नबिल ढुक्क बचत खातामा १० लाखसम्म को बीमा, व्याज ७.४० प्रतिशत
काठमाडौं । नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बीमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत एक लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्। त्यसै गरी यस खातामा निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट, तथा मेरो सेयरको सुविधा पाउन सकिने नबिल बैंकले जनाएको छ। महिनामा ५ पटकसम्म अरू बैंकको एटिएमबाट पनि निःशुल्क पैसा झिक्न पाइने सुविधा यस खातामा रहेको छ। नबिल फोन लोनको सुविधा पनि यस खाताको विशेषता रहेको छ। साथै लक्करको सुविधा पनि रहेको यस खातामा लक्कर पहिलो वर्ष निःशुल्क रहेनछ भने दोस्रो वर्षबाट ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। ७.४० प्रतिशतको उच्च ब्याजदर समेत रहेको नबिल ढुक्क बचत खाता खोल्नका लागी ग्राहक वर्गले न्यूनतम एक लाख अनिवार्य जम्मा गर्नुपर्नेछ । दैनिक रूपमा काममा आउने बैंक सेवा तथा सुविधामा विशेष छुट दिने गरी ल्याइएको यस ढुक्क बचत खाताले ग्राहक वर्गका आवश्यकता पुरा गर्ने बैंकको विश्वास व्यक्त गरेको छ ।
सिद्धार्थ बैंकले ल्यायो ‘पे एण्ड सेभ खाता’, शुन्य मौज्दातमै खोल्न सकिने
काठमाडौं । सिद्धार्थ बैंकले अभिभावक तथा बालबालिकालाई लक्षित गर्दै नेपालमै पहिलो पटक अद्वितीय सुविधा भएको ‘सिद्धार्थ पे एण्ड सेभ खाता’ सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार शुन्य मौज्दातमै खोल्न सकिने यस खातामा अभिभावकले डेबिट कार्ड र मोबाईल बैंकिङ्ग मार्फत १०० भन्दा बढीको विद्युतिय कारोबार गरेको अवस्थामा सो कारोबार रकमलाई आधार बनाई निश्चित रकम अभिभावकको खाताबाट कट्टा भई बालबालिकाहरूको खातामा स्वतः जम्मा हुनेछ । डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै बालबालिकाको लागी आजैबाट स–सानो बचत गर्दै जान अभिप्रेरित गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस खातामा बैंकले अभिभावक र बालबालिका दुबैको खातामा विशेष आकर्षणको रुपमा पहिलो वर्षका लागि नि:शुल्क डेबिकार्ड र बैंकस्मार्ट एक्सपी सेवा प्रदान गर्नेछ । साथै, ग्राहकहरुलाई यस खातामा सीमित अवधिका लागि क्यासब्याक योजना पनि उपलब्ध गराईएको बैंकले जनाएको छ । यस क्यासब्याक योजना अन्तर्गत अभिभावकहरुले डेबिट कार्ड मार्फत पहिलो पटक पिओएस् वा अनलाईनबाट न्युनतम एक हजारको कारोबार गर्दा ५५ प्रतिशतसम्म क्यासब्याक पाउन सक्नेछन् । बैंकको अनुसार यसरी प्रदान गरिने क्यासब्याक रकम बालबालिकाहरुको खातामा जम्मा हुनेछ । सिद्धार्थ बैंककोे १९५ शाखा कार्यालयहरुबाट सहजै यो बचत खाता खोल्न सकिने बैंकले जनाएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन, २०२३ मा बोल्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा यसै साता सार्वजनिक हुने बताएका हुन् । उनले यहि महिनाभित्र मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्ने तयारीमा राष्ट्र बैंक रहेको बताएका हुन् । यही महिना भनेको अब एक साता मात्रै बाँकी छ । राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाको तयारीमा जुटेको उनले बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा भएकाले धेरै अपेक्षा राख्न नहुने बताए । पछिल्लो समय राष्ट्र बैंकप्रतिको अपेक्षा प्रत्येक दिन बढिरहेकाले आवश्यक भारी मात्रै बोक्न सक्ने उनको भनाइ छ । मौद्रिक नीतिको क्षेत्रभित्र बसेर राष्ट्र बैंकले काम गर्ने उनले बताए ।