नबिल बैंकमा ‘पीटूपी’ रेमिट्यान्स सेवा सुरु
काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज र आधुनिक बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ‘पियर–टु,पियर’ (पीटूपी) रेमिट्यान्स सेवाको सुरुवात गरेको छ। बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै विदेशमा रहेका नेपालीहरू तथा स्वदेशभित्रै पनि पैसा पठाउन र प्राप्त गर्न अझ सरल बनाउने उद्देश्यले यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । यस नवीन पीटूपी रेमिट्यान्स सेवा अन्तर्गत ग्राहकहरूले कुनै पनि मध्यस्थकर्ता वा परम्परागत एजेन्टबिना सिधै एक व्यक्तिको खाता वा मोबाइल वालेटबाट अर्को व्यक्तिको खातामा तत्काल रकम पठाउन र प्राप्त गर्न सक्नेछन् । यो सेवा चौबीसै घण्टा र सातै दिन उपलब्ध हुने बैंकले जनाएको छ । नबिल बैंकका अनुसार यो सेवा सुरक्षित, भरपर्दो र अत्यन्तै द्रुत गतिको छ। सुरक्षित प्रविधि र अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अपनाएर सुरु गरिएको यो सेवाले रेमिट्यान्स पठाउँदा लाग्ने समय र अतिरिक्त शुल्कलाई समेत निकै कम गर्ने विश्वास लिइएको छ । विशेष गरी वैदेशिक रोजगारी, अध्ययन वा अन्य सिलसिलामा विदेशमा रहेका नेपालीहरूले यस सेवामार्फत नेपालमा रहेका आफ्ना परिवार र आफन्तलाई बिना कुनै झन्झट तत्कालै पैसा पठाउन सक्नेछन् । बैंकले आफ्ना ग्राहकहरूलाई सधैं परिष्कृत र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता स्वरूप यो कदम चालेको बताएको छ । डिजिटल नेपालको अभियानलाई टेवा पुर्याउँदै बैंकले आगामी दिनमा पनि यस्ता अत्याधुनिक र ग्राहकमुखी सेवाहरू थप्दै लैजाने योजना बनाएको छ । हाल नबिल बैंकले देशभर रहेका आफ्ना वृहत शाखा सञ्जाल, एटीएम र परिष्कृत मोबाइल बैंकिङ एपमार्फत लाखौं ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
काठमाडौं । कुमारी बैंकका ग्राहकले ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच भएको सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू अन्तरंग, बहिरंग, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशतसम्मको छुट प्रदान हुने भएको हो । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ ईकाईहरूमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीको रूपमा लिँदै बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ । बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात गर्दै बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ ।
प्रभु बैंकद्वारा अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण
काठमाडौं । प्रभु बैंक लिमिटेडले श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । बैंकको गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा विद्यालयलाई उक्त स्मार्ट बोर्ड प्रदान गरिएको हो । शिक्षामा प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूलाई आधुनिक तथा गुणस्तरीय शिक्षासँग जोड्ने उद्देश्यले यो सहयोग गरिएको बैंकले जनाएको छ । स्मार्ट बोर्डको प्रयोगसँगै विद्यालयमा डिजिटल शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको अवस्थामा विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराई भविष्यका लागि सक्षम, दक्ष र प्रतिस्पर्धी नागरिक तयार पार्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ । प्रभु बैंकले शिक्षा, नवप्रवर्तन तथा समुदाय विकासलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्मार्ट बोर्ड हस्तान्तरण कार्यक्रमले गुणस्तरीय शिक्षाको प्रवर्द्धन तथा डिजिटल विभाजन न्यूनीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले बैंकको यस पहलको प्रशंसा गर्दै विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।