चुनाव प्रचारले ४५ अर्ब रुपैयाँ निक्षेप बढायो, बैंकिङ क्षेत्रमा तरलता अवस्था सामान्य हुँदै
काठमाडौं । निर्वाचनको प्रचारप्रसार तिव्र भएको अवधिमा ४५ अर्ब रुपैयाँ भन्दा बढी बैकिङ खातामा जम्मा भएको छ । चुनावको बेलामा बजारमा पैसा आउँछ भन्ने अनुमानलाई यसले केही हदसम्म पुष्टि गरेको छ । नेपाल बैंकर्स संघको अनुसार कात्तिक १७ अघि वाणिज्य बैंकहरुमा कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ थियो । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप करिब ३९ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । निर्वाचनको असरले यो सातामा बैंकहरुमा निक्षेप अझ वृद्धि हुने अनुमान बैंकर्सको रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस अवधिमा निक्षेप वृद्धि सन्तोषजनक रहेको उनीहरुले बताएका छन् । विकास बैंकहरुमा निक्षेप वृद्धि राम्रो भएकोले नै मंसिरदेखि ब्याजदर घटाउने निर्णय भएको विकास बैंकर्स संघको अध्यक्ष प्रद्युम्न पोखरेलले बताए । ‘ठ्याक्कै रकम भन्न सकिन्न, तर पछिल्लो तीन सातामा ६/७ अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीमा निक्षेप वृद्धि भएको अनुमान गर्न सकिन्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका कुल निक्षेप ५१ खर्ब ८३ अर्ब रुपैयाँ भएको छ । सिडी रेसियो पनि ८६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा कम राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । ८५ प्रतिशत सीडी रेसियो हुनलाई तरलताको हिसाबले बैंकिङ क्षेत्र सामान्य अवस्थामा फर्किएको मानिन्छ । तरलता बढ्दै जाँदा पोलिसी रेट ४ प्रतिशतमा झरेको छ । बैंकको अल्पकालिन कर्जाको व्याजदर ९.१९ प्रतिशतमा झरेको छ ।
कुमारी बैंक र एनसीसी बैंकको डीडीए रिपोर्टमा स्वाप रेसियो कति आयो ?
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श लिमिटेड (एनसीसी) बैंकको स्वाप रेसियो सार्वजनिक गरेको छ । कुमारी बैंक र एनसीसी बैंक समान हैसियत अर्थात् १ः१ अनुपातमा मर्ज हुने गरी स्वाप रेसियो निर्धारण गरिएको हो । यद्यपी कुमारी बैंक र एनसीसी बैंकले तयार गरेको डियू डेलिजेन्स (डीडीए) रिपोर्टमा १००ः९६.५९ को स्वाप रेसियो आएको थियो । डीडीए रिपोर्टमा कुमारी बैंकको १०० आउँदा एनसीसी बैंकको ९६.५९ स्वाप रेसियो आएको थियो । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा डीडीए रिपोर्ट तयार पारिएको हो । डीडीए रिपोर्टमा फरक स्वाप रेसियो आएको भएपनि समान हैसियतमा मर्ज हुने सहमति भएको छ । अर्थात् कुमारी बैंकमा एक सय कित्ता सेयर हुनेले मर्जरपछि पनि एक सय कित्ता नै सेयर पाउने छन् । बैंकको डीडीए रिपोर्ट सञ्चालक समितिले पारित गरिसकेको एनसीसी बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए । सञ्चालक समितिले गरेको उक्त निर्णय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई समेत जानकारी गराएको छ ।
लम्बिनी विकास बैंकले साढे ३९ करोड रुपैयाँ लाभांश वितरण गर्ने
काठमाडौं । लम्बिनी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले चुक्ता पूँजी ३ अर्ब २८ करोड ४२ लाख ९२ हजार ५१० रुपैयाँको २९ करोड ५५ लाख ८६ हजार ३२५ रुपैयाँ नगद र ९ करोड ८५ लाख २८ हजार ७७५ रुपैयाँ बोनस सेयर गरी कूल ३९ करोड ४१ लाख १५ हजार १०१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।