सिलिकन भ्याली बैंकको घटनाले राष्ट्र बैंक झस्कियो
काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टेको घटनाले अहिले विश्व वित्तीय क्षेत्र त्रासमा छ । सन् २००८ पछिको ठूलो वित्तीय संकटको घटनाको रुपमा लिइएको यस विषयले अहिले विश्वको बैंक तथा वित्तीय क्षेत्रमा तरंग पैदा गरेको हो । यसबाट नेपाली बैंकिङ क्षेत्र पनि अछुतो रहन सकेको छैन । नेपाली बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक पनि यस घटनाबाट टाढा हुन सक्दैन । यो घटनाको पाठ सिक्दै नेपाल राष्ट्र बैंकले पनि आफ्नो तयारी अगाडि बढाएको छ । कुनै पनि बेला कुनै पनि वित्तीय संस्थामा समस्या आउन सक्ने विषयमा राष्ट्र बैंक सजग छ । पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको सकस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् । सहकारी र लघुवित्त क्षेत्रको अस्तित्वमाथि नै प्रश्न उठिरहेका छन् । कतिपय उद्योगी व्यवसायीहरुले बैंकरमाथि नै धावा बोल्न थालेका छन् । बैंकिङ क्षेत्रमाथि प्रहार हुन थालेपछि गृहमन्त्रालयले पनि यसप्रति चासो देखाएको छ भने बैंकिङ क्षेत्रमा देखिएका विभिन्न घटनाहरुको विषयमा गम्भीर बन्दै राष्ट्र बैंकले पनि एकपछि अर्को नीतिगत व्यवस्था गर्न थालेको छ । धेरैले सिलिकन भ्याली बैंक टाट पल्टनुको मुख्य कारण नियामकले सहयोग नगर्नु पनि भनेका छन् । बैंक समस्यामा परेको बेला नियामकले अन्तिम ऋणदाता सुविधा दिएको खण्डमा बैंक टाट पल्टिनबाट बच्ने बुझाइ धेरैको छ । तर, त्यसो नगर्दा सिलिकन भ्याली बैंक डुबेको तर्क धेरैको छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा बैंक समस्यामा आउन नदिनका लागि नियामकले धेरै भूमिका खेल्न सक्ने बताउँछन् । नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने उनको राय छ । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सुविधा दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले अन्तिम ऋणदाता सुविधा दिन पछि हट्नु हुन्न, हामी कहाँ बैंक आइसकेपछि मर्नु हुन्ने भन्ने मान्यता छ,’ थापाले भने । कुनै पनि देशको बैंक तथा वित्तीय क्षेत्रको नियामकले बैंक तथा वित्तीय क्षेत्रमा समस्या सिर्जना भएमा सो वित्तीय संस्थाको समस्या समाधानका लागि अन्तिम ऋणदाता सुविधा प्रदान गर्छ । नेपाल राष्ट्र बैंकले पनि आइतबार अन्तिम ऋणदाता विनियमावली ल्याएको छ । सिलिकन भ्यालीको घटना र पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्रमा देखिएको सकसका बीच राष्ट्र बैंकले उक्त विनियमावली ल्याएको हो । राष्ट्र बैंक ऐन २०५८ को दफा ४९ को उपदफा २ मा नेपाल सरकारले सर्वसाधारणको हित र कल्याणका लागि कर्जा प्रवाह गर्न उपयुक्त देखिए राष्ट्र बैंकलाई अनुरोध गरेको खण्डमा र त्यस्तो कर्जाको नेपाल सरकारले प्रचलित बजार दरको सुरक्षणपत्रको ग्यारेन्टी दिएमा वा अन्तिम ऋणदाताको रुपमा कार्य गर्नु पर्दा बैंकले असाधारण अवस्थामा बढीमा एक वर्षसम्मका लागि वाणिज्य