दिगो निर्माण सामाग्रीको खोजी र गोर्खा इको प्यानलकाे विकास
लेखक संसार अहिले दिगो निर्माण सामाग्रीको खोजीमा छ । साथै, उर्जा किफायती, वातावरणमैत्री, प्राकृतिक श्रोतसाधनको विनाश नहुने गरी बनाइएको निर्माण सामाग्रीको खोजीमा संसार छ । यही विषयलाई मध्यनजर गरी साउण्ड प्रुुफ, फायर प्रुफ, कम तौल भएको (हलुका), वातावरण मैत्री, टिकाउ, ओस प्रतिरोधि, कम खर्चिलो, कन्सिल वायरिङ गर्न सकिने, किला ठोक्न मिल्ने, किचेन तथा बाथरुम टायल सजिलै टाँस्न मिल्ने खोजी भइरहेको हुन्छ । संसारमा विकास भइरहेका धेरै बैकल्पिक निर्माण समाग्रीहरुमध्येको एक हो, गोर्खा इको प्यानल । सन् २०११ देखि बजार र उद्योगको अनुसन्धान गरी नेपाली बजारमा ल्याइएको निर्माण सामाग्री गोर्खा इको प्यानल हो । भूकम्पले ध्वस्त संरचनाको पुननिर्माण यथाशिघ्र होस् भन्ने चाहनाकासाथ गोर्खा इको प्यानलले इको प्यानलको उत्पादन गर्दै आएको हो । गोर्खा इको प्यानल भवन संरचना निर्माणमा प्रयोग हुने प्रि–फेब्रिकेटेट (छोटकरीमा प्रि–फ्याब) प्रविधिमा आधारित इको प्यानल हो । कुनै पनि स्थायी वा अस्थायी संरचना निर्माण गर्दा बाहिरी तथा भित्री (पार्टेशन) वालका लागि गारोका रुपमा गोर्खा इको प्यानलको प्रयोग गर्न सकिने उत्पादन हो । बहराइनको अल खाजा कम्पनीसँगको संयुक्त लगानीमा सन् २०१४ बाट संचालनमा आएको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल (आईजीडीएन) प्रालिले नेपालमै पहिलोपटक इको प्यानलको उत्पादन गर्न थालेको हो । यस प्यानलले अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ’ समेत पाइसकेको छ । शहरी विकास विभागबाट यसले स्थायी घरमा प्रयोग गर्न मिल्ने भनी स्वीकृतिसमेत पाइसकेको छ । त्यस्तै, स्वास्थ्य मन्त्रालयको सम्बन्धित निकायबाट समेत स्वास्थ्य संस्था निर्माणमा समेत प्रयोग गर्न सकिने भनी यस प्यानललाई अनुमति प्रदान गएिको छ । प्यानलको गुणस्तर कायम गर्नका लागि पुल्चोक इञ्जिनियरिङ कलेजसँगको सहकार्यमा सह–अनुसन्धान तथा ख्वप कलेज, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुबाट पनि निरन्तर अनुसन्धान गरिँदै आएको छ । विशेषताहरु गोर्खा इको प्यानलको आकार ठूलो भएको हुँदा निर्माण अवधि छोटो हुने, प्यानलको सर्फेस स्मुथ रहेको हुँदा प्लाष्टर गर्नु नपर्ने, जडान गर्न सजिलो, कम खर्चिलो (मूल्य प्रति वर्गफिट २५० देखि ४५० रुपैयाँसम्म छ), भुकम्प प्रतिरोधी छन् । वास्तवमा यही नै गोर्खा इको प्यानलका विशेषताहरु हुन् । गोर्खा इको प्यानल हलुका तौल भएको एस्वेष्ट्सरहित् क्याल्सियम सिलिकेट बोर्ड (फेस बोर्ड), वालुवा, सिमेन्ट, इ.पि.