससँगै दोश्रो बजारमा दुबै कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्जले फागुन २९ गतेदेखि १५ दिनसम्मको लागि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिदिएको हो ।

९ वटा पोलिसीमध्ये सावधिक जीवन बीमामा आकर्षित हुँदै बीमितहरु, कुनबाट कति उठ्यो प्रिमियम ?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारका बीमालेखहरु सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले हालसम्ममा ९ वटा छुट्टा छुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका हुन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी साविधक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन् । जसमध्ये सबैभन्दा बढी प्रिमियम सावधिक जीवन बीमाबाट उठिरहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । माघ महिनासम्ममा मात्रै ७ वटा प्रदेशबाट ३२ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट संकलन भएका छन् । समीक्षा अवधिमा २२ लाख २१ हजार वटा पोलिसी बिक्री भएका छन् । उक्त बीमाशुल्क पुस महिनाको तुलनामा बढी हो । गत पुसमा मात्रै कम्पनीहरुले सावधिक जीवन बीमाबाट २८ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए । ७ वटा प्रदेशमध्ये पनि सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको छ । ९ लाख ८३ हजार वटा पोलिसी बिक्री भएको यो प्रदेशबाट मात्रै १७ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख बिक्रीबाट लुम्बिनी प्रदेशमा ४ अर्ब, गण्डकी ३ अर्ब २३ करोड, प्रदेश १ (कोशी) मा ३ अर्ब ८ करोड, मधेशमा २ अर्ब, सुदुरपश्चिममा एक अर्ब ३८ करोड र कर्णाली एक अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । त्यसैगरी, सावधिक जीवन बीमालेखपछि सर्वाधिक बिक्री हुनेमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख रहेका छन् । यो बीमालेखबाट कम्पनीहरुले माघसम्ममा २ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम उठेको छ । त्यस्तै, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । त्यसपछि रुपान्तरित सावधिक जीवन बीमामा बीमितहरु आकर्षित भएका छन् । जसबाट कम्पनीहरुले ११ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ । आजिवन जीवन बीमालेख बिक्रीबाट कम्पनीहरुले कूल २ अर्ब ६८ करोड, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट १ अर्ब ९६ करोड, लघु जीवन बीमाबाट १ अर्ब ४३ करोड, म्यादि जीवन बीमाबाट ७७ करोड ६७ लाख र एकल बीमाशुल्क जीवन बीमाबाट ६८ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएका छन् । जुन चालु आवको ७ महिनाको अवधिमा संकलन भएका हुन् । समग्रमा कम्पनीहरुले सात वटै प्रदेशमा बिक्री भएका सबै बीमालेखहरुबाट कूल ८३ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी अर्थात ३८ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।