सानिमा जिआईसीको सेयर संरचना परिवर्तन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीले संस्थापक समुहको सेयर सर्वसाधारण समुहमा परिमार्जन गरेको हो । कम्पनीले संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गरेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिकामा संस्थापक सेयर स्वामित्व न्युनतम ५१ प्रतिशत हुने गरी बाँकि सेयर सर्वसाधारणमा परिणत गर्न सकिने व्यवस्था बमोजिम गरेको कम्पनीले जनाएको छ । हाल कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । अब संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम रहनेछ । कम्पनीको गत असोज ११ गते सम्पन्न विशेष साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्ने प्रस्ताव पारित गरिसकेको छ । कम्पनी रजिष्ट्रारबाट प्रबन्धपत्र र नियमावली संशोधन भएको तथा नेपाल बीमा प्राधिकरणबाट समेत सैद्धान्तिक स्वीकृति पाएको कम्पनीले जनाएके छ । . यदि संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भए ७ दिन भित्र जानकारी गराउन आग्रह गरेको छ ।

लाभांश पारित गर्न एशियन लाईफले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एशियन लाईफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत्र २३ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा बैशाख १८ गते, होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे बोलाएको हो । कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बैशाख ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ७ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले सभामा सहभागि भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।

बीमा सरेण्डर घट्यो, सन नेपालको सर्वाधिक घट्दा सूर्यज्योति लाइफको बढ्यो

काठमाडौं । माघको तुलनामा फागुनमा बीमा सरेण्डर गर्नेको संख्या घट्दो क्रममा रहेको छ । माघमा साढे १८ प्रतिशतले बीमा सरेण्डर अर्थात् पोलिसी त्याग गरेका हुन् । गत माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका थिए । तर, फागुनमा १८.४६ प्रतिशत घटेर १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको बीमा सरेण्डर गरेका हुन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार विभिन्न १० वटा बीमा कम्पनीको बीमालेख सरेण्डर दर घटेको छ । जसमध्ये सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको ६६ प्रतिशतले बीमालेख सरेण्डर घटेको हो । कम्पनीको माघमा २१ करोड ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेण्डर गरिएको थियो भने फागुनमा ७ करोड २५ लाख रुपैयाँमा झरेको हो । यस्तै, सन नेपाल लाइफको ५६.२१ प्रतिशत घटेर ४४ लाख, लाइफ इन्स्योरेन्स कर्पाेरेसन (एलआईसी) नेपालको ४८.३४ प्रतिशत घटेर १५ करोड ७३ लाख रुपैयाँ, नेशनल लाइफको ४८ प्रतिशत घटेर ७ करोड ६७ लाख, युनियन लाइफको ३६.४९ प्रतिशत घटेर १ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यस्तै, महालक्ष्मी लाइफको १९.४५ प्रतिशत घटेर ४० लाख, प्रभु लाइफको १९.१२ प्रतिशत घटेर ५० लाख, सिटिजन लाइफको १४.५२ प्रतिशत घटेर ५६ लाख, रिलायन्स लाइफको ३.९८ प्रतिशत घटेर ९५ लाख र नेपाल लाइफको १० प्रतिशत घटेर ३४ करोड २० लाख रुपैयाँमा झरेको छ । प्राधिकरणको तथ्याङ्क अनुसार राष्ट्रिय बीमा संस्थान, सुर्यज्योति लाइफ, मेट लाइफ, प्राइम लाइफ, गुराँस लाइफ, सानीमा लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफको बीमालेख सरेण्डर दर भने बढेको छ ।