एस. (चलन चल्तीको भाषामा थर्मोकोल) लगायतका कच्चा पदार्थको मिश्रणबाट बनेको हुन्छ । यी कच्चा पदार्थको प्रयोगका कारण गोर्खा इको प्यानलमा न्वाइज इन्सुलेशन (साउन्ड प्रुफ), फायर फ्रुप (चाँडै आगोले नसमात्ने), वातावरणमैत्री लगायतका विशेषता छन् । ताप तथा ओसको असर पनि थेग्ने हुँदा यसको प्रयोगबाट बनाइएका कोठा गर्मीमा शितल र जाडोमा न्यानो हुन्छ । गोर्खा इको प्यानल इँटा जोडाइबाट बनाइने परम्परागत गारोको विकल्प हो । २० देखि ३० तलासम्मको आवासीय भवन, व्यापारिक कम्प्लेक्स, विद्यालय, स्वास्थ्य संस्था आदिको स्थायी तथा अस्थायी संरचना निर्माणमा यसको प्रयोग गर्न सकिन्छ । हालसम्म यो एक हजारभन्दा बढी विद्यालय, एक सयभन्दा बढी स्वास्थ्य संस्था, कयौं व्यापारिक तथा व्यक्तिगत भवनदेखि लिएर नयाँ राष्ट्रपति कार्यालयमा समेत यो प्यानल प्रयोग गरिएको छ । गोर्खा इको प्यानलको स्ट्याण्डर्ड साइज २ फिट चौडाई तथा ७.५ फिट लम्बाईमा हुन्छ । मोटाई ५० एमएमदेखि १८० एमएमसम्ममा उपलब्ध छ । ‘टङ्ग एण्ड ग्रुभ’ आकारले ‘लक’ हुने भएकोले यसमा ज्वाइन्ट बलियो हुन्छ । उक्त ग्रुभमा विशेष प्रकारको एडहेसिभ सिमेन्ट प्रयोग गरी यसलाई जडान गरिन्छ । हेर्दा गह्रुँगो देखिए पनि यो प्यानलमा प्रयोग हुने थर्मकोलले गर्दा इँटाको गारोभन्दा तीन गुणा कम तौलको हुन्छ, जसले गर्दा गोर्खा इको प्यानले बनाइएको घर परम्परागत गारो लगाइएकोभन्दा भूकम्पबाट बढी सुरक्षित छ । वातावरणमैत्री संसारभर नै वातावरण पदूषण चिन्ताको विषय बनिरहँंदा गोर्खा इको प्यानलका सामानहरु वातावरणमैत्री छन् । उत्पादनदेखि लिएर यसले कुनै पनि क्रममा वातावरणलाई नकारात्मक प्रभाव पार्ने काम गर्दैन । साथसाथै यो उर्जा किफायती पनि छ । उर्जा किफायती गोर्खा इको प्यालन उर्जा किफायती छ । यसले उर्जा विनाश हुनबाट जोगाउँंछ अर्थात् यसको उत्पादनमा उर्जा खर्च हुँंदैन । साथसाथै यसको उत्पादन गर्दा प्राकृतिक श्रोतसाधनको विनाश हुँंदैन न त प्रदूषित नै पार्छ वातावरणलाई । किनकि यसले कुनै पनि वातावरण प्रदूषण हुने गरी केही पनि वेष्टहरु निकाल्दैन । भूकम्प प्रतिरोधी हलुका निर्माण सामाग्रीको रुपमा रहेको गोर्खा इको प्यानल भूकम्पप्रतिरोधी छ । यस अर्थमा विद्यालयका विद्यार्थी सुरक्षित हुन्छन् । गएका भूकम्पहरुमा विद्यालय भत्कँंदा धेरै विद्यार्थीको मृत्युसमेत भएको थियो । साथै विद्यालयमा बार लगाइएका गारो तथा पर्खालहरु भत्कँंदा पनि धेरै क्षति पुगेको थियो । तर भूकम्पपतिरोधी हलुका गोर्खा इको प्यानलको प्रयोगमा यो समस्या आउँंदैन । कताकता प्रयोग भए ? मुलुककै उच्चपदस्थ व्यक्तित्व राष्ट्रपति कार्यालयदेखि लिएर गाउँंगाउँंका जनताका घरहरु पनि गोर्खा इको प्यानलबाट बनेका छन् । हलुका निर्माण सामाग्रीको रुपमा रहेको निर्माण सामाग्री भएका कारण गाउँंठाउँंमा ढुवानी गर्न सहज भएकाले पनि गोर्खा इको प्यानलको माग वढ्दो छ । राष्ट्रपतिको कार्यालयदेखि लिएर जनताको घरसम्म बने पनि गोर्खा इको प्यानल विद्यालय भबन निर्माणमा पनि अति उपयुक्त ठहरिएको छ । निजी तथा सकारी घरदेखि लिएर थुप्रै विद्यालय भबन पनि गोर्खा इको प्यानलको प्रयोगबाट बनिसकेका छन र बन्दैछन् पनि ।