बैंक तथा वित्तीय संस्थालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार राष्ट्र बैंकले उक्त विनियमावली ल्याएको हो । अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसकी तत्कालको दायित्व पूरा गर्न असमर्थ भई प्रणालीगत जोखिम सिर्जना हुने र बैंकिङ्ग प्रणालीप्रति सर्वसाधारणको विश्वसनियतामा कमी आउन सक्ने जोखिम देखिएमा अन्तिम ऋणदाताको रुपमा राष्ट्र बैंकले यो सुविधा दिने सक्छ । अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप हुने गरी प्रदान गरिने उल्लेख छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थालाई तोकिएका शर्तहरूको अनुपालना भए÷नभए सम्बन्धमा नियमित अनुगमन गरिने बताइएको छ । सो विनियमावलीमा बैंक तथा वित्तीय संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा, ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा र प्रतिवद्धता जनाइसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा लगायतका समस्या देखा परेमा यो सुविधा दिने जनाएको छ । यस्तै, प्राकृतिक प्रकोपको कारण इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा र आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा दिन सक्नेछ । धेरैले सिलिकन भ्याली बैंकको घटनाले राष्ट्र बैंक झस्केर हतार–हतारमा यो विनियमावली ल्याएको बुझेका छन् । तर, नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल भने यो विषयलाई अस्वीकार गर्छन् । उनले इर्मेजेन्सी फण्डलाई व्यवस्थित पार्नका लागि यो विनियमावली ल्याएको बताउँछन् । ‘सिलिकन भ्याली बैंकको घटना र राष्ट्र बैंकको अन्तिम ऋणदाता सुविधालाई अन्तरसम्बन्धित बनाउन मिल्दैन, राष्ट्र बैंकले जतिबेला पनि यो सुविधा ल्याउन सक्छ, अहिले नै आवश्यक परेर भने ल्याइएको होइन, यो सुविधा जुनसुकै बैंकलाई जुनसुकै बेला पनि आवश्यक पर्न सक्छ,’ उनले विकासन्युजसँग भने । उनले यस्तो सुविधा भने बैंकले जुनसुकै बेला प्रयोग गर्न नचाहने धारणा राखे । बैंक डुब्नै लागेको अवस्थामा यो सुविधा उपभोग गर्न चाहन्छ । अन्य अवस्थामा भने अन्तर बैंक कारोबार, रिपो तथा एसएलएफ लगायतका वित्तीय उपकरणहरु प्रयोग गर्छ । ‘हामीले यसअघि पनि यस्तो सुविधा दिँदै आएका थियौं तर त्यो व्यवस्थित थिएन, अब व्यवस्थित बनाउनका लागि यो सुविधा ल्याएका हौं, पहिले राष्ट्र बैंकको सञ्चालक टीम बेसर, निर्णय गरेर हुन्थ्यो, अब विनियमावली अनुसार नै हुन्छ, यो आवश्यक परेर ल्याउने विषय पनि होइन, सिलिकन भ्याली बैंकबाट पाठ सिकेर यो विनियमावली ल्याएको होकी भन्ने कतिपयको बुझाइ हुन सक्छ, त्यो होइन, तर हामीले विश्व वित्तीय क्षेत्रमा भइरहेका घटनाक्रमहरु भने नियालीरहेका हुन्छौं,’ पोखरेलले भने । सम्बन्धित सामग्री : बैंकले बचतकर्ताको रकम फिर्ता गर्नै नसके राष्ट्र बैंकले सुविधा दिने, यी ७ अवस्थामा पाइन्छ सहुलियत यस कारण टाट पल्टियो सिलिकन भ्याली बैंक, नेपाली बैंकले सिक्नु पर्ने पाठ के हो ?
बैंकले बचतकर्ताको रकम फिर्ता गर्नै नसके राष्ट्र बैंकले सुविधा दिने, यी ७ अवस्थामा पाइन्छ सहुलियत
काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धि विनियमावली जारी गरेको छ । राष्ट्र बैंकले अन्तर बैंकिङ बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोबार र तत्कालको दायित्व पुरा गर्न नसक्ने बैंक तथा वित्तीय संस्थाहरुलाई लक्षित गर्दै यो विनियमावली जारी गरेको हो । राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा प्रदान गर्नका लागि विभिन्न सीमाहरु तोकेको छ । बचतकर्ताको निक्षेपको दायित्व तिर्न नसक्ने, कर्जा दिन नसक्ने र संस्थामा परेको समस्या समग्र अर्थव्यवस्थामा पर्न गएमालगायतका अवस्थामा राष्ट्र बैंकले सो सुविधा दिने गरी विनियमावली ल्याएको छ । अन्तिम ऋणदाता सुविधाको रूपमा प्रदान गरिने ऋणको ब्याजदर प्रचलित बैंक दरमा २ प्रतिशत बिन्दुले पेनाल दर थप हुने गरी प्रदान गरिने उल्लेख छ । अन्तिम ऋणदाता सुविधा उपयोग गर्ने इजाजतपत्रप्राप्त संस्थालाई तोकिएका शर्तहरूको अनुपालना भए/नभए सम्बन्धमा नियमित अनुगमन गरिने बताइएको छ । यी ७ अवस्थामा पाइन्छ सुविधा – इजाजतपत्रप्राप्त संस्थाले अन्तरबैंक बजार, दैनिक तरलता सुविधा, खुला बजार कारोवार र स्थायी तरलता सुविधाका माध्यमबाट आवश्यक तरलता व्यवस्थापन गर्न नसक्ने अवस्था भएमा । – इजाजतपत्रप्राप्त संस्थाले आफूसँग बजारयोग्य सम्पत्ति नभएको कारणबाट आफ्नो तत्कालको दायित्व पूरा गर्न नसकने अवस्था भएमा । ठूलो परिमाणको निक्षेप भुक्तान भई वा भुक्तान गर्नुपर्ने अवस्था आई इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व पूरा गर्न सक्षम नभएमा । – इजाजतपत्रप्राप्त संस्थाले प्रतिवद्धता जनाईसकेको कर्जा प्रवाह गर्न असफल भई त्यसको नकारात्मक असर अर्थव्यवस्थामा पर्ने भएमा । – कुनै एक इजाजतपत्रप्राप्त संस्थाको समस्या वा असरले अन्य स्वस्थ संस्था धरासायी हुने गरी प्रणालीगत जोखिम सिर्जना हुने अवस्था आएमा । इजाजतपत्रप्राप्त संस्था आफ्नो वित्तीय दायित्व पूरा गर्न असमर्थ भएको कारण बैंकिंग प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयतामा कमी आउन सक्ने भएमा । -प्राकृतिक प्रकोपको कारण इजाजतपत्रप्राप्त संस्थाले आफ्नो तत्कालको दायित्व भुक्तान गर्न नसक्ने नभएमा । – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण सिर्जित असहज अवस्थाबाट इजाजतपत्रप्राप्त संस्था आफ्नो तत्कालको दायित्व पूरा गर्न असमर्थ भएमा । – इजाजतपत्रप्राप्त संस्थाले आफ्नो दायित्व पूरा गर्न समर्थ नभएमा र त्यस्तो संस्था खारेजीमा लैजाँदा अर्थव्यवस्था तथा वित्तीय प्रणालीमा चुनौती सृजना हुन सक्ने भएमा ।
यस कारण टाट पल्टियो सिलिकन भ्याली बैंक, नेपाली बैंकले सिक्नु पर्ने पाठ के हो ?
काठमाडौं । अमेरिकाको सिलिकन भ्याली बैंक टाट पल्टिएपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा एक किसिमको तरंग पैदा भएको छ । ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरेपछि अमेरिकाको बैंक तथा वित्तीय क्षेत्रमा त्रास उत्पन्न भएको हो । यो घटनालाई लिएर धेरैले वित्तीय क्षेत्रमा संकट सिर्जना रुपमा चित्रण गरेका छन् । कतिपयले यसलाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत बुझेका छन् । सन् २००८ मा वासिंङटन म्युचअल टाट पल्टिएको थियो । सो घटनापछि भएको यस घटनालाई अर्को वित्तीय संकटका रुपमा लिइएकाे छ । सिलिकन भ्याली बैंक अमेरिकाको १६औं ठूलो बैंक हो । नियामकले यो बैंकलाई बन्द गरेर भएको निक्षेपलाई आफ्नो नियन्त्रणमा लिएको छ । केही समय अगाडि देखि नै यस बैंकका वित्तीय स्वास्थ्य बिग्रिएको थियो । बेला बखत यस बैंकको विषयमा नकारात्मक समाचारहरु बाहिरिन्थे । बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा सेयर बेचेर करिब २.२५ बिलियन बराबरको सेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला लगानीकर्ता र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए । बैंकको विषयमा नकारात्मक विषयहरु बाहिरिएपछि निक्षेपकर्ताहरुले समेत धमाधम पैसा निकाल्दै आएका थिए भने ऋणीहरुले पनि समयमै ऋणको सावाँ किस्ता तिर्न मानिरहेका थिएनन् । यो बैंक समस्यामा पर्नुको मुख्य कारण उच्च ब्याजदर भएको विषय पनि बाहिरिएको छ । बैंकको सेयर मूल्य घट्दै जाँदा र लगानी समस्या हुँदा ठूलो सकसमा परेको थियो । अमेरिकाको बैंकहरुको नियामक फेडरल रिजर्भले महंगीलाई लक्षित २ प्रतिशतको दायरामा ल्याउन ब्याज दर वृद्धि गरेको छ । यसले पनि बैंकलाई असर गरेको हो । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले बैंकमा करिब १७५ बिलियन डलर डिपोजिट रहेको जनाएको छ । यस बैंकको लगानीको हिस्सा सबभन्दा बढी प्रविधि क्षेत्रमा रहेको बताइएको छ । बैंकले भारतमा मात्रै करिब दुई दर्जन स्टार्टअपमा लगानी गरेको बुझिएको छ । गत वर्ष अक्टोबरमा मात्रै भारतका स्टार्टअप कम्पनीले सो बैंकबाट करोडौं डलर ऋण लिएको खुलेको छ । यो बैंक टाट पल्टिएसँगै यसको असर भारतमा पनि पर्ने धेरैको विश्लेषण छ । विश्व बैंकको पछिल्लो प्रक्षेपण प्रतिवेदनमा समेत सन् २०२३ देखि विश्वका अधिकांश मुलुकमा आर्थिक मन्दी लम्बिने उल्लेख छ । नेपाली बैंकले सिक्नु पर्ने पाठ पछिल्लो समय नेपाली बैंक तथा वित्तीय क्षेत्र पनि स्वस्थ अवस्थामा छैन । बैंक तथा वित्तीय क्षेत्रले लामो समयदेखि तरलताको समस भोगिरहेका छन् भने बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट उच्च ब्याज लिएको भन्दै उद्योगी व्यवसायी पनि आन्दोलनमा छन् । बैंक तथा वित्तीय संस्थाहरुको नियामक राष्ट्र बैैंक एकपछि अर्को कडा नीति अघि सारेर वित्तीय संस्थाहरुप्रति झन कठोर बनिरहेको छ भने बैंकहरुले राष्ट्र बैंकको नीतिको मौन विरोध गर्दै आएका छन् । उद्योगी व्यवसायीहरुले बढी ब्याजदर भयो भनेर विरोध जनाइरहेको बेला नियामक राष्ट्र बैंकले नै बढी ब्याजलाई नै प्रशय दिइरहेको उसको नीतिबाट प्रष्ट हुन्छ । अहिले राष्ट्र बैंकले साढे ११ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री गरिरहेको छ । जुन बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्र तथा मुद्दती निक्षेप खातामा तोकिएको ब्याजदरभन्दा बढी हो । हाल बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा ११.३३ प्रतिशत ब्याजदर छ । तर, चैतदेखि भने घट्ने बताइएको छ । राष्ट्र बैंकले नै ब्याजदर बढाउने नीति अघि सार्दा यसले सेयर बजारलाई असर गर्ने धेरैको बुझाइ छ । सेयर बजारमा आएको गिरावट नै सिलिकन भ्याली बैंक टाट पल्टिनुको एउटा प्रमुख कारण भएको धेरैको बुझाइ छ । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा यो घटनाबाट नेपाली बैंकहरुले पनि धेरै पाठ सिक्नु पर्ने बताउँछन् । नेपाली बैंकहरुले बैंक जति ठूलो भयो त्यति धेरै जोखिम हुने, कर्जा लगानी एउटै ठाउँमा मात्रै गर्न नहुने, अधिक तरलता हुनु पर्ने र बैंकहरुको समस्यामा नियामकले सहयोग गर्नु पर्ने लगायतका विषयहरु बुझेर अगाडि बढ्नु पर्ने उनको राय छ । सिलिकन भ्याली बैंक जस्ताे ठूलो बैंक डुब्नाले पनि धेरै ठूलो जनमानसमा आर्थिक क्षति पुर्याएको छ र अझै पुर्याउन सक्छ । पछिल्लो समय नेपाली बैंक पनि ठूलो बन्ने लहर सुरु भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरको नीति अघि सारेर बैंक ठूलो बनाउने रणनीति बनाइरहेको छ । यदि त्यो बैंकमा कुनै दिन समस्या आउने वित्तिकै त्यसले ठूलो जनमासनमा असर पर्ने थापाको भनाइ छ । यस्तै, सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा बढी लगानी गरेको थियो । पूर्व कार्यकारी निर्देशक थापका अनुसार बैंकले एउटै क्षेत्रमा लगानी गर्नु राम्रो होइन । ‘सिलिकन भ्याली बैंकले स्टार्टअप क्षेत्रमा मात्रै लगानी गरेको थियो, अब यो घटनाले त्यस बैंकले लगानी गरेको क्षेत्रमा पनि असर पर्ने भयो, नेपालमा पनि घरजग्गा र सेयर बजामा बैंकहरुले बढी लगानी गर्छन्, ती क्षेत्रमा समस्या आयो भने बैंकहरु पनि ठूलो समस्यामा पर्न सक्छन्,’ उनले भने । यस्तै, बैंकहरुले तरलता अनुपात प्रयाप्त राख्नु पर्ने थापाको धारणा छ । अधिक तरलता .नराख्दा पनि बैंकमा समस्या आउन सक्छ । पछिल्लो समय नेपाली बैंकिङमा बैंकको ९० प्रतिशतमा रहेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) को विषयमा व्यापक विरोध पनि हुने गरेको छ । तर, बैंकहरुले यो भन्दा पनि बढी तरलता राख्नु पर्ने थापाको तर्क छ । उनले बैंकमा अधिक तरलता राख्दा जस्तोसुकै समस्या आएपनि बैंकले समाधान गर्न सक्ने क्षमता राख्ने बताए । यस्तै, उनले नियामकले सहयोग नगरेकै कारण पनि सिलिकन बैंकमा समस्या आएको बताउँदै यस विषयमा राष्ट्र बैंकले पनि सजग बन्नु पर्ने राय दिए । ‘केन्द्रिय बैंकले सहयोग गरेन भने पनि यस्तो समस्या आउन सक्छ, सिलिकन भ्याली बैंकलाई त्यहाँको केन्द्रिय बैंकले अन्तिम ऋणदाता सहुलियत दियो भने डुब्ने सम्भावना कम हुन्थ्यो, यस्ता समस्या आउने वित्तिकै केन्द्रिय बैंकले पनि सहुलियत दिन पछि हट्नु हुन्न,’ थापाले भने ।