शाइन रेसुङ्गा बैंकद्वारा वार्षिकोत्सवको अवसरमा १४ हजार ४० बृक्षरोपण
बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा योगदान पुर्याउने उद्देश्यले १४ हजार बढी बृक्षरोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी–सीएसआर वहन गर्दै आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ग्रो ग्रीन प्रोजेक्ट अन्तर्गत देशका २२ जिल्लामा ३२ जातका बृक्षरोपण गरेको हो । वार्षिकोत्सवको अवसर पारेर २०७८ फागुन ११ गतेपछि २०७९ मंसिर ९ गते सम्म ९ महिनामा बैंकले सय भन्दा बढी सामाजिक संघसंस्था, स्थानीय तह,वन कार्यालय र क्लबहरु समेतको सहकार्यमा १४ हजार ४० वटा बिरुवा रोपेको बैंकले जनाएको छ । जलवायु परिवर्तनका कारण विश्ववयापी रुपमा वातावरणमा प्रतिकुल असर परिरहेकाले वातावरण संरक्षण, दीगो विकास र हरियाली प्रवद्र्धनलाई बैंकले उच्च प्राथमिकता दिएर बैंकिङ क्षेत्रमा संभवतः सबैभन्दा धेरै संख्यामा बृक्षरोपण गरेर नयां उदाहरण पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । बैंकका ब्राण्डिङ तथा मानव संशाधन विभाग प्रमुख प्रभास राईका अनुसार लुम्बिनी प्रदेशका रोल्पा र रुकुम पुर्व वाहेक १० जिल्लासहित बागमती, गण्डकी, कर्णाली, सुदुरपश्चिम र मधेश प्रदेशमा समेत बैंकले बृक्षरोपण गरेको छ । बृक्षरोपणमा संघीय राजधानी काठमाडौंसहित ५ वटा प्रदेशका शाखा कार्यालयका कर्मचारीको पनि सहभागिता रहेको राईले बताए । लुम्बिनीलाई केन्द्र बनाउंदै प्रदेशको एक मात्र राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएको शाइन रेसुङ्गा बैंकले हालै मात्रै उत्कृष्ट व्यवस्थापन गरेवापत बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको उपाधि जितेको थियो ।
कर्णाली प्रदेश सरकारले १४ हजार छोरीको बैंक खाता खोलिदियो
कर्णाली । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरुले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैंक खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन । उक्त मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकाहरुमा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको बताए । गत वर्षदेखि नै रकम पालिकामा नपठाउँदा यो कार्यक्रम र आगामी कार्याक्रम के गर्ने ? भन्ने अन्योल भएको छ”, उनले भने । स्थानीय तह र प्रदेश सरकारको समन्वय नहुँदा कार्यक्रम प्रभावकारी नहुने देखिएको छ । सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग प्रभावकारीरुपले समन्वय नगर्दा कार्यान्वयनमा समस्या देखिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुलले भने मन्त्रालयले छुट्टै टोली बनाएर डाटाबेसमा काम गरे कार्यक्रम उपलब्धिमूलक हुने बताए । उनले केही स्थानीय तहमा कठिन भूगोल र प्रविधिका कारण पनि समस्या देखिएको भन्दै आगामी दिनमा नयाँ मोडलबाट अगाडि बढ्ने जानकारी दिए । सुरुका वर्ष कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७६/७७ मा ७ करोड विनियोजन गरेको थियो । आव ०७७/७८ मा १२ करोड ६० लाख रुपैयाँ छुट्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका शाखा अधिकृत विद्याप्रसाद उपाध्यायले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा १६ करोड रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालू आवमा २० करोड रुपैयाँ बजेट उक्त कार्यक्रमका लागि विनियोजन गरिए पनि खर्चको विवरण अहिलेसम्म प्राप्त नभएको अधिकृत उपाध्यायले बताए । छोरीमाथि हुने विभेद, बालविवाह न्यूनीकरण र उच्च शिक्षाको ग्यारेन्टी गर्ने दीर्घकालीन उद्देश्यका साथ कार्यक्रम ल्याइएको प्रदेश सरकारले बताउँदै आएको छ । कार्यक्रम प्रभावकारी मानिए पनि स्थानीय र प्रदेश सरकारको समन्वय अभाव देखिएको हो ।
कुमारीसँग मर्जरमा रहेको एनसीसी बैंकका सेयरधनी धमाधम सेयर बिक्री गर्दै, प्रतिकित्ता १ सय रुपैयाँ
काठमाडौं । नेपाल क्रेडिट कमर्स (एनसीसी) बैंकका संस्थापक सेयरधनीहरु धमाधम सेयर बिक्री गरिरहेका छन् । एनसीसी बैंकका संस्थापक सेयरधनीहरुले संस्थापक समूहको १० लाख ३९ हजार कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका ७ जना संस्थापक सेयरधनीहरुले आफ्ना नाममा रहेको सेयर बिक्रीमा राखेका छन् । बैंकका संस्थापक ठाकुर प्रसाद गौतमले १९ हजार १४७ कित्ता, नरेन्द्रलाल जोशीले ६२ हजार ८८० कित्ता, दिपक रत्न शाक्यले ३ लाख १५ हजार १३ कित्ता, खेमनाथ डल्लाकोटीले १ लाख ८९ हजार ६९८ कित्ता, कोष राज वन्तले ४ लाख २६ हजार ९६२ कित्ता, सुदिप पौडेलले ५ हजार ४७० कित्ता र देव बहादुर खत्रीले २० हजार ३३४ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले माघ १६ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि तोकिएको अवधिभित्र उक्त सेयर संस्थापक सेयरधनीहरुले खरिद नगरे अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ । कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको एनसीसी बैंकका सेयरधनीहरु भने बाहिरिने भएका हुन् । कुमारी बैंक र एनसीसी बैंकबीच पुस १७ गते एकीकृत कारोबारको मिति तय भएको छ ।