नेपाल बैंकले साढे २ करोड रुपैयाँमा २९२ डेस्कटप र ल्यापटप खरिद गर्ने
काठमाडौं । नेपाल बैंकले २९२ कम्प्युटर सामाग्री खरिद गर्ने भएको छ । बैंकले साढे २ करोड रुपैयाँ बराबरका डेस्कटप र ल्यापटप खरिद गर्ने भएको हो । बैंकले २१० वटा डेस्कटप र ८२ वटा ल्यापटप खरिद गर्न कम्पनी पनि छनोट गरेको छ । बैंकले २१० डेस्कटप खरिद गर्न एम÷एस म्याक्स इन्टरनेशनल कमलपोखरी र ८२ वटा ल्यापटप खरिद गर्न ए÷एस मर्कनटाइल अफिस सिस्टम्स प्राली छनोट भएका हुन् । एम÷एस म्याक्स इन्टरनेशनलले १ करो ६५ लाख ८९ हजार ८८० रुपैयाँ र ए÷एस मर्कनटाइल अफिस सिस्टम्सले ६७ लाख २४ हजार रुपैयाँमा उक्त कम्प्युटर सामाग्री खरिद गर्ने गरी छनोट भएका हुन् ।
नबिल बैंकले कर्मचारीलाई दियो सुरक्षित कार्यस्थलका लागि तालिम
काठमाडौं । नबिल बैंकले आफ्ना कर्मचारीका लागि कार्यस्थल हिंसा तथा उत्पीडन विषयक कार्यशाला सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गरिएको कार्यशालाको उद्देश्य कार्यस्थलमा हुन सक्ने हिंसा तथा त्यसप्रति सचेतना भएको बैंकले जनाएको छ । ७० जना कर्मचारीहरूका लागि फाइट–ब्याक नामक संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको थियो । उपत्यका भित्रका शाखाहरूका लागि स्थलगत र बाहिरका सबै प्रदेशका शाखाहरू अनलाइन मार्फत सहभागी रहेको यस कार्यक्रममा बैंकका महिला तथा पुरुष कर्मचारीहरूको सहभागीता रहेको थियो । कार्यक्रमबाट कर्मचारीहरूले कार्यस्थल हिंसा तथा उत्पीडन भनेको के हो ? कार्यालयमा यस किसिमका गतिविधिहरू कुन तरीकाबाट हुन सक्छ ? यस्ता गतिविधिहरू हुन नदिन कसरी सजग सहनुपर्छ र यदि यस्ता गतिविधिहरू कार्यस्थलमा भइहाले आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा व्यवहारिक तथा प्रयोगात्मक तरीका प्रदर्शन गरी जानकारी दिइएको थियो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना कर्मचारीहरूको मनोबल वृद्धि गर्न र समाजमा घट्न सक्ने गतिविधिहरूको सामना गर्न यस प्रकारको जानकारी मूलक कार्यक्रम उपयोगी रहेको बताए । नबिल बैंकले आफ्ना कर्मचारीहरूको मनोबल बढाउन यस्ता कार्यक्रमहरूलाई भविष्यमा पनि निरन्तरता दिने उनले बताए । कार्यक्रममा नेपालको कानुनी व्यवस्था, हिंसा हुँदा प्रतिकार र आत्मरक्षा गर्ने तरिका तथा आफूसँग भएको सरसामानलाई औजारको रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी उपयोगी भएको एक सहभागी रिया बस्नेतले बताइन् । ‘मैले यो कक्षामा आत्मरक्षा सम्बन्धी तरिका मात्र सिक्छु सोचेको थिए तर मैले धेरै उपयोगी सीपहरू सिक्न पाएँ । जस्तै कसरी यौन हिंसा अथवा कुनै दुव्र्यवहार हुँदा प्रस्तुत हुने, कसरी आफूलाई सुरक्षित राख्ने, आफ्नो आवाजलाई कसरी औजार बनाउने जस्ता धेरै कुरा सिक्न पाएँ । जसले मेरो आत्मबल बढेको छ’ उनले भनिन् । आफ्नो कार्यालय स्थल तथा हाम्रो समाजमा दैनिक जीवनमा घट्न सक्ने हिंसालाई ध्यानमा राखेर नारी दिवसको दिनमा बैंकका कर्मचारीहरूलाई यो एक दिने तालिम संचालन गरेको नबिल बैंकका मानव संसाधन प्रमुख दिवस कार्कीले बताए । ‘कार्यक्रम सोचेको भन्दा उपयोगी भएको प्रतिक्रिया सहभागीहरूबाट आएकोले आगामी दिनमा यस्ता कार्यक्रम गर्न हौसला मिलेको छ,’ उनले भने ।
एनआईसी एशियाले सुरु गर्यो भाइबर बैंकिङ्ग सेवा, सबै सुचना एकैठाउँमा
काठमाण्डौ । एनआईसी एशिया बैंकले भाइबर बैंकिङ्ग सेवा सुरु गरेकाे छ । बैंककाे अनुसार यसबाट बैंकको हरेक सेवाका बारेमा घरमै बसेर थाहा पाउन र सेवा लिन सकिनेछ । भाइबर बैंकिङ्ग सेवा लिन आफ्नो मोबाइलको भाइबरमा एन आई सी एशिया बैंकको भाइबर सेवामा जोडिनुपर्ने बैंकले जनाएकाे छ । बैंककाे अनुसार यस सेवाबाट बैंकका अधिकांस सेवाका साथै आफ्नो अकाउन्टको बारेमा जानकारी लिन र मिनी बैंक स्टेटमेन्ट निकाल्न समेत सकिने छ । त्यस्तै, यस सेवाबाट खातासँग सम्बन्धित विभिन्न सेवाहरु रजिष्ट्रर गर्नुकाे साथै बैंकका शाखाहरु र एटीएमहरु कहाँ कहाँ छन् भनेर लिष्ट हेर्न सकिनेछ । बैंक शाखा तथा एक्सटेन्डेड शाखाहरुले दिने सेवा समयको बारेमा पनि यहाँबाट थाहा पाउन सकिने बैंकले जनाएकाे छ । साथसाथै, बैंकले समय समयमा दिने विभिन्न सूचनाहरु र त्यत्तिमात्र नभएर विदेशी मुद्राको विनिमय दर, बैंकका विभिन्न प्रोडक्टहरुका बारेमा पनि यहाँबाट जानकारी लिन सकिनेछ । बैंकका चालू स्किमहरु र विभिन्न प्रमोसनहरु पनि भाइबर बैंकिङ्गमा उपलब्ध रहेकाे बैंकले जनाएकाे छ । एनआईसी एशिया बैंकको भाइबर सेवा लिन ग्राहकले बैंकको मोबाइल एप (मोबैंक) प्रयोग गरेको हुनुपर्छ । मोबाइल एपमा प्रयोग भएको नम्बर नै भाइबर सेवामा प्रयोग गरेर भाइबर सेवा सुरु गरेपछि एनआईसी एशिया बैंकको भाइबर बैंकिङ्ग सेवा लिन दर्ता प्रकृया पुरा गर्नुपर्ने बैंकले जनाएकाे छ ।