माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै
काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे ३ वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा ४० करोड रुपैयाँ लगानी भइसकेको बताए । ‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ, धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ,’ उनले भने । झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक (साविकको सिभिल बैंक)ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी गरिएको बताए । सो परियोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहने उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए । परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार ८४० थान प्यानल स्टेन जडान भइसकेको बताए । हाल स्थापना गरिएका प्यानल स्टेनमा ८१९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ । ‘कुनै ठूला टेबल हुन्छन् कुनै साना, कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ,’ उनले भने । बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताए । उनले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उनले बताए । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी २ वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादित विद्युत् प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए । झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । रासस
सिद्धार्थ बैंकले ११.७५ प्रतिशतमै घर कर्जा दिने
काठमाडौं । पछिल्लो समय घरजग्गा व्यवसायमा मन्दी छाएको छ । घरजग्गाको कारोबारमा कमी आउँदा सरकारले समेत लक्ष्य अनुरुपको राजश्व संकलन गर्न सकेको छैन । घरजग्गाको कित्ताकाट रोकेका कारण कारोबार हुन नसकेको व्यवसायीहरु गुनासो गरिरहेका छन् । साथै, नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा जाने कर्जामा कडाई गरेपछि कारोबार सुस्ताएको उनीहरुको तर्क छ । मन्दीकै बीच बैंकहरुले फागुन मसान्तसम्म २ खर्ब रुपैयाँभन्दा बढी घर कर्जा प्रवाह गरेका छन् । तरलता क्रमशः सहज हुने अपेक्षासहित बैंकहरु घरकर्जा प्रवाह गर्ने योजनाहरु सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले घर कर्जालाई उच्च प्राथमिकतामा राखेर सहुलियत पूर्ण ब्याजदरका कर्जा योजना अगाडि सारेका छन् । केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाहरुले कर्जाप्रवाह गर्दा १५ प्रतिशतसम्म ब्याज लिइरहेका थिए । तर, सिद्धार्थ बैंकले भने आधार दर सरह नै ब्याजमा घर कर्जा प्रवाह गर्ने योजना ल्याएको छ । बैंकले ‘सिद्धार्थ हाम्रो घर कर्जा’ नामक योजना मार्फत ११.७५ प्रतिशतमै कर्जा प्रवाह गरिरहेको बताएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । आवासीय घर किन्न, भइरहेको घरमा तला थप्न वा रिनोभेट गर्न, हाल भइरहेको जग्गामा घर बनाउन, अपार्टमेन्ट किन्नका लागि बैंकले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिने भएको छ । बैंकहरुले हाल कर्जामा अधिकतम १५ प्रतिशतसम्म ब्याज लिइरहेका छन् । तथ्याङ्क अनुसार अधिकांश बैंकहरुको घरकर्जाको ब्याजदर १२ प्रतिशतभन्दा माथि रहेको छ । तर, सिद्धार्थ बैंकले भने ११.७५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ । बैंकका अनुसार सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनुरुप फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल ब्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुने छैन । यस्तो कर्जामा ८४ महिनासम्म बैंकलाई बुझाउनु पर्ने किस्ता रकम समान हुनेछ । फ्लोटिङ रेटमा भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुन सक्नेछ । यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिने बैंकले जनाएको छ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिने बैंकले जनाएको छ । बैंकहरुले धितोको आधारमा कर्जा प्रवाह गर्छन् । सिद्धार्थ बैंकले बजार मूल्यका आधारमा धितोको मूल्याङ्कन गरी कर्जा उपलब्ध गराउनेछ । कर्जा सुरक्षणका रुपमा राखिएको धितोको मुल्याङकनकोे ६० प्रतिशत सम्म कर्जा उपलब्ध गराइने बैंकले बताएको छ । यदि कुनै ग्राहकले १ करोडको धितो बैंकमा राख्यो भने ६० लाख रुपैयाँ कर्जा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ । बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि कर्जा दिनेछ । बैंकले १८ वर्ष पूरा भएका र कर्जा अवधि पूरा हुँदा ८० वर्ष ननाघ्ने गरी सबैलाई कर्जा दिनेछ । निश्चित ब्याजदर योजना अन्र्तगत कर्जा लिने ग्राहकले ७ वर्षपछि परिवर्तित ब्याजदरमा किस्ता भुक्तानी गर्न सक्नेछन् । बैंकले कर्जा प्रवाह गर्दा सेवा शुल्क भनेर कर्जा रकमको ०.७५ प्रतिशत लिन्छ । त्यसका अतिरिक्त कर्जा सूचना केन्द्रले २५० देखि ५०० रुपैयाँसम्म शुल्क लिन्छ । धितो मूल्याङ्कन गर्ने इन्जिनियरिङ कन्सलटेन्सी, कर्जा तथा सम्पत्तिको बीमा शुल्क, सरकारको नियम अनुसार लाग्ने मालपोत कार्यालयको शुल्क अलग्गै लाग्छ । के के डकुमेन्ट चाहिन्छ ? ग्राहकले उपलब्ध गराएको कागजपत्रहरुको आधारमा बैंकले कर्जा स्वीकृत गर्नेछ । यदि सबै प्रक्रिया पुर्याएको छ भने बैंकले कर्जा स्वीकृत गर्ने बताएको छ । कर्जा प्राप्त गर्न ग्राहकको बैंकले उपलब्ध गराउने आवेदन फारम भर्नुपर्नेछ । साथै, ग्राहकको नागरिकता, पासपोर्ट साइज फोटो, नाता जनाउने वा सम्बन्धन प्रमाणपत्रहरु, आम्दानीको स्रोतका कागजातहरू (बैंक स्टेटमेन्ट र कर क्लियरेन्स) उपलब्ध गर्नुपर्नेछ । साथै, धितो सुरक्षणका लागि कम्तिमा ८ फिट चौडाको सडक, जग्गाको तिरो तिरेका रसिद, सम्बन्धीत निकायबाट स्वीकृत भवनको नक्साको प्रमाणपत्र रहेको लालपुरर्जा उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ । साथै, कर्जा लिन आएका जमानीकर्ताको रुपमा ब्यक्तिगत जमानीकर्ताका साक्षि पनि हुनु पर्नेछ । सिद्धार्थ बैंकको यस ‘सिद्धार्थ हाम्रो घर कर्जा’ को विस्तृत विवरण बैंकको वेबसाइट वा नजिकैको शाखाकार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्राहकहरुले यस कर्जा लिन यस पेजमा https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan भएको “I am interested”भएको बटन क्लीक गरीे फर्म भर्न सक्नुहुनेछ ।
१० प्रतिशत रकम असुल गरेर मात्रै कर्जा पुनरसंरचना गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा पुनरसंरचना गर्दा १० प्रतिशत रकम असुल गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल गरी कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र ५ करोड रुपैयाँसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी विभिन्न शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिनेछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार पुनरतालिकीकरण तथा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्नु पर्ने, २०७९ चैत मसान्तमा सक्रिय वर्गमा बर्गीकरण भएको कर्जा र पुनरसंरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । पुनरतालिकीकरण तथा पुनरसंरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा बर्गीकरण गरिएको छ सोही वर्गमा बर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकले बताएको छ । यस्तै, २०७९ चैत मसान्तमा असल वर्गमा बर्गीकरण भएका अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै हर्जाना तथा शुल्क नलाग्ने गरी २०८० असार मसान्त भित्र ३ महिनाको लागि म्याद थप गर्न सकिने भएको हो ।