सानिमा बैंकको खातावाली अधिकारीले पाइन् तीन लाख रुपैयाँ
काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राम माया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेका हुन् । राम माया अधिकारीले सानिमा बैंकको धादिङबेसी शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा, ३ लाख रुपैयाँसम्मको १३ घातक रोगको उपचार बीमा, १० हजार रुपैयाँसम्मको ओपिडि भुक्तानी शुल्क सहितको ५० हजार रुपैयाँसम्मको औषधी उपचार बीमा, ५० हजार रुपैयाँको आवधिक जीवन बीमा र ५ हजार रुपैयाँको वार्षिक स्वास्थ्य परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ । सानिमा बंैकले देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटीएम सञ्चालनमा ल्याएको छ ।
नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न, एमडिआरटी गराउने
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सनिबार दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एमडिआरटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसंग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको छ । सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीज्यूले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए । सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने छ । कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अनुसार यो कार्यक्रम काठमाडौं, नेपालगंज, धनगढी, पोखरामा सम्पन्न गरीसकेको र यसैको निरन्तरता अनुसार आज दमकमा गर्न लागिएको जानकारी गराएका थिए । कम्पनीका दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले संचालन गरेको सो समारोहमा समय भन्दा अगावै एमडिआरटीको लक्ष्य पुरा गरी सकेको दमक शाखा अन्तर्गतका अभिकर्ता रिता राई शेर्मा तथा उर्लावारी शाखाका अभिकर्ता एलिशा आले मगरलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान गरेका थिए । कार्यक्रममा सहभागि अभिकर्ताहरुले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न आजको तालिम सार्थक रहेको प्रतिक्रिया व्यक्त गरेका थिए भने कार्यक्रममा सम्मानित भएका अभिकर्ताहरुले आफ्नै थलोमा आई प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए । कार्यक्रम कम्पनीको कोशी प्रदेशका प्रदेश प्रमुख नरेन्द्र कुमार बाछाना राई को सभापतित्वमा सम्पन्न भएको थियो ।
एकैपटक १५ वटा बीमा योजना ल्याउँदै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कुन कुन ?
काठमाडौं । दुई कम्पनी मर्जपछि बन्ने ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड’ ले एकैपटक १५ वटा बीमा योजनाहरु (प्रोडक्ट) सार्वजनिक गर्ने भएको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भई बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबारपछि १५ वटा बीमा योजना बजारमा ल्याउने भएको हो । कम्पनीले सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डबल धमाका बीमा, सबैको जिवन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनीलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजना बजारमा ल्याउन लागेको हो । जुन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइसकेको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार दुबै इन्स्योरेन्सका विज्ञ कर्मचारीहरुले गरेको अध्ययन विश्लेषणपछि १५ वटा योजनाहरु बिक्री वितरणको लागि छनोट भई प्राधिकरणबाट समेत स्वीकृत भएको हो । इन्स्योरेन्सले नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी उक्त योजनाहरु बजारमा बिक्री गर्न लागेको हो । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स असारभित्रै मर्ज हुने भएका छन् । र, एकीकृत कारोबार लगत्तै उक्त योजनाहरु बजारमा बिक्री गर्ने छन् ।