बैंकको मोटरसाइकल हरायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मोटरसाइकल हराएको छ । साविक मेगा बैंक हुँदा १५० सीसीको पल्सर मोटरसाइकल हराएको बैंकले जनाएको छ । साविक मेगा बैंकको नाममा दर्ता रहेको प्र ०३–०२–०१२ प ३०५१ नम्बरको पल्सर १५० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन बैंकले आग्रह गरेको छ । मोटरसाइकलको इन्जिन नम्बर डीएचवाइआरकेडी ५३८९१ र च्यासिस नम्बर एमडी २ए ११सीवाई ५केडी २५३८६ कालो रंगको पल्सर १५० सिसि मोडलको मोटरसाइकल रहेको बैंकले जनाएको छ । बैंकको मोटरसाइकल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनोहरा फाँटबाट हराएको थियो । उक्त मोटरसाइकल गत पुस २ गते शनिवारका दिन बेलुका साढे ९ बजेदेखि हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालय वा बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नेप्सेमा प्रभु बैंकको १० करोड ७७ हजार कित्ता सूचीकृत, सेञ्चुरी बैंकको सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्रभु बैंकको सेयर सूचीकृत भएको छ । साविकको सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरे पश्चात कामय सेयर नेप्सेमा प्रभु बैंकमा सूचीकृत भएको हो । साविकको सेञ्चुरी बैंकलाई प्रभु बैंकले १ः१ स्वाप रेसियो अनुपातमा प्राप्ति गरेपश्चात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । धितोपत्र सूचीकरण विनियमावली अनुसार दोस्रो बजारमा किनबेच गर्न मिल्ने गरी उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । अब नेप्सेमा प्रभु बैंकको कूल २३ करोड ५४ लाख २४ हजार ८९९ कित्ता सेयर पुगेको छ भने नेप्सले सेञ्चुरी बैंकको सूचीकरण खारेज भएको छ ।

कुमारी बैंकले ल्यायो पैसा डबल हुने मुद्दती खाता, बीमाको सुविधा पनि

काठमाडौं । कुमारी बैंकले जीवन बीमा सुविधा सहितको थप मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै अवधि जीवन बीमा मार्फत जोखिम व्यवस्थापन हुनेछ । बैंकले कुमारी जीवन बीमा २ एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको जानकारी दिएकाे छ । सो योजना अन्तर्गत मुद्दती रकम बराबरको अवधिक जीवन बीमा सुविधा वापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्ने बताइएकाे छ । बैंककाे अनुसार यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युनतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । यस याेजनामा ग्राहकहरुले निक्षेप अवधिसम्मका लागि जीवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकम दुई गुणा वृद्धि हुने बैंकले बताएकाे छ । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्सुरेन्स कम्पनी रहेको छ । कुमारी बैंकले देशव्यापी ३०४ शाखा सञ्जाल, २९४ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४९ एक्सटेन्सन काउन्टरबाट सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।