एनआईसी एशिया बैंकले बचत खाता अन्तर्गत रहेको बीमा वापत दियो १० लाख रुपैयाँ
काठमाडौं । यस एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको १० लाख उपलब्ध गराएको छ । बैंकमा सर्वश्रेष्ठ बचत खाता खोलेका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उनकी श्रीमती लक्ष्मी बस्याललाई बैंकका लुम्बिनी प्रदेश प्रमुख तिलक सुन्दर कार्की चेक हस्तान्तरण गरेका हुन् । बैंकले हालसम्म २०७९ जना ग्राहकलाई बीमा दाबी गरे वापतको ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसकेका छन् । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र रु। ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजारसम्म प्राप्त गर्न सक्नेछन् । ।
कृषि विकास बैंकमा नागरिक लगानी कोषको रकम सङ्कलन गर्ने सम्झौता
काठमाडौं । नागरिक लगानी कोषमा रकम दाखिला गर्ने संस्थाहरुको दाखिला रकम सङ्कलन गर्ने सम्बन्धमा कृषि विकास बैंक र नागरिक लगानी कोषबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । नागरिक लगानी कोषले संचालन गरेको अनलाइन सेवा संचालन गर्ने प्रणाली र कृषि विकास बैंकको बैंकिङ प्रणालीबीच स्वचालित रुपमा एपिआई एप्लिकेसन प्रोग्रामि एन्टरफेस मार्फत् कारोवार गरी सेवा प्रदान गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको हो । यस सम्झौतापश्चात नागरिक लगानी कोषमा रकम जम्मा गर्ने संस्थाले तलब भुक्तानी गर्दाकाे समयमा नै कृषि विकास बैंकको खाता छनौट गरी नागरिक लगानी कोषमा रकम जम्मा गर्न सक्नेछन् । यो सेवाको सुरुवात भएपछि नागरिक लगानी कोषमा रकम जम्मा गरी फाँटवारी पठाउनु पर्ने झन्झट नरहने कुरा नागरिक लगानी कोषका निर्देशक गोपाल घिमिरेले बताए । यस्तै, कोषका ८ लाखभन्दा बढी जम्माकर्ताहरुको विवरण बैंक र कोषको सफ्टवयरबीच स्वचालित प्रणालीबाट सम्वन्ध स्थापित भई फाँटवारी कायम हुने र हिसाब समायोजन तथा फाँटवारी व्यवस्थापनमा सहजीकरण भई दैनिक रुपमा कारोबार रिकन्सिलेशन हुन जाने कुरा समेत उनले बताए । संघ, प्रदेश र स्थानीय निकाय तथा अन्य संगठित संस्थाले आफ्ना कर्मचारीको कोष कट्टी वापतको रकम जम्मा कर्ताको बैंक खाताबाटै कृषि विकास बैंकमा रहेकोे नागरिक लगानी कोषको खातामा रकम जम्मा गर्न सक्ने भएकोले यो सम्झौतापश्चात कोषको खातामा रकम जम्मा गर्न बैंकसम्म जानु नपर्ने कुरा बैंकका उप–महाप्रबन्धक प्रताप सुवेदीले बताए ।
व्यवसाय विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक, नबिल र एनआइएमबिले पछ्याउँदै
काठमाडौं । पछिल्लो समय मर्जरमा गएका वाणिज्य बैंकहरुबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा भएको छ । मर्जरमा गएका नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), कुमारी बैंक, प्रभु बैंक र हिमालयन बैंकबीच व्यवसाय विस्तारमा रोचक प्रतिस्पर्धा हुने गरेको हो । मर्जरमा गएका यी बैंकबीच नम्बर वान बन्न ठूलै अभ्यास भइरहँदा निक्षेप संकलन र कर्जा विस्तार रोचक प्रतिस्पर्धा भएको नेपाल बैंकर्स संघको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन र ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । जसमा मर्जरमा गएका यी ६ बैंकले माघ मसान्तसम्ममा १९ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन र १८ खर्ब १७ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये निक्षेप संकलन र कर्जा प्रवाहमा यी ६ बैंकको हिस्सा धेरै देखिन्छ । सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरेको छ । बैंकले ७ महिनाको अवधिमा १८ अर्बभन्दा बढी निक्षेप भित्र्याएको हाे । जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा पर्छ । माघसम्मको तथ्याङ्क अनुसार बैंककाे निक्षेप ४ खर्ब १५ अर्ब रुपैयाँ पुगेकाे हाे । गत असार मसान्तसम्म बैंकसँग ३ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप थियो । यस्तै, नबिल बैंकले ७ महिनामा ३० अर्ब ८८ करोड रुपैयाँ निक्षेप वृद्धि गरेर ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप पुर्याएकाे छ । गत असार मसान्तसम्ममा बैंकले ३ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ९ अर्ब रुपैयाँ निक्षेप बढाएर ३ खर्ब ५१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारमा बैंकसँग ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, हिमालयन बैंकले माघसम्म ३ अर्ब ९२ करोड रुपैयाँ बढाएर २ खर्ब ७१ अर्ब रुपैयाँ संकलन गरेको छ । गत असारसम्ममा बैंकसँग २ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप थियो । ७ महिनाको अवधिमा २ बैंकको निक्षेप संकलन भने घटेको छ । कुमारी बैंकको १८ अर्ब रुपैयाँ घटेर ३ खर्ब ५ अर्ब रुपैयाँ र प्रभु बैंकको ९ अर्ब रुपैयाँ घटेर २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप पुगेकाे छ । गत असारमा कुमारी बैंकसँग ४ खर्ब २४ अर्ब रुपैयाँ र प्रभु बैंकसँग २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप थियो । कर्जा विस्तारमा ग्लोबल आइएमई बैंक आक्रामक बनेकाे छ । माघसम्म बैंकले ३ खर्ब ७८ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले देखाएको छ । गत असारमा बैंकले ३ खर्ब ७८ अर्ब ९३ करोड रुपैयाँ कर्जा दिएको थियो । बैंकले सबैभन्दा धेर कर्जा प्रवाह गरेपनि ७ महिनाकाे अवधिमा भने ३४ करोड रुपैयाँ कर्जा घटेको छ । यस्तै, नबिल बैंकले १४ अर्ब वृद्धि गरेर ३ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असार मसान्सतम्म बैंकले ३ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको थियो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १० अर्ब वृद्धि गरेर ३ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसअघि गत असारमा बैंकले ३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा वितरण गरेको थियो । यस्तै, कुमारी बैंकको १ अर्ब रुपैयाँ कर्जा घटेको छ । बैंकले माघसम्म २ खर्ब ८४ अर्ब रुपैयाँ प्रवाह गरेको थियो । गत असार मसान्तसम्म बैंकले २ खर्ब ८६ अर्ब रुपैयाँ प्रवाह गरेको थियो । यस्तै, प्रभु बैंकले ७ अर्ब ९७ करोड बढाएर २ खर्ब ४९ अर्ब रुपैयाँ र हिमालयन बैंकले ७ अर्ब ९४ करोड बढाएर २ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत असारसम्म प्रभु बैंकले २ खर्ब ४१ अर्ब रुपैयाँ र हिमालयन बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।