महालक्ष्मी विकास बैंकद्धारा अनाथालयलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । यसैबीच बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण गरेको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष मोहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको जनाएको छ । सुदुरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।
११ प्रतिशत ब्याज पाइने महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । महालक्ष्मी विकास बैंकले आज चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।
‘गत वर्ष निद्रा लाग्दैनथ्यो, अहिले सहज भएको छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधार हुँदा सबै कुराहरु सुधार हुँदै गएको बताएका छन् । वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक कार्यक्रममा पत्रकारहरुसँग बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रमा सुधार हुँदै जाँदा सहज भएको बताएका हुन् । साथै, अहिले यहि अवस्थालाई स्थिर तथा निरन्तरता दिनुपर्ने उनको भनाइ छ । ‘तथ्याङ्क हेर्दा स्थिती निकै सुधार भएको छ, गत वर्ष धेरै कमजोर अवस्थामा हुँदा निद्रा नै लाग्दैनथ्यो, चालू खाता स्थिती १२.८ प्रतिशत नकारात्मक थियो तर अन्य देश कुनैको पनि थिएन, अहिले १२.८ नकारात्मकबाट बाउन्स ब्याक भएर सहज स्थितीमा आएको छ, भविष्यमा आवश्यक औषधी, निर्माण सामाग्री लगायतका वस्तुहरु खरिद गर्न सक्ने स्थिती बनेको छ,’ उनले भने । चालु आर्थिक वर्षको ८ महिनामा आइपुग्दा अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक रहेको बताउँदै उनले अर्थतन्त्रमा सकारात्मक सुधार भएपछि जनताले महशुस हुने गरी सुधार हुन नसकेको बताए । अघिल्ला वर्षहरुमा पनि कर्जाको लागत १३ प्रतिशत हुँदा आर्थिक क्रियाकलाप भएको यसपटक भने सोही अवस्थामा व्याजदर हुँदा पनि आर्थिक क्रियाकलापमा कमी आएको गभर्नर अधिकारीको भनाइ छ । ‘अर्थतन्त्तका सबै सूचक सकारात्मक छन् तर, समाजले महशुस गर्न पाएका छैनन्, सबैले ब्याज बेसी भयो भनेर छटपटी भइरहेको छ, ब्याज बेसी मात्रै भएर होकी अरु अर्थतन्त्र चलायमान नहुँदा समस्या आएको हो ? अर्थतन्त्रमा व्याजदरले मात्रै प्रभाव पार्दैन, अरु तत्वले पनि असर गरेको हुन्छ,’ उनले भने, ‘ब्याजदर बढी भयो भनेर राष्ट्र बैंक तिरै औंला ठड्याउनु हुन्छ तर, कुनै वस्तु उत्पादन गर्न ब्याजको कम्पोनेन्ट कति हुन्छ भनेर गणना गर्न जरुरी छ, आर्थिक क्रियाकलाप कम हुँदा समस्या आएको हो ।’ आवश्यक परेका ऋणीहरुलाई मात्रै कर्जा उपलब्ध गराउन उनले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिए । साथै, कर्जाको गलत प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थालाई कारवाहीको दायरामा ल्याएको अधिकारीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धेरै बैंक र सीईओलाई कारवाही गरिएको छ । राष्ट्र बैंकले गलत बैंकिङ्ग अभ्यास गर्ने विषयमा थप अध्ययन पनि गरिरहेको उनको भनाइ छ । ‘राष्ट्र बैंकले धेरै सुविधा दिएको छ, आवश्यक परेको ऋणीलाई मात्रै कर्जा दिनुहोस्, व्यवसाय पुनत्र्थान, विजनेशमा वृद्धि र दीर्घकालमा टिकाउ गर्न सक्नेलाई मात्रै कर्जा दिनुस्, रिकोभर नै हुँदैन भने दिनु पर्दैन,’ उनले भने, ‘कतिपय व्यवसायीहरुले गलत प्रयोग गरेका छन्, राष्ट्र बैंकले ठाउँका ठाउँ कारवाही पनि गरेको छ, अघिल्ला वर्षहरुको तुलनामा धेरै बैंक र सीईओहरुलाई कारवाही, पेनाल्टी लगाएका छौं ।’ बैंकबाट ऋण लिएपछि तिर्नु हुँदैन भन्ने कुरा अराजक भएको उनले बताए । यस्ता गतिविधि गर्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन राष्ट्र बैंकले पहल चालिरहेको उनको भनाइ छ । बैंकमा तरलता सहज भएपनि पछिल्ला घटनाक्रमले बैंकहरुले सहजै कर्जा नदिएको उनले बताए । ‘तरलता सहज भएको छ तर, ऋणीले कर्जा पाएका छैनन्, पछिल्ला गतिविधिले बैंकहरुलाई सचेत गराएको छ, सहज रुपमा ऋण दिनु हुँदैन, जथाभाबी ऋण दिएपछि विरोध हुन्छ भनेर बैंकरहरु सचेत भएका छन्,’ उनले भने । लघुवित्त वित्तीय संस्थाहरुको ब्यापक सुधार गर्नुपर्ने राष्ट्र बैंकले महशुस गरेको उनले बताए । लघुवित्त संस्थाहरुलाई दीर्घकालसम्म टिकाउनका लागि लाभांशमा कडाइ गरेको गभर्नर अधिकारीको भनाइ छ । लगानीकर्ताले १५ प्रतिशत मात्रै वितरण गर्दा बाँकी नाफा दीर्घकालसम्म सञ्चालन गर्न सक्ने, रिटर्न अर्निङ बढ्ने, तरलता सहज हुने उनले बताए । ‘लघुवित्तको लाभांश कम गराएकै हो किनभने अहिले सकसमा परेका छन्, एकैचोटी सबै नाफा वितरण गर्दा भोलिका दिनमा संस्था नै कोल्याप्स भयो भने के गर्ने ?, अहिलेदेखि नै सुधार गरेर लघुवित्तको दीगोपना बढाउन आवश्यक छ, लघुवित्त विरुद्ध विरोध गरेर संस्था आवश्यक छैन, औचित्य नै छैन भनेर हल्ला चलाएका छन्,’ उनले भने, ‘घुवित्तलाई जोगाउन लाभांशमा कडाई गरेको हो, अघुवित्तले सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेका छन् ।’ पछिल्लो ४ महिनायता प्रत्येक महिना १ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रीरहेको उनले बताए । अर्थतन्त्र सुधार हुँदै जादा उच्च रहेको ब्याजदर निरन्तर घटिरहेको उनको भनाइ छ । रास्ट्र बैंकका कामकारवाहीलाई राजनीतिसँग जोड्न नमिल्ने गभर्नर अधिकारीले बताए । ‘राष्ट्र बैंकले नीति निर्देशन जारी गर्दा २ दर्जन मान्छे सहभागी हुन्छन्, समग्र अर्थतन्त्रलाई मध्यनजर गरी नीति निर्देशन जारी गर्छ, कसैको व्यवसायिक स्वार्थ पुरा भएन भन्दैमा परिवर्तन गर्छ भन्ने बिल्कुलै सोच राख्न हुँदैन, राष्ट्र बैंक स्वायत्त संस्था भएकाले हरेक कामकारवाहीलाई राजनीतिसँग नजोडिदिनुहोला, राष्ट्र बैंक ‘प्रोफेसनल’ संस्था थियो, छ र भोलि पनि हुनेछ,’ उनले भने ।