नबिल बैंकले तेस्रो पटक हेड अफिस बनाउँदै
काठमाडौं । नबिल बैंकले तेस्रो पटक मुख्य कार्यालय (हेड अफिस) निर्माण गर्ने भएको छ । बैंकले तेस्रो पटकको मुख्य कार्यालय भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । बैंकले काठमाडौंको बिशालनगरमा रहेको ४१ हजार ४१२.२५ वर्गफुट क्षेत्रफल जग्गामा मुख्य कार्यालय (हेड अफिस) भवन निर्माण कार्यको लागि बोलपत्र आह्वान गरेको हो । बैंकको उक्त भवन निर्माण गर्न परियोजना व्यवस्थापन परामर्शदाता (पीएमसी) को जिम्मेवारी लिन दर्ता भएका सिभिल इन्जिनियरिङ् तथा वास्तुकला फर्महरूले आवेदन माग गरेको हो । यसअघि नबिल बैंकको पहिलो हेड अफिस कमलादीमा रहेको थियो । कमलादीमा रहेको भवन हेड अफिसका लागि सानो भएको भन्दै दोस्रो पटक दरवारमार्गमा सारेको थियो । बैंकले आफ्नो व्यवसाय विस्तासँगै भवन पनि विस्तार गर्दै गइरहेको छ । दरवारमार्गमा रहेको भवन पनि सानो भएको भन्दै बैंकले तेस्रो पटक हेड अफिस सार्ने निर्णय गरेको हो । तेस्रो पटकको हेड अफिस भने नेपाल बङ्लादेश बैंकलाई प्राप्ति पश्चात् आएको जग्गामा निर्माण गर्ने भएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले विशालनगरमा कर्पाेरेट अफिस भवन निर्माणका लागि प्रारम्भिक चरणमा प्रवेश गरेको बताए । कन्सलटेन्टले सबै कुराको अन्तिम रुप दिएपछि मात्रै भवन कस्तो र कति लागतमा निर्माण गर्न सकिन्छ भन्ने थाहा हुने उनको भनाइ छ । ‘विशालनगरमा कर्पाेरेट अफिस बनाउने प्रक्रिया प्रारम्भिक चरणमा प्रवेश गरेको हो, कति लागत र कस्तो आकारमा भवन निर्माण गर्ने भन्ने कुनै अनुमान नै गरिएको छैन,’ उनले भने, ‘कन्सलटेन्टहरु प्रिक्वालिफाइड गर्नुपर्याे, कस्तो किसिमको भवन निर्माण गर्न सकिन्छ भनेर सम्झौता गरिन्छ, अहिले कन्सल्टिङका लागि बोलपत्र आह्वान गरेको हो ।’ अध्यक्ष पौड्यालका अनुसार कर्पाेरेट भवन बनाईने भएकाले सबै प्रक्रिया पुरा गर्नुपर्छ । तत्कालिन नेपाल बङ्गलादेश बैंकको नाममा रहेको जग्गामा उक्त भवन निर्माण गर्न लागिएको उनको भनाइ छ । नयाँ भवनमा सबै डिपार्टमेन्ट रहने उनले बताए । ‘भवन भव्य र ठूलो बन्नेछ, जग्गा पनि ठूलो छ, अहिले कति लागत लाग्ने भनेर कुनै अनुमान भएको छैन, इन्जिजियरहरु आएर डिजाइन गरेपछि मात्रै कति लागत लाग्ने भनेर लागत थाहा पाइन्छ, बैंकको हेड अफिसमा धेरै डिपार्टमेन्टहरु हुन्छन्, नेपाल बङ्गलादेश बैंक हुँदाखेरिको जग्गाको हो,’ उनले भने । सूचना प्रकाशन भएको १५ दिन अर्थात् माघ २५ गतेसम्म बोलपत्र आवेदन दिन बैंकले आग्रह गरेको छ । भवन निर्माणको लागि आवश्यक प्रारम्भिक अनुमतिदेखि भवन निर्माणपश्चात् आवश्यक पर्ने कामहरु गर्नुपर्नेछ । सर्वेक्षण, प्राविधिक सम्भाव्यता, लेआउटरल्याण्डस्केप चयन, भू–प्राविधिक अध्ययन, भूकम्प र वातावरणीय अध्ययन र विस्तृत डिजाइन, परिमाण र लागत अनुमानलाई अन्तिम रूप दिनुपर्नेछ । इच्छुक र योग्य बोलपत्रदाताहरूले आवश्यक कागजातसहित १० हजार रुपैयाँ शुल्क तिरेर काठमाडौंको घण्टाघरस्थित बैंकको प्रशासन विभागमा आवेदन दिन सक्नेछन् । इच्छुक बोलपत्रदाताले विगत ५ वर्षमा कम्तिमा २ वटा व्यावसायिक भवन निर्माणका लागि पीएमसी गरेको हुनुपर्नेछ । साथै, ३० हजार वर्गफिटको २ सय मिलियन डलर लागत भएको हुनुपर्नेछ । इच्छुक बोलपत्रदातासँग सिभिल कन्स्ट्रक्सन, इन्जिनियरिङ र आर्किटेक्चरल क्षेत्रमा कम्तिमा १० वर्षको अनुभव र विगत ५ वर्षमा कम्तिमा २ भवनको परियोजना व्यवस्थापन परामर्शदाताको रूपमा काम गरेको अनुभव भएको हुनुपर्नेछ । बोलपत्रहरू फागुन ३ गते बिहान ११ बजे नबिल बैंकको घण्टाघर कार्यालय भवनमा खोलिनेछ ।
१० गुणासम्म रकम फिर्ता पाइने मुद्दति योजनामा ग्राहकले देखाएनन् चासो