भारतको ट्रक बंगलादेश जान पाउछ भने नेपालको किन पाउदैन ?
अध्यक्ष, सार्क चेम्बर अफ कमर्श एन्ड इण्डस्ट्रिज मैले सुनेको छु ‘सार्क इज डेड’ । तर म त्यो विचारसंग सहमत छैन । किनभने मैले सार्कलाई धेरै नजिकबाट हेरेको छु । जब भारत र पाकिस्तानबीच तनाव बढ्यो र युद्ध हुने अवस्था पुगेको थियो, त्यसबेला हाम्रो महत्वपूर्ण वैठक भारतको अमृतसरमा गरेका थियौं । त्यहाँबाट सम्पूर्ण टिमलाई मैले हिडाएर पाकिस्तानको लाहोरसम्म पुर्याएको थिए । जब दुई मुलुकबीच युद्ध हुने अवस्थामा पुगेको थियो, त्यसबेला भारतबाट पाकिस्तानमा तरकारी फलफुल निर्धक्कसाथ आयात निर्यात भइरहेको थियो र पाकिस्तानबाट क्लिङकर बोकेका ट्रकहरु लोड भएर भारततिर आएको देखिन्थे । यसले के देखायो भने राजनीतिमा जे रोक लागेता पनि नाकामा आयात/निर्यात व्यापार भने भइरहेको थियो । हामीले सकरात्मक सोच्नु पर्छ भन्ने मेरो भनाइ हो । अरुलाई भन्न सजिलो छ । किनभने हाम्रो मुलुकमा विदेशी लगानी कति आयो त ? के सार्कको कारणले लगानी नआएको हो ? कि हाम्रो आन्तरिक नीतिहरु मिलेको छैन ? नेपाललाई ब्रान्डिङ गर्न सकेका छैनौ, त्यो कमजोरी हाम्रो हो । भारत र पाकिस्तान जति राजनैतिक रुपमा अलग भएता पनि पाकिस्तानमा भारतीय प्रविधिको प्रयोग गरेर अहिले ठूला ७ वटा स्टील उद्योग स्थापना भएका छन् । स्टील उद्योगका लागि मेसिन र प्रविधिहरु भारतबाट ल्याइएको हो । म भारत गएका बेला त्यहाँको मन्त्रीसंग कुरा गरे । नेपालको प्रधानमन्त्री ज्यूलाई पनि त्यही आग्रह गरेको छु । परराष्ट्र र वाणिज्य मन्त्रालयमा पनि त्यही कुरा गरेको छु । हाम्रा धेरै मुद्धा छन् । नेपालका लागि सार्कबाट माग गर्नु पर्ने । त्यतिका धेरै भएता पनि प्रमुख एउटै एजेन्डा बीबीआईएनको कन्सेप्ट हो जो सार्क अन्तर्गतको छ । सार्कले क्षेत्रिय कोअपरेसन गर्न पाउछ भन्ने हामीले सम्झौता गरिसकेका छौं । त्यो सम्झौताले बीबीआईएनमा भुटानले केही अब्जेशन ल्याए पनि भारत, बंगलादेश र नेपालबीच विस्तृत सम्झौता भएको छ । भारतको गाडीहरु बंगलादेशमा जान सक्छन् । तर नेपाली ट्रकहरु किन बंगलादेश जान सकिरहेको छैन । यो एक मात्रै एजेन्डा हामीले उठाउनुपर्छ । हामी स्वतन्त्र हुन चाहन्छौं भने यो एजेन्डालाई अगाडी बढाउन पर्छ । भारतले यो कुरालाई अगाडी बढाउछौं भनेको छ । तर यो कुरा नेपालले जोडका साथ अघि बढाउन पर्यो । मोटर भेहिकल सम्झौत भयो भने ट्रान्समिसन सजिलैसंग जानेमा हामीले विश्वास लिएका छौं । सार्कको परिवारमा बसेर त्यसको फाइदा नेपालीले पाउनु पर्यो अब । अहिले बंगलादेशले भुटानबाट धेरै तरकारी र फलफुल आयात गर्न थालेको छ । तर नेपालबाट त्यहाँ के गइरहेको छ त ? त्यसले गर्दा यो मुद्धा हामीले उठाउनुपर्छ । अहिलेको सन्दर्भमा सार्कको अध्यक्ष नेपाल हो । सार्क चेम्बरको नेतृत्व पनि हामीले नै