राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुधा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा गभर्नरको कार्यालयकी कामु निर्देशक सुधा श्रेष्ठ नियुक्त भएकी छन् । बैंकले सोमबार (आज)देखि लागू हुने गरी श्रेष्ठलाई उक्त जिम्मेवारी सुम्पिएको जनाएको छ । नवनियुक्त सहप्रवक्ता एवं सूचना अधिकारी श्रेष्ठ विगत लामो समयदेखि केन्द्रीय बैंकमा सेवारत छिन् । उनी विसं. २०६४ सालदेखि नेपाल राष्ट्र बैंकमा आबद्ध भई विभिन्न विभागहरूमा कार्यअनुभव सँगालेकी दक्ष अधिकृत हुन् । केन्द्रीय बैंकले सर्वसाधारण र सञ्चारमाध्यमलाई बैंकका सूचना तथा गतिविधिहरू पारदर्शी र सहज रूपमा उपलब्ध गराउनका लागि उनको सम्पर्क विवरणसमेत सार्वजनिक गरेको छ।
एनआईसी एशिया बैंकको साधारण सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । एनआईसी एशिया बैंकको २८औं वार्षिक साधारण सभा सोमबार काठमाडौंस्थित भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । यसैगरी, सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आवश्यक नियामक निकायको स्वीकृति पश्चात् बैंकको हाल कायम चुक्ता पुँजीको २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ । अन्य विविध प्रस्तावहरू समेत पारित गरिएको बैंकले जनाएको छ । सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारी निर्वाचित भएका छन् ।
फलाखु खोला जलविद्युतमा एनआईसी एशिया बैंकको ९५ करोड लगानी
काठमाडौं । एनआईसी एशिया बैंकले जलविद्युत क्षेत्रमा लगानी विस्तारलाई तीव्रता दिएको छ । बैंकले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो । एक विशेष कार्यक्रमको आयोजनाका बीच बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरे । नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यो जलविद्युत आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपश्चात वार्षिक करिब ३८.७४ गिगावाट हावर विद्युत उत्पादन हुने जनाइएको छ । यस आयोजनाबाट मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई देशको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।