सनराइज बैंक विद्यालयलाई दियो ३ थान प्रोजेक्टर

काठमाडौं । सनराइज बैंकले धनगढीको ऐश्वेर्या विद्या निकेतनलाई तीन थान प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा प्रभावकारी शिक्षा संचालनका प्रोजक्टर हस्तान्तरण गरेको हो । मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपाल ज्यूले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझा ज्यूलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने बताए ।  सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए । यसका साथै, बैंकले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाइदिएको छ ।

कामना सेवाका ग्राहकलाई कपाल प्रत्यारोपण गर्न ४५ प्रतिशतसम्म छुट

काठमाडाैं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । बैंक र हेल्थ केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध ग्राहकहरुले काठमाडौंकाे विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमामा ४५ प्रतिशतसम्मको छुट, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्मकाे छुट पाउनेछन् । यति मात्र नभएर ग्राहकले डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा ५ प्रतिशतसम्म, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

असारपछि ऋण र निक्षेपको ब्याज घट्छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असार मसान्तपछि बैंकको ब्याजदर घट्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले असारपछि बैंकको आधारदर घट्ने र आधारदर घटेपछि बैंकको निक्षेप र कर्जाको पनि ब्याज घट्ने धारणा राखे । उनले ब्याज घट्ने संकेत चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् पनि भएको बताउँदै अब ऋणीलाई पनि केही सहज हुने धारणा राखे । उनले अब अर्थतन्त्र पनि केही सहज हुने पनि बताए । उनले नेपाल राष्ट्र बैंक नेपालको औद्योगिक क्षेत्रको विकासको लागि काम गरेको बताउँदै मौद्रिक नीतिमार्फ्त पनि समस्यामा परेका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको बताए । उनका अनुसार राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई बढी प्राथिमकता दिने बताए । उनले साना तथा सम्झौता उद्योगलाई धेरै समस्या नपसोस् भनेर आधार दरमा २ प्रतिशत प्रिमियम राखेको बताउँदै राष्ट्र बैंकको नीतिले पनि केही सहज हुने बताए । उनले अब सरकारले ल्याउने बजेटलाई नै आधार मानेर आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताए । यस्तै, उनले राष्ट्र बैंकले कुनै पनि विषयमा नजरअन्दाज गरेर नबस्ने बताए । उनले राष्ट्र बैंकले नियममनलाई प्रभावकारी गर्ने बताउँदै नेपालको वित्तीय क्षेत्रको विकासका लागि राष्ट्र बैंक सधैं एक कदम अगाडि रहने उनको भनाइ छ ।