गरिराखेका छौं । त्यसले गर्दा पनि नेपालको सन्दर्भमा यो धेरै महत्वपूर्ण कुरा हो । कमसेकम नेपाललाई केही हुन सक्ने यो मुद्धालाई व्यापक छलफल गर्न सकियो भने नेपालको लागि ठूलो कुरा हुनेछ । मेरो फोकस सम्मेलनमा मोटर भेहिकल सम्झौता कार्यन्वन हो । चैत पहिलो साता सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजले आयोजना गर्न लागेको छैठौं ‘विजनेश लिडर्स कनक्लेभ’ सम्बन्धी आयोजना गरिएको पत्रकार सम्मेलनमा गरिएको अध्यक्ष वैद्यको सम्बोधनको सारः–
४८०० वटा सरकारी कार्यालय २००० मा झारिन्छ र प्रशासनिक खर्च ११५ अर्ब घटाइन्छ
लेखक अर्थमन्त्रालय आगामी आवको बजेट निर्माणमा जुटेको छ । अबको पूर्णरुपमा संघीयतामा आधारित हुने हुँदा बजेट निर्माण निश्चय चुनौतीपूर्ण छ । अर्थमन्त्रायले कुल आकारको बजेट बनाउँछ, प्रदेश र स्थानीय तहका सरकारका प्रशासनिक र विकासका आवश्यकता कसरी सम्वोधन गरिन्छ भन्ने चासो र जिज्ञासा सर्वत्र छ । संघीयताले निश्चित रुपमा सेवा प्रवाह र विकासका आकांक्षा बढाएकै छ । तर बुझ्नुपर्ने कुरा के हो भने संघीयतामा जाँदैमा हाम्रो मुलुकको न त भूगोल बढ्छ न त मानवीय र प्राकृतिक स्रोत साधन नै । अर्कोतर्फ माग पक्ष हेर्दा पनि हाम्रो जनसंख्या बढ्ने पनि होइन । बढेको मात्र के हो भने हाम्रो आकांक्षा, चाहे त्यो स्थानीय तहको होस् चाहे प्रदेश तहको । विद्यमान आवश्यकतालाई सम्बोधन गर्न उपलब्ध साधन स्रोतको परिचालन र विनियोजन फरक किसिमले अर्थात संघीय स्वरुपमा गर्नु संवैधानिक व्यवस्था र कानून अनुसार संघीय ढाँचामा विभाजन गर्ने अर्थमा यसलाई बुझ्न सकियो भने वित्तीय संघीयता कार्यन्वयन गर्न सकिन्छ । अन्यथा यसको कार्यन्वयन असहज हुन्छ । खर्च घटाउने ठाउँ संघीय सरकारको विद्यमान प्रशासनिक संयन्त्रको आकारलाई घटाउनु अनिवार्य छ । अहिले नेपाल सरकारका ३१ वटा मन्त्रालय करिब ६० वटा विभाग तथा केन्दं्रीय कार्यलयहरु छन् । उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिको सिफारिस बमोजिम मन्त्रलयको संख्या १५ कायम गर्ने तथा विभागहरुको संख्यामा पनि कमी आउँने अवस्था छ । यसरी कटौती हुने मन्त्रालय र विभाग अन्तर्गत रहेका क्षेत्रीय र जिल्लास्तरीय कार्यालयहरुको पनि संविधानमा उल्लिखित अनुसूची–६ प्रदेश अधिकारको सूची, अनुसूची–७ संघ र प्रदेशको साझा अधिकारको सूची, अनुसूची–८ स्थानीयतहको अधिकारको सूची तथा अनुसूची–९ संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीको आधारमा गरिएको कार्य विभाजन नेपालका सरकारबाट स्वीकृत भइसकेको छ । कार्यालयको संख्यामा हुने दुई तिहाई कटौतीसँगै करीब दुई तिहाई रकम खर्च कटौती हुन आउँदा करीब रू.