सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा छुट

काठमाडौं । सिटिजन्स बैंक र बारा सिमरा स्थित होटल इच्छाबीच समझदारी भएको छ । बैंक र बारा होटल इच्छाबीच बैंकका  ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् बैंकका कार्डबाहकले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछ । यस  बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हिमालयन बैंकले दियो न्यूरोडको संकटा क्लबलाई १० लाख रुपैयाँ

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ । बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।

अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।’ पछिल्लो तीन महिनाको औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुनेबारे बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा ऋणीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ । आधारदर निर्धारणसम्बन्धी कार्यविधि, २०६९ बमोजिम मासिकरुपले आधारदर गणना गरी उक्त विवरण महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार मासिक तथा पछिल्लो तीन महिनाको औसत आधारदर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेभसाइटमासमेत प्रकाशित गर्नुपर्नेछ । कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । जस्तै कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत बिन्दुले प्रिमियम थप गर्न पाउँछन् ।