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेका विभिन्न मुद्दति खाताहरुमा ग्राहकहरुले चासो नदेखाएको बैंकरहरुले बताएका छन् । तरलताको अभाव भएको बेला ग्राहकबाट निक्षेप तान्नका लागि बैंकहरुले विभिन्न बचत योजनाहरू सार्वजनिक गरेकोमा ती योजनामा ग्राहकले चासो नदेखाएको बैंकरहरुले बताएका हुन् । मंगलबार नेपाल बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले ग्राहकले बैंकले सार्वजनिक गरेको मुद्दति निक्षेप योजनामा चासो नदेखाएको बताएका हुन् । बैंकले सार्वजनिक गरेका योजनाहरू न्यूनतम पाँच वर्षदेखि अधिकतम् २५ वर्षसम्मका छन् । ती योजनामा १० गुणासम्म रकम फिर्ता पाइने स्कीमहरु छन् । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) समेत रहेका केसीले बैंकहरुले ती योजनाहरुमा ब्याजदर पनि बढी भएपनि ग्राहकको आकर्षण नभएको बताए । यस्तै, उनले अहिले विश्वव्यापी रुपमै एक किसिमको संकट भएकोले त्यो संकट नेपालमा पनि आउन सक्ने धारणा राखे । ‘नेपाली अर्थतन्त्र पर्यटन र रेमिट्यान्सको भरमा चलिरहेको छ, ती दुवै क्षेत्रमा अहिले एक किसिमको सकस छ, त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि पर्न सक्छ,’ केसीले भने । यस्तै, उनले पछिल्लो समय बैंकको नाफाको विषयमा अनेकन टिप्पणी भइरहेको बताउँदै उद्योगी व्यवसायीले भनेजस्तो बैंकहरुले नकमाएको र ब्याज पनि धेरै नबढेको धारणा राखे । ‘खराब कर्जा बढेको छ, रिटर्न अन इक्विटी (आरओई) घटेको छ, तर पनि बैंकहरुले जुन किसिमको योगदान गरिरहेका छन् त्यसको श्रेय पाइरहेका छैनन्, बैंकहरुको ब्यउाजपनि कोभिड अघिको तुलनामा १ प्रतिशत मात्रै बढेको छ,’ उनले भने । यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले भोलिको दिनमा आउने जोखिमहरुलाई सामना गर्नका लागि तयार र सजग बन्नु पर्ने धारणा राखे । उनले पछिल्लो समय बैंकको ब्याजदरको विषयमा आन्दोलन भइरहेको बताउादै त्यसरी आन्दोलन र नारावाजी गरेर ब्याज तिदैर्नौं भन्नु ब्यवहारिक नभएको बताए । उनले पुसमा बैंकको निक्षेप बढेको बताउँदै अब विस्तारै सहज हुन सक्ने पनि धारणा राखे । तर, विश्वव्यापी रुपमा पर्ने असरले नेपालमा पनि निर्धारण गर्ने उनको भनाइ छ । यस्तै, कार्यक्रममा नेपाल बैंकर्स संघका सीईओ अनिल शर्माले भने पछिल्लो समय अर्थतन्त्रका सूचकहरु सकारात्मक भएकोले केही सहज हुन्छ कि भन्ने देखिएको बताए । वर्तमान अर्थतन्त्र सूचकहरुको विषय प्रस्तुति दिँदै उनले रेमिट्यान्समा सुधार हुँदै गएको, शोधान्तर सुधार हुँदै गएकाले अब अर्थतन्त्र पनि केही सहज हुने होकि भन्ने देखाएको बताए । उनले पछिल्लो वर्षहरुमा बैंकहरुको नाफा भने घट्दै गएको धारणा राखे । उनले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा रिकभरीमा समस्या हुँदा बैंकको खराब कर्जा पनि बढेको धारणा राखे ।
एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचार गर्दा १२ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचार सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्याम प्रसाद लामिछानेज्यू र सेन्टरका तर्फबाट अध्यक्ष प्रो। डा। अन्जनी कुमार झाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भक्तपुरस्थित ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकहरू एवं बैंकका कर्मचारीहरूले यो फाइदा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो समझदारीसँगै बैंकको मोबाइल बैंकिङ्ग एप तथा कार्ड प्रयोगकर्ताहरूले उक्त सेन्टरमा थ्रिडी सिआरटी, आइएमआरटि, भिएमएटि, पल्लिएटिभ केयर र टिभिआई उपचारमा ५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । साथै, बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको बैंकले जनाएको छ ।