‘मौद्रिक नीतिले घरजग्गाको कारोबार बढाउँछ, प्राविधिक हिसाब गरेरै कर्जा विस्तारको लक्ष्य साढे ११ प्रतिशत’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर ललिलो नीति लिएको उनले बताए । आइबिएन मिडियाले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार रहेको पनि स्पष्ट पारे । ‘७ प्रतिशतको नीतिगत दरलाई साढे ६ प्रतिशत बनाइएको छ । यस्तो लचिलो नीति लिनुका पछाडि केही आधार छन् । अहिले बाह्य क्षेत्रमा सहज भएको छ । वर्षान्तमा तरलता पनि सहज देखिपछि राष्ट्र बैंकले नीतिगत दर घटाएको हो,’ गभर्नर अधिकारीले भने, ‘घरजग्गा क्षेत्रमा गिरेको मनोबललाई उकास्न पनि मौद्रिक नीतिले केही व्यवस्था गरेको छ ।’ त्यस्तै चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशत, ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी तय भएको मूल्यवृद्धिको लक्ष्य प्राप्त गर्नेगरी मौद्रिक नीति आएको उनको भनाइ थियो । चालु आर्थिक वर्षका लागि ५ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह हुने लक्ष्य राखिएको र यो महत्वाकाङ्क्षी नभई मौद्रिक सूचकहरुको विश्लेषणबाट तय गरिएको गभर्नर अधिकारीले बताए । ‘चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तारको दर साढे ११ प्रतिशतले बढेर ५ खर्ब ६२ अर्ब रुपैयाँ बराबर रहने भनिएको र यो प्राविधिक रुपमा हिसाब गरेरै ल्याइएको हो । त्यो हासिल हुनेमा हामी आशावादी छौँ,’ उनले भने, ‘तरलतामा आएको सुधार, घट्दो ब्याजदर, विप्रेषण आप्रवाहको स्थिति, सरकारी बजेट खर्चको अवस्था सुधार्नका लागि ल्याइएका कार्यक्रमलगायत विषय हेरेर यसवर्षको कर्जाको वृद्धिदरको प्रक्षेपण गरिएको हो ।’ गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएकामा यस्तो वृद्धिदर ३ प्रतिशतमा मात्रै सीमित भएको थियो । सरकारले अपेक्षितरुपमा पुँजीगत खर्च गर्न नसक्नु, आर्थिक वृद्धिदर न्यून रहनु र तरलतामा आएको सङ्कुचनका कारण गत वर्ष कर्जा विस्तार न्यून देखिएको राष्ट्र बैंकले बताउँदै आएको छ ।

जनकपुरको मुरली चोकमा एभरेष्ट बैंकको शाखा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जनकपुरको मुरली चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो । साउन १२ गतेबाट एभरेष्ट बैंकले नयाँ शाखा सञ्चालना ल्याएको हो । यो सँगै एभरेष्टको शाखा सञ्जाल १२७ पुगेको छ । जनकपुर उप–महानगरपालिका–४ का वडा अध्यक्ष सुरेश झा र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटन पछि झाले जनकपुर क्षेत्रमा दोस्रो शाखाकोरुपमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शर्माले मुरली चोक र जनकपुर आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

काठमाडौं । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो । अब २५ लाख रुपैयाँसम्मका् सवारी खरिद गर्न कर्जा लिँदा १ सय प्रतिशत मात्रै जोखिम भार लागू हुनेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जोखिम भार घटाउने घोषणा गरेको थियो । यसअघि २५ लाखमुनिका गाडी कर्जामा जोखिमभार १५० प्रतिशत थियो । अब बैंक तथा वित्तीय संस्थाहरु २५ लाख रुपैयाँसम्मका सवारी खरिद गर्नका लागि कर्जा प्रवाह गर्न प्रोत्साहित हुने छन् । साथै, महँगा गाडी खरिद गर्न भने निरुत्साहित गर्न खोजेको देखिन्छ ।