११५ अर्ब बराबरको खर्च वचत हुन आउँने देखिन्छ । ७५३ स्थानीय तह र जम्मा ६७४३ वडा मध्ये ८० प्रतिशत वडा कार्यलयहरुका लागि भवन निर्माणमा करीब करीब रू. १६३ अर्ब रकम खर्च हुने अनुमान गरिएको छ । संघ, प्रदेश र स्थानीय तहका राजनीतिक पदाधिकारी, संवैधानिक अंगका पदाधिकारी तथा निजामती, जंगी तथा प्रहरीका पदाधिकारीहरुको मर्यादाक्रम र तलव निर्धारण तत्काल हुनुपर्दछ । सवारी साधन खरिद गर्न करिब रू. ३ अर्ब खर्च हुने अनुमान गरिएको छ । उक्त कार्यविभाजन अनुसार कुन कुन मन्त्रालय अन्तरगतका कुन कुन कार्यहरु संघीय, प्रदेश र स्थानीय तहमा रहने भनी निक्र्यौल भइसकेको आवस्थामा हाल संघीय सरकार अन्तरगत रहेका अधिकांश विभाग र कार्यलयहरु खारेज भई स्थानीय र प्रदेश तहमा हस्तान्तरण हुन्छन् । हाल छुट्टै बजेट अख्तियारी लिई खर्च गर्ने कार्यलयहरुको कुल संख्या करिब ४८०० छन् । उपयुक्त कार्यविभाजनलाई आधार मान्ने हो भने करिब दुई तिहाई कार्यालयहरु प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुन्छन् । कुनै एउटा गाँउपालिका वा नगरपालिकालाई एउटा लागत केन्द्र वा खर्च गर्ने कार्यालयको रुपमा गणना गर्दा ती कार्यालयहरुको संख्यामा कमी आई करिब २००० को संख्यामा रहने देखिन्छ । अब, यी ४८०० वटा कार्यालयहरुको तलब, भत्ता वाहेकको प्रशासनिक खर्चको विश्लेषण गरौं । आव २०७४÷७५ को बजेटमा चालू खर्चतर्फ मालसामान तथा सेवाको उपभोग अन्तर्गत करिब रू.७२ अर्ब तथा पूँजीगत खर्चतर्फ जग्गा खरीद, भवन, फर्निचर र सवारी साधनमा रू. १०२ अर्ब गरी जम्मा रू. १७४ अर्ब बजेट छुट्याइएको छ । हाल नेपाल सरकारका विभिन्न सरकारी कार्यलयहरबाट खर्च हुने उपर्युक्त चालू र पूँजीगत खर्च मध्ये कार्यालयको संख्यामा हुने दुई तिहाई कटौतीसँगै करीब दुई तिहाई रकम खर्च कटौती हुन आउँदा करीब रू.११५ अर्ब बराबरको खर्च वचत हुन आउँने देखिन्छ । प्रदेश सरकारकोे आकार छरितो संविधानको अनुसूची–६, ७ र ९ बमोजिम प्रदेश सरकारले सम्पादन गर्ने कार्यहरुको सूची नेपाल सरकारले निर्धारण गरिसकेको छ । सातवटै प्रदेश सभाहरुको कुल सदस्य संख्या ५५० हुन्छ । संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश सभाको कुल सदस्य संख्याको बीस प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । अतः सात वटा प्रदेशमा गरी बढीमा ११० जनासम्म मन्त्री हुन सक्ने अवस्था छ । यस हिसावले प्रत्येक प्रदेशमा औसतमा १५ सदस्यीय मन्त्रिमण्डल वन्न सक्छ । तर हालै नेपाल सरकारबाट स्वीकृत प्रदेश सरकारको अन्तरिम संगठन संरचना अनुसार ७ वटा मन्त्रलयको व्यवस्था गरिएको छ । तसर्थ प्रदेश सरकारका मन्त्रालयहरुको संख्या सातमा नै सिमित गर्नुपर्दछ । प्रदेश सरकारहरुले आफ्ने संगठन संरचना छरितो बनाई कार्यसम्पादन गर्ने सोच राख्नु पर्दछ । बोझिलो संगठन संरचना बनाउँदा प्रदेश सरकारको चालू खर्च बढ्न गई पूँजीगत खर्चको आकारमा कमी हुन जान्छ, जसले जनताको आर्थिक–सामाजिक विकासको आकांक्षालाई कुण्ठित गर्दछ । त्यस्तै प्रदेश सरकारले अत्यावश्यक भएको आवस्थामा वाहेक मन्त्रालय मातहत विभाग र कार्यलयहरु खोल्ने गल्ती गर्नुहुँदैन । प्रदेशले सञ्चालन गर्ने विकास निर्माणका कार्यहरु मन्त्रालबाट नै सञ्चालन गर्नु लागत प्रभावी हुन्छ । यस्तो व्यवस्था कम्तीमा आगामी पाँच वर्षसम्म गर्नु उपयुक्त हुन्छ । त्यस्तै प्रदेश राजधानी रहने स्थानमा हाल उपलब्ध सरकारी जग्गा र भवनको मर्मत संभार गरी उपयोग गर्नेतर्फ जोड दिनु आवश्यक छ । स्वेच्छिक अवकासमा ४० अर्ब खर्च स्थानीय सरकारको राजनीतिक संयन्त्र संविधानले निर्दिष्ट गरेको हुनाले यसको आकारमा स्थायित्व हुन्छ । नेपालको संविधानले स्थानीय सरकारलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार समेत प्रदान गरेकोे हुनाले यो एउटा सम्पूर्ण सरकारकै स्वरुपमा रहेको हुन्छ । संविधानले स्थानीय सरकारलाई राजस्व उठाउने, योजना तथा बजेट तर्जुमा र खर्च गर्ने सम्बन्धी महत्वपूर्ण जिम्मेवारीहरु दिएको छ । स्थानीय तहलाई प्रशासनिक, विकास र सेवा प्रवाहकोे महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको छ । अतः यसले सम्पादन गर्ने कार्यहरुको लागि विभान्न विषयगत विज्ञ कर्मचारीहरुको व्यवस्था गरिनुृ जरुरी छ । हाल सरकाररले सम्पादन गरेको कृषि, शिक्ष, स्वास्थ्य, पशुसेवा, वन, भूमि प्रशासन, महिला, वालवालिका तथा सामाजिक सुरक्ष, साना सडक, खानेपानी, सिंचाई, नदी नियन्त्रण, भू–संरक्षण, सहकारी लगायतका विषय क्षेत्रका विकास कार्यक्रम र सेवा प्रवाहको जिम्मेवारी स्थानीय तहमा भएकोले स्थानीय सरकारले प्राविधिक जनशक्तिको कुशल व्यवस्थापन गर्नु पर्ने हुन्छ । तसर्थ स्थानीय तहमा केही हिमाली जिल्लाका केही गाउपालिका वाहेक सवै गाउपालिका तथा नगरपालिकाहरुमा कम्तीमा राप द्धितीय श्रेणी सरहको अनुभवी प्रशासकीय प्रमुखको व्यवस्था गर्नु अपरिहार्य छ । अन्यथा स्थानीय तहको विकास व्यवस्थापन र सेवा प्रवाह लथालिङ्ग हुन सक्छ । अतः स्थानीय सरकारको अन्तरिम संगठन संरचना तथा कर्मचारी समायोजन तथा व्यवस्थापन गर्दा यो सन्दर्भलाई ध्यान दिनु जरुरी छ । स्थानीय तहमा मौजूदा कर्मचारीबाट नै काज खटाई कार्यसम्पादन गराउने र समायोजन प्रक्रियापश्चात मौजूदा कर्मचरीलाई नै स्थानीय तहमा समायोजन गरिने हुनाले स्थानीय तहमा कर्मचरी व्यवस्थापनका लागि त्यति ठूलो वित्तीय व्यभार बढ्ने देखिंदैन । कर्मचारीको क्षमता अभिबृद्धि तथा प्रोत्साहनका लागि भने केही रकम खर्च हुने सम्भावना रहन्छ । तथापि कमर्मचारी समायोजनपूर्व गर्नुपर्ने स्वेच्छिक अवकाश योजनाका लागि भने करीब रू. ४० अर्ब खर्च हुन सक्ने अनुमान गरिएको छ । स्थानीय तहको आधारभूत भौतिक पूर्वाधारका लागि १६३ अर्ब हाल अधिकांश स्थानीय तहमा कार्यालय भवनको अभाव छ । प्रत्येक वडा तहबाट पनि सेवा प्रभाव हुने भएकोले वडा तहसम्म कार्यलय भवन निर्माण गरिनु आवश्यक छ । हाल आफ्नै कार्यलय भवन भएका स्थानीय तहहरु वाहेक ७५३ स्थानीय तह र जम्मा ६७४३ वडा मध्ये ८० प्रतिशत वडा कार्यलयहरुका लागि भवन निर्माणमा करीब करीब रू. १६३ अर्ब रकम खर्च हुने अनुमान गरिएको छ । यो अनुमान अर्थ मन्त्रालय, स्थानीय विकास मन्त्रालय र विश्व बैंकको संयुक्त कार्यटोलीबाट गरिएको हो । सम्पत्ति व्यवस्थापन प्रदेश र स्थानीय तहको कार्यसञ्चालनका लागि जग्गा, कार्यलय भवन, सवारी साधन, कम्प्यूटर लगायत अन्य सामानहरुको आवश्यकता पर्दछ । नेपाल सरकारका विभिन्न कार्यलयहरुमा रहेका उपर्युक्त सम्पत्तिहरुको उचित व्यवस्थापन र मर्मत संभार गरी खारेजीमा पर्ने संघीय सरकारका कार्यलयहरुबाट उक्त सम्पत्तिहरु आवश्यकतानुसार प्रदेश र स्थानीय तहमा समयमै हस्तान्तरण गरिनुपर्दछ । यसका लागि महालेखा नियन्त्रक कार्यालयले जिल्लास्थित को.ले.नि.का.मार्फत सम्पत्तिहरुको लगत अद्यावधिक गर्ने कार्य गरिरहेको छ । यी सम्पत्तिहरुको उचित व्यवस्थापन र हस्तान्तरणबाट प्रदेश र स्थानीय तहमा हुने सम्भावित खर्चमा कमी ल्यउन सकिन्छ । प्रारम्भिक अनुमान अनुसार ७५३ स्थानीय तहका लागि सवारी साधन खरिद गर्न करिब रू. ३ अर्ब खर्च हुने अनुमान गरिएकोमा यदि समयमा नै सरकारले सवारी साधन तथा कम्प्यूटरको लागत अद्यावधिक गरेर हस्तान्तरण गर्ने हो भने सवारी साधन तथा कम्प्यूटरमा हुने खर्चमा आधा वचत गर्न सकिने अवस्था छ । सार्वजनिक खर्च पुनरावलोकन आयोगको गठन वित्तीय संघीयता कार्यन्वयनलाई दक्ष र प्रभावकारी बनाउन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गर्नु जरुरी छ । यसले विद्यमान संघीय सरकारका क्षेत्रगत खर्चका प्राथमिकता, एवं आवश्यकतालाई पुनरावलोकन गरी विनियोजन दक्षता भविवृद्धि गर्न मद्दत गर्दछ । साथै, कुन कनु कार्यक्रम वा आयोजना संघ, प्रदेश र स्थानीय तहमा कुन कुन आधारमा जाने वा नजाने भन्ने विषयलाई तथ्यपरक ढंगबाट सिफारिस गर्ने कार्य यस आयोगबाट हुन सक्दछ । यसबाट समग्र सार्वजनिक खर्चको दक्षता र प्रभावकारिता अभिवृद्धि गर्न मद्दत पुग्ने हुन्छ । अर्थमन्त्रालयले प्रस्तुत आयोग गठन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । तलब आयोगको गठन संघीय, प्रदेश र स्थानीयसरकारका कार्यकारिणी, व्यवस्थापिका र न्यायपालिकामा रहने सबै राजैतिक र प्रशासनिक पदाधिकारीहरुको तलब सुविधालाई बैज्ञानिक, विवेकशील र न्यायोचित बनाउन तलब आयोगको गठन गरी सो आयोगको सिफारिसको आधारमा तलब निर्धारण गर्नु आवश्यक छ । संघ, प्रदेश र स्थानीय तहका राजनीतिक पदाधिकारी, संवैधानिक अंगका पदाधिकारी तथा निजामती, जंगी तथा प्रहरीका पदाधिकारीहरुको नयाँ मर्यादाक्रम निर्धारण गरी सो अनुरुपको तलव निर्धारण समयमै गर्न नसकिएमा तलव सुविधा तोक्ने विषयमा बेथिति तथा विसंगति सृजना हुन सक्छ, जुन संघ, प्रदेश र स्थनीय सरकारको खर्च व्यवस्थापनको चुनौतीको रुपमा रहन जान्छ । तलब आयोग गठनका लागि पनि अर्थ मनत्रालयले प्रक्रिया आगाडि बढाएको छ ।