मुक्तिनाथ विकास बैंकले तीन दिनभित्रै २ करोडसम्मको कर्जा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएको छ । बजारमा देखिएको तरलता संकटसँगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । यस योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिनभित्रै सस्तो ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ । बैंकको अनुसार ग्राहकले मिस्ड कल गरी वा बैंकको वेवसाईटमा गई अनलाईन मार्फत कर्जा आवेदन दिन सक्नेछन ।
एनआईसी एशियाले सर्वश्रेष्ठ बचत खाताको बीमा अन्तर्गत दियो १० लाख रुपैयाँ
काठमाडाैं । एनआईसी एशिया बैंकले घातक रोग बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत रकम भुक्तानी गरेकाे हाे । ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत ३ करोड, दुर्घटना बीमा वापत १ करोड ३० लाख र मेडिकल बीमा वापत ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् । एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
लक्ष्मी बैंकले धितोमा राखेका ४६ वटा मोटरसाइकल र स्कुटर बेच्दै
काठमाडौं । लक्ष्मी बैंकले धितोमा राखिएको घरजग्गा र ४६ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि ऋणीले वेवास्ता गरेपछि धितो राखिएको घरजग्गा र सवारी बिक्री गरेर असुल गर्ने भएको हो । व्यास नगरपालिका तनहुँका ऋणी खड्गमाई मोटर्सका सञ्चालक राम कुमारले कर्जा लिई पटक पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । गोप्य सिलबन्दी बोलपत्र बैंकको शाखा कार्यालय दमौली, तनहुँमा दाखिला गर्नुपर्नेछ । ऋणी राम कुमार श्रेष्ठको नाममा रहेको व्यास नगरपालिकामा रहेको कित्ता नम्बर २१ को ८–१–०–० क्षेत्रफल भएको जग्गा र जमानतकर्ता कल्पना श्रेष्ठको नाममा रहेको कित्ता नम्बर १४१९ को ०–२–३–२ क्षेत्रफल भएको जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । साथै, बैंकको नाममा दर्ता रही ऋणी खड्गमाई मोटर्सले लिएका विभिन्न कम्पनीका मोरसाइकर र स्कुटर्सहरु बिक्रीमा राखिएको हो । यदि ७ दिनभित्रमा कर्जाको सम्पूर्ण साँवा ब्याज तथा हर्जना लगायतका अन्य दस्तुर चुक्ता गरेमा धितो फुकुवा गरी लैजान बैंकले आग्रह गरेको छ ।