बीमा रकम ठगेको आरोपमा इन्स्योरेन्सका कर्मचारी पक्राउ
काठमाडौं । बीमा रकम ठग्न सघाएको आरोपमा एक बीमा कम्पनीका कर्मचारी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको बीमा रकम ठग्न सघाएको आरोपमा बीमा कम्पनीका कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सूर्यज्याती लाइफ इन्स्योरेन्सका जुनियर अधिकृत रहेका ३० वर्षिय उमेश बुढाथोकी रहेको अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपनिरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘उनलाई हिजो ज्ञानेश्वरबाट पक्राउ गरिएको हो, हिजो ढिला भएर आज सार्वजनिक गरेका हौं,’ उनले भने । अनुसन्धान कार्यालयले गएको शुक्रबार यसमा संलग्न वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारीसहित ७ जनालाई सार्वजनिक गरिसकेको छ ।
बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्दै आइजीआई प्रुडेन्सियल, सीईओ र अध्यक्ष दुबै आइएमईको
काठमाडौं । मर्जर प्रकृयामा रहेका आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबारको लागि अन्तिम स्वीकृति पाएका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिई एकीकृत कारोबार गर्न बाटो खुला गरि दिएको हो । यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट आगामी बैशाख अन्तिम सातादेखि एकीकृत कारोबार शुरू गर्ने योजना बनाएको कम्पनी उच्च स्रोतले बताएको छ । ‘हाम्रो योजना अनुसार सबै सरकारी काम समयमै सकिएमा बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्छौं,’ उच्च स्रोतले विकासन्युजसँग भन्यो । बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएको कम्पनीले अब कम्पनी रजिष्टार र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृत पाउनु पर्ने हुन्छ । मर्जरसम्बन्धी व्यवस्थाअनुसार कम्पनीले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकीकृत कारोबार गर्नु पर्छ । दुई कम्पनीबीच भएको सहमति अनुसार मर्जरपछि बन्ने कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सका हुने छन् । यससँगै नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । साथै, कम्पनीले कर्मचारी समायोजन पनि बराबरी हैसियतमा गर्ने भएका छन् । यससँगै मर्जरपछि बनेको आइजीआई प्रुडेन्सियल पुँजीसँगै प्रिमियम, नाफा लगायतका अधिकांश सूचकमा पहिलो निर्जीवन बीमा कम्पनी बन्ने स्रोतको दावी छ । ‘आगामी वर्षमा हामी औपचारिक रुपमा नम्बर वान कम्पनी हुने छौं । मर्जपछि कम्पनीको व्यवसाय, सेवा सुविधा थप विस्तार गरी सेयरधनीलाई उचित प्रतिफल वितरण गर्ने हाम्रो योजना छ,’ स्रोतले भन्यो । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने कम्पनीको विश्वास छ । नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका हुन् । क्रसहोल्डिङ रहेका यी दुई निर्जीवन बीमा कम्पनीले छोटो समयमै मर्जरको प्रकृया सम्पन्न गरिसकेका छन् । र, मर्जर शुरु गरेको तीन महिनाभित्रमा कम्पनीले एकीकृत कारोबार समेत गरिसक्ने छ । सम्बन्धित समाचार सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक
आइएमई पेबाट सजिलै आइएमई लाईफको बीमा पोलिसी नविकरण गर्न सकिने
काठमाडौं । आइएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नविकरण गर्न सकिने भएको छ । सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’ मा गई ‘आइएमई लाईफ नविकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नविकरण गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उदेश्यका साथ उपलब्ध गराएको जनाएको